Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजकोरोना कहर : जनता जोगाउन जनप्रतिनिधि सक्रिय

कोरोना कहर : जनता जोगाउन जनप्रतिनिधि सक्रिय


चौतारा । कोरोना रोकथामका लागि सिन्धुपाल्चोकका स्थानीय तहहरु सक्रिय बनेका छन् । कोभिड १९ को दोस्रो भेरियण्ट भयानक रुपमा भित्रिएपछि नागरिक जोगाउन स्थानीय तह लागि परेका हुन् ।
सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकाका जनप्रतिनिधिहरु नागरिकको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्न थालेका छन् । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मुलुक जस्तै सिन्धुपाल्चोक पनि निकै आक्रान्त छ । सिन्धुपाल्चोकमा पिसिआर परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको ग्राफ पनि दैनिक उँभोतिर लागिरहेको छ । समुदायस्तरमा फैलिएको कोरोना रोकथामका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित स्थानीय तह निकै सक्रिय छन् । कोरोना नियन्त्रणका लागि अनेका जुक्ति लगाउँदा पनि संक्रमित र सन्त्रासको दर उस्तै छ । तरm पनि आफ्नो नागरिक बचाउन स्थानीय तहका जनप्रतिनिधि लागिरहेका छन् ।
जनताको मतबाट आफू विजयी भएकाले उनीहरुकै सेवामा लाग्नुपर्ने भन्दै जनप्रतिनिधिले गाउँवासीको स्वास्थ्यबारे चासो लिएका हुन् । नागरिक जोगाएपछि मात्रै राजनीति सम्भव हुने भएकाले जनप्रतिनिधिहरु जनताको स्वास्थ्य समस्या बुझ्न टोल टोलमा समेत पुग्छन् ।
जिल्लाका कुनै स्थानीय तहमा औषधिसहितका डाक्टरलाई जनताको घर आँगनमा जनप्रतिनिधिले पठाएका छन् भने कतै स्वास्थ्य सामग्री र पोषणयुक्त खानेकुरा लिएर संक्रमितकै घरमा जनप्रतिनिधि पुग्ने गरेको पाइएको छ ।
अहिले सिन्धुपाल्चोकका सबै स्थानीय तहमा सम्बन्धित पालिकाकै खर्चमा सर्वसाधारणको पिसिआिर परीक्षण गर्ने गरिएको छ । लक्षण देखा परेका, संक्रमित भएकाहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले पिसिआर परीक्षण गर्ने गरेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोनाको दोस्रो लहरमा नगरपालिकाका सबै वडामा पुगेर नागरिकको पिसिआर सहित स्वास्थ्य जाँच गर्ने गरेको छ । हालसम्म चौतारा साँगाचोकगढीले करिब तीन हजार पाँच सयको पिसिआर परीक्षण गरिसकेको छ भने संक्रमित भएका व्यक्तिलाई आइसोलेसनसम्म ल्याउन निशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरेको छ । नगरपालिका अब भ्याक्सिन ल्याउने तयारीमा जुटिसकेको छ । नगर कार्यपालिका वैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भ्याक्सिन उपलब्ध गराइदिने निर्णय गरेसँगै कोरोना रोकथामका लागि नगरपालिका जुटेको नगर प्रमुख अमानसिं तामाङले सिन्धु खबरलाई जानकारी दिए ।
कोभिड १९ को दोस्रो लहरले चरम रुप लिइरहँदा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले टोलटोलमा पुगेर विरामी खोज्न थालेका छन् । इन्द्रावतीले औषधिसहित डाक्टर लगेर गाउँवासीको स्वास्थ्य जाँच गर्न थालेका हुन् ।
कोरोना संक्रमति भएकाहरुलाई आवश्यक औषधि दिने, संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने र अन्य रोगीहरुको समेत घरमै गई स्वास्थ्य जाँच गर्न थालिएको हो ।
इन्द्रावतीले अक्सिजनसहितको ३० बेडको आइसोलेसन निर्माण गरेको छ । कोभिड केयर सेन्टरमा संक्रमितको उपचार गर्ने देखि सर्वसाधारणलाई मास्क, सेनिटाइजर वितरणलाई इन्द्रावतीले तीव्रता दिएको छ । गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गर्ने, स्वास्थ्य मापदण्ड अपनाउने जस्ता कार्यबाट पनि कोरोना रोकथामका लागि इन्द्रावती अघि बढेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङ बताउँछन् ।
चीन सँग सीमा जोडिएको भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि पनि कोभिड नियन्त्रणका लागि जुटेका छन् । भयानक बन्दै गएको कोरोनाका दोस्रो लहरमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले संक्रमित भएकाहरुको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने गरेका हुन् ।
उनले दैनिक आवश्यक पर्ने टावेल, टुथपेस्ट, साबुन, मास्क, सेनिटाइजरलगायत सामग्री बोकेर संक्रमितको घरमा पुगेको गाउँपालिकाले जनाएको छ । भोटेकोशीका ७ स्थानमा आइसोलेसन निर्माण गरिएको छ । गाउँपालिका प्रवेश गर्ने स्थानहरुमा हेल्थ डेस्क राखिएको छ ।
चौतारा, इन्द्रावती, भोटेकोशी जस्तै जिल्लाका सबै स्थानीय तह कोरोना रोकथामका लागि सक्रिय छन् ।
स्थानीय तहले संक्रमित भएकाहरुका लागि क्वारेन्टाइन र आसोलेसनको समेत आफैले व्यवस्था गरेको छ । जिल्लाभर हाल दुई सय ११ बेडको आइसोलेसन तयारी अवस्थामा छ । त्यहाँ मापदण्डसहितको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति खनालले बताए ।
सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले पनि स्वास्थ्य सामग्री सहयोग गर्ने क्रम पनि बढेको छ । अक्सिजनसहित आसोलेसन निर्माण गरिएको हो ।
कोरोनाको दोस्रो लहरमा मात्रै संक्रमितको संख्या दुई हजार दुई सय नाघेको छ । १२ जनाले मृत्युवरण गरिसकेका छन् । स्थानीय तह, सुरक्षाकर्मी, नागरिक समाज मात्रै नभई सर्वसाधारण आफै सचेत हुनु अहिलेको आवश्यकता हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!