आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजबाढीले अन्धकार बनाएको हेलम्बुमा उज्यालो बाल्दै हेल्प

बाढीले अन्धकार बनाएको हेलम्बुमा उज्यालो बाल्दै हेल्प


हेलम्बु । हेल्प नेपाल (हेलम्बु एजुकेसन लिभ्लिहुड पार्टनरसीप)ले हेलम्बु बाढी पीडितका लागि १२ सय बढी सोलार वितरण गरेको छ ।

बाढी पीडितलाई एक घर एक सोलार अभियान अन्तर्गत उनीहरुलाई सोलार वितरण गरेको हेल्पका अध्यक्ष जिम्मी लामाले जानकारी दिए ।

असार १ गते बाढी गएपछि बती नभएर अन्धकार भएको हेलम्बु गाउँपालिकाका वडा नम्बर १ को सबै घरधुरी, २ नम्बर वडाको शेर्माथान, तक्माखर्क, काेलामा, शुगिन्चे, छिमी र ३ नम्बर वडाको शेरामा हेल्पले सोलार वितरण गरेको हो ।

हेल्प नेपालका अध्यक्ष लामाले बाढीका कारण अन्धकारमा बस्न बाध्य पीडितहरुको सहज जीवन यापनका लागि सोलार वितरण गरिएको बताए ।

`बाढी गयो के गर्ने गर्ने भइरहेको थियो, विपदग्रस्त क्षेत्रमा दियो बालेर साँझको काम गरिरहेका छौं भनेपछि मनले मानेन` जिम्मीले भने, `अनि सोलार अभियान सुरु गरेको हुँ ।`

बाढीले पोलहरु बगाएपछि उक्त क्षेत्रका धेरै नागरिकहरुले दियोमा बती बालेर राति जीवन गुजारिरहेका थिए ।

बाढीले पोलहरु बगाएर विजुली आउने ठेगान नभएको समयमा सोलार पाउँदै धेरै नै खुशी भएको स्थानीयले बताएका छन् ।

तीन हप्ताको अवधिमा विजुली नभएको ठाउँका स्थानीयलाई १२ सय २२ वटा सोलार वितरण गरेको लामाले जनाए ।

एक घर एक सोलार अभियान समाप्तिको अन्तिम दिन आज हेलम्बुको शेराका स्थानीयलाई सोलार वितरण गरिएको छ । सोलार वितरणका लागि महानायक राजेश हमाल, कांग्रेस जिल्ला सभापति विकास लामा, बीआइए फाउण्डेशनका संस्थापक गोकर्ण ढुंगाना शेरा पुगेका थिए ।

`यस अभियानमा २४ सहयोगी संस्था तथा व्यक्तिले सहयोग गरेको उनले सुनाए । विशेषगरी याे अभियानमा शिशिर खनाल, लक्ष्मी राई, छिरिङ लामा, पुर्ण गाैतम, रञ्जना गाैतम र  दावाग्याल्जेनले सहयाेग गरेका थिए ।

 


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!