Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजअभावै अभावमा धुलिखेल प्रयोगशाला, कोरोना परीक्षण गर्नै सकस

अभावै अभावमा धुलिखेल प्रयोगशाला, कोरोना परीक्षण गर्नै सकस


काभ्रे । कोभिड १९ (कोरोना भाइरस) संक्रमणको परीक्षण गर्ने धुलिखेलस्थित जनस्वास्थ्य प्रयोगशालामा पिसिआर मेसिन र केमिकल अभाव हुँदा परीक्षण गर्न हम्मे भएको छ । वाग्मती प्रदेशका एघार जिल्लामा संकलित स्वाव टेस्ट गर्ने प्रयोगशालमा मेसिनको कमी र केमिकल अभाव भएको हो ।
दैनिक पाँच सय क्षमता रहेको धुलिखेल केन्द्रमा अहिले दैनिक एक हजार दुई सयसम्म परीक्षण गर्नुपर्ने अवस्था छ । पिसिआर मेसिन व्यस्त हुँदा तात्ने समस्या भएकाले पड्किनेसमेत गरेको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका निमित्त प्रमुख नारायण कार्कीले लगातार मेसिन प्रयोग गरेपछि तात्ने हुँदा केही समय सेलाउनका लागि राख्नुपर्ने बाध्यता भएकाले रिपोर्ट आउनमा केही ढिलाईसमेत हुने गरेको बताए ।
अहिले दुई वटा मेसिन छ । थप दुई वटा मेसिन भएमा २४ घण्टाभित्रै रिपोर्ट आइसक्ने उनले दावी गरे ।
केन्द्रमा २० कर्मचारी छन् । सबै कर्मचारी रातको झण्डै १२ बजेसम्म काम गर्न बाध्य बनेको उनले सिन्धु खबरलाई जानकारी दिए । ‘कामको लोड र मेसिनको कमीले निकै समस्या छ,’ उनले भने ।
परीक्षणका लागि ल्याब खर्च निकै महंगो हुन्छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याबमा बढी खर्च भयो भनेर थप सेवा दिएको छैन । औसत मासिक ३० हजारको परीक्षण हुँदा ल्याब खर्च मात्रै ८ लाख भन्दा बढी हुन्छ । केमिकल र अन्य सामग्री माग गर्दा मन्त्रालयले महंगो भयो भनेको प्रयोगशालाले जनाएको छ ।
वाग्मती प्रदेशको ११ जिल्लाका सबै स्थानीय तहले संकलन गरेका स्वाब धुलिखेल पठाउँछन् । कुनै पनि स्थानीय तहले संकलन गरेको स्वाब पठाएसँगै यहाँ हुने खर्चको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको केन्द्रको भनाई छ । पिसिआर मेसिन राख्नमा स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्ने कार्की बताउँछन् । ‘थप मेसिन पाएमा केमिकलको व्यवस्था व्यक्तिगत रुपमा चिनजान भएकाहरुसँग मागेर भए पनि चलाउन सकिन्छ,’ उनी भन्छन्, ‘अर्काे मेसिन नहुँदा परीक्षण गर्न निकै गाह्रो छ, स्थानीय तहमा स्वाब संकलन गर्न कमी गर्नुपर्ने हुन सक्छ ।’ उनले संक्रमण बढ्दै जाँदा मेसिन अभावकै कारण स्वाब संकलन प्रभावित हुनसक्ने बताए ।
मेसिन राख्नमा स्थानीय तह जागरुक हुनपर्ने उनी बताउँछन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!