बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाजमेलम्ची बाढीले हालसम्म ८० घर बगायो, बाहुनेपाटी पुल जोखिममा

मेलम्ची बाढीले हालसम्म ८० घर बगायो, बाहुनेपाटी पुल जोखिममा


मेलम्ची ।
शनिबारदेखि मेलम्ची खोलामा आएको लगातार आएको बाढीले हालसम्म ८० घर टहरा बगाएको छ । हेलम्बु गाउँपालिकाको भेम्राथाङमा गएको पहिरोबाट निस्केको बाढीले हेलम्बुका अधिकांश बजारमा क्षति गरेको हो ।
हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ घर बगाएको छ । नदि क्षेत्रमा पर्ने तालामाराङ, चिउरीखर्क, ढुंगेबजारसहित मेलम्चीका घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन अधिकारीले सिन्धुखबरलाई जानकारी दिए ।
गएको असार १ गतेकै जस्तो लेदो भरिएको बाढी आएको थियो । अधिकारीका अनुसार असार १ गतेको बाढीले डुबानमा पारेको अधिकांश घर शनिबारको बाढीले बगाएको हो । असार १ गते लेदो भरिएका घरहरु खाली थिए । खाली भएकाले घर मात्रै बगाएको तर अन्य थप क्षति नभएको उनको भनाई छ ।
हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिए ।
बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ ।
त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ । हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!