शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाजमेलम्ची बाढीपीडित विद्यार्थीलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग

मेलम्ची बाढीपीडित विद्यार्थीलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग


मेलम्ची । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले सदस्य विद्यालयका मेलम्ची बाढी प्रभावित विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

आज मेलम्ची कम्युनिटी इङ्लिस स्कुल र प्रगति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।

दुवै विद्यालयका गरी तीन सय १८ विद्यार्थीलाई सामग्री वितरण गरिएको मेलम्ची कम्युनिटी इङ्लिस स्कुलका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिनकुमार गुरुङले शैक्षिक गतिविधिलाई असहज परिस्थितिमा पनि तत्कालै सहज ढंगले सञ्चालन गर्नका लागि सहयोग गरेको बताउनुभयो ।

उहाँले प्रभावित विद्यार्थीका लागि पाठ्यपुस्तक, पोसाक लगायतका सामग्री प्याब्सनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विपत्ति भनेकै भैपरी आउने समस्या भएकाले यसलाई सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् क्वीक रेस्पोन्स टिमका संयोजक आशिष श्रेष्ठले
प्याब्सनमा आबद्ध विद्यालयबीच सहयोग र समन्वय अति आवश्यक रहेको बताउनुभयो ।

उहाँले बाढी प्रभावित अभिभावक तथा बालबालिकाका लागि पठनपाठनको समस्या भएमा पनि प्याब्सनले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मेलम्ची–११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलालले ठूलो दुःखमा गुज्रिएको अवस्थामा प्याब्सनले देखाएको अग्रसरताले ठूलो आशा पलाएको बताउनुभयो ।

उहाँले अभिभावकमा धैर्य गर्न आग्रह गर्दै आगामी दिनमा विद्यालय सञ्चालनका लागि सक्रिय भएर लाग्न शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष पुष्कर धितालले विद्यालय सञ्चालनका लागि थुप्रै चुनौती भए पनि सामना गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक प्याब्सनका पूर्वअध्यक्ष एवम् केन्द्रीय सदस्य कर्मवाङ्गेला लामा, प्रगति अंग्रेजी माविका प्रिन्सिपल ऋषिराम नेपाल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, वडा सदस्य टिकादत्त धिताल लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!