Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजजेठ १९ को रात

जेठ १९ को रात


ऋषिराम पौडेल

विद्रोह सुरुभएपछि माओवादीले पत्रकारको हैसियतमा पहिलो पटक बोलाए । विद्यार्थी संगठनको कार्यक्रमको रिपोर्टिङका लागि बोलाइएको थियो । त्यतिवेला माओवादी भूमिगत अवस्थामा रहेको र सशस्त्र विद्रोह गरिरहेकाले उनीहरुलाई एक्लै भेट्न सहज थिएन । मलाई चौताराका रामप्रसाद गौतमले खबर गरेका थिए । एक्लै आउनु भनेकाले साथीहरुसँग कुरा गर्न मिलेन । त्यतिवेला जिल्लामा पत्रकार पनि खासै थिएनन् । जानुपर्ने ठाउँ थियो, फुलपिङडाँडाको चिलाउने ।

खबर गर्नेले नौविसे पुगेर अन्य जानकारी लिनु भनेकाले म बलेफिको बाटो भएर त्यता लागेँ । मनमा अप्ठेरो भइरहेको थियो । राजनीतिक आस्थाको हिसावले म सशस्त्र विद्रोहसँग सहमत थिइन । त्यसमा पनि माओवादी एरियामा एक्लै जान लागेकाले उनीहरुले केही नराम्रो गरे भने के गर्ने ? यस्तै कल्पना गर्दै बलेफिबाट हिँडेर १० बजेतिर नौबिसे पुगेँ । त्यतिवेला माओवादी नेता अग्नीप्रसाद सापकोटाको घरलाई ‘लामोघर’ भनेर चिनिन्थ्यो । माओवादीका धेरै सूचना त्यहाँबाट आदान–प्रदान गरिन्थ्यो । त्यहाँ भेटिएका सापकोटा परिवारले केहीबेर आनाकानी गरेर चिलाउने जाने बाटो बताए । उनीहरुलाई मेरो विषयमा थाहा नभएकाले शंका गर्नु स्वभाविक थियो । तर कुराकानी गरेपछि विषय प्रष्ट भयो । जेठको प्रचण्ड गर्मीमा नौविसेबाट उकालो लागेँ । गन्तब्य कति टाढा छ थाहा थिएन । चिया बाहेक खाएको छैन । गर्मी र भोकले अघि बढ्न साह्रै कठिन भयो । १२ वजेतिर त बीचैबाट फर्कौकी जस्तो लाग्यो । जंगल र गाउँ पार गर्न लागेपछि चिलाउने जाने तेर्सो—तेर्सो बाटो पुगियो । त्यो दिन पटक्कै हिँड्न सकिएन । १ वजेतिर चिलाउने पुगियो । भकारी गोठभित्र विद्यार्थी अधिवेशन चलिरहेको रहेछ । मलाई त्यतिवेला कुबिण्डेका प्रेमप्रसाद नेपालले ए आउनुभयो भन्दै गोठ नजिकै बस्न आग्रह गरे । मैले चिनेको पुण्यप्रसाद पराजुली, कृष्णप्रसाद सापकोटा र केही विद्यार्थी भेटिए । पेस्तोल भिरेका पातलो शरीरका नेपाल निकै फूर्तिला देखिन्थे । काठमाडौंबाट साप्ताहिक पत्रिकाकामा काम गर्ने एक जना पत्रकार आएका रहेछन् । उनको नाम याद भएन । साँझ खाना खाने समय भयो । ति पत्रकार र म विद्यार्थीले पकाएको भात खान मेसमा लामवद्ध भयौं । विहान केही नखाएकाले भोक धेरै लागेको थियो । खाना खाईयो । चुठेर केही पर गएको त सवैले थाल माझेको देखो । मैले भने खाना खाएर थाल छोडेको थिए । यो देखेर अप्ठेरो पनि लाग्यो । फर्केर गएँ र थाल माझेँ । केही विद्यार्थी मेरो अनुहार हेरेर हाँस्दै थिए । अधिवेशन चलिरहेको थियो । नजिकेको घरमा सुत्ने व्यवस्था रहेछ । तर रातभर निन्द्रा लागेन । एकातिर अधिवेशन हलबाट आएको आवाज अर्कातिर आफूलाई अप्ठेरो लागिरहेको थियो । सुरक्षाको पनि चिन्ता थियो । भकारी गोठमा रातभर सशस्त्र विद्रोह र जनवादी शिक्षका विषयमा पालैपालो भाषण गरेको र प्रशिक्षण दिएको सुनिन्थ्यो ।

विहान माङ्खा गाउँबाट दुई जना स्थानीय आएका रहेछन् । कहाँबाट आए थाहा भएन । २०५४ सालको स्थानीय निर्वाचनकावेला माओवादी विरुद्ध गतिविधि गरेको भन्दै पुण्यप्रसादले उनीहरुलाई नियन्त्रणमा लिन लगाए । ल अव हेर्नुस पत्रकारहरु पनि आएका छन् यि फटाहाहरुको फोटो खिचेर पत्रिकामा छपाउनुपर्छ । यसो भन्दै माओवादीले उनीहरुलाई कान समातेर उठबस गर्न लगाए । छापिँदैन भन्ने थाहा हुँदाहुँदै पनि मैले फोटो खिचेँ । संभवतः त्यो फोटो अझै मसँग सुरक्षित छ । त्यो दिन २०५८ साल जेठ २० गते विहान थियो । खानापछि गाइँगुइँ चल्यो, ‘रेडियो नेपालबाट एकैप्रकारको धुन वाहेकको कार्यक्रम सुनिन छोड्यो ।’ रेडियो नेपाल बाहेक सञ्चारका अन्य साधनको उपलब्धता थिएन । मोवाईल त के ल्याण्डलाईनको फोनको पनि सहज सुविधा थिएन । राजधानीमा के भयो यसप्रतिको जिज्ञासा उठ्नु स्वभाविक थियो । तर चुपचापको बिकल्प थिएन । घोषणासभा फूलपिङकोटको अर्को विद्यालयमा आयोजना गर्ने विद्यार्थी संगठनको निर्णय बमोजिम हामी तलतिर झ¥यौं । विद्यार्थी र माओवादी नेताहरुको लर्को नौविसे जंगलतिर लाग्यो । विद्यालयको नाम ठ्याक्क याद भएन । डाँडाको विद्यालयमा पुगेपछि त्यही घोषणा सभा गर्ने तयारी भयो । साँस्कृतिक कार्यक्रमसहित भाषण सुरु भयो । भाषणका क्रममा प्रेमप्रसादले भनेका थिए, ‘राजतन्त्र उनीहरुबीचके झगडाले खतम हुँदैछ । सुनियो कि युवराज दिपेन्द्रलाई अस्पताल भर्ना गरिएको छ ।’ राजा विरेन्द्र, रानी ऐश्वर्य र परिवारका अन्य सदस्यहरुको अवस्था अज्ञात छ भन्ने खबर सुनियो । माओवादी कार्यक्रममा दरबारको विषयमा बढी चासो लिन पनि कठिन थियो ।

त्यो सयमसम्म मुलुकमा सेना परिचालन भैसकेको थिएन । माओवादी विरुद्धको कार्वाही प्रहरीले नै चलाईरहेको थियो । पुण्यप्रसादले भाषणका क्रममा तत्कालिन शाही नेपाली सेनालाई मुलुकको भौगोलिक अवस्था थाहा नभएकाले उनीहरु आफूसँग लड्न नसक्ने दावी गरेका थिए । मलाई भने कार्यक्रम कहिले सकिएला र हिँडौला भन्ने लाग्यो । त्यहााबाट हिँड्दा साँझ पर्न लागेको थियो । कवि चन्द्रप्रसाद न्यौपानको घरको बाटो भएर जलविरेतिर लाग्यौं । बजारमा राजपरिवार सखाप भएको हल्ला रहेछ । बेलुकी मारिएकाहरु सवैको दाहसंस्कार आर्यघाटमा गरेको दृश्य टेलिभिजनमा देखियो । त्यो रात जलविरेमा बसेर भोलिपल्ट अर्थात २१ गते बलेिफतिर लागेँ । कुविण्डे घर बताउने एक जनाले नौविसे नजिकै सडकमा बसेर कपाल काट्दै रहेछन् । मैले सोधेँ, कपाल किन काट्नु भएको ? उनको जवाफ थियो, ‘राजारानीनै खतम भएपछि जुठो लाग्दैन त ?’ माओवादीले गाउँगाउँमा राजा विरोधी अभियान चलाएपनि कुविण्डे मै कपाल काटेको देखेपछि पक्कै यो फोटो पत्रिकामा छापिन्छ भन्ने लाग्यो । फोटो खिचेर धुलाएँ । भोलिपल्टै कान्तिपुरमा छापियो पनि । त्यतिवेला फोटो धुलाउन बनेपा वा काठमाडौं जानुपथ्र्यो । धुलाएर मात्रै पत्रिकामा दिनुपथ्र्यो ।

साभारः ओखरेनी साप्ताहिकको २०७० साल जेठ २० को अंकबाट

 

 


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!