आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा विपदको जोखिम अझै उस्तै (भिडियो रिपोर्ट)

सिन्धुपाल्चोकमा विपदको जोखिम अझै उस्तै (भिडियो रिपोर्ट)


चौतारा ।
जिल्लामा रहेका १२ स्थानीय तहमध्ये जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका र जुगल गाउँपालिकाका अधिकांश क्षेत्र उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । जुगलमा पहिरो जाने समस्या अधिक छ भने बाह्रबिसे र भोटेकोसीमा पहिरोका साथै बाढीको जोखिम रहेको देखिन्छ ।
नेपाल सरकारले लगातार दुई वर्ष संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकमा गएको आर्थिक वर्षमा मात्रै बाढी पहिरोबाट ७५ ले ज्यान गुमाए । ५७ बेपत्ता भए । गएको वर्ष मेलम्ची, भोटेकोशी, जुगल र बाह्रविसेमा ठूला पहिरो गएको थियो । ती पहिरोबाट मानवीय क्षति त भयो नै, उत्तिकै भौतिक क्षति पनि भएको थियो ।
सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोशी, भोटेकोशी, ब्रम्हायणी नदिमा अहिले पनि बाढीको जोखिम छ । ठूला ठूला पहरा र भीरले बनेका भूगोल भएकाले पहिरोको जोखिम पनि झनै बढी छ ।
यो बर्खामा पानी पर्ने क्रम बढिरहेको छ । जसले विपद् निम्त्याउने सम्भावना छ । स्थानीयस्तरबाट कुन बस्ती कति जोखिम भन्ने पहिचान गर्न समस्या देखिएको अहिलेको अवस्था हो । अधिकांश स्थानका भू–बनोट जोखिमयुक्त छ भनिएको छ । तर, प्राविधिक नापजाँच नभएकाले आधिकारिक भन्ने छैन । यसका लागि विपद् जोखिम प्राधिकरणको अगुवाइमा जोखिम क्षेत्र पहिल्याउनका लागि अध्ययन अति जरुरी हो ।
विपद जोखिम न्यूनीकरणमा सिन्धुपाल्चोकका स्थानीय तहले वेवास्ता गरेको पाइन्छ । नेपाल राजपत्रमा उल्लेख भएअनुसार स्थानीय विपद व्यवस्थापन समितिले आफ्नो काम, कर्तव्य पूरा नगर्ने गरेको पाइएको हो । स्थानीय तहमा रहेको समितिले विपद पूर्व तयारी र प्रतिकार्यका योजना नबनाउने, आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना नगर्ने, मनसुन पूर्व तयारी र प्रतिकार्ययोजना तयार नगर्ने गरेको पाइएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले अन्य स्थानीय तहको तुलनामा जुगल गाउँपालिका, बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई जोखिमको क्षेत्रमा राखेको छ । तर, यी स्थानीय तह पनि पूर्व तयारी, योजना निर्माणमा चुकेको पाइन्छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!