आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठराजनीतिक्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे

क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे


बाह्रबिसे । सिन्धुपाल्चोक–त्रिपुरासुन्दरी गाउँपालिका वडा ३ का अध्यक्ष शुकदेव रिसालले बाह्रबिसे नगरस्थित क्रसरका संञ्चालकले ‘आफुलाई मार्ने ’योजना बनाएको भन्दै सुरक्षाकर्मीलाई गुहारेका छन् । बाह्रबिसे नगरपालिकाको जुरेमा संञ्चालित सिन्धु इन्फ्रा प्राइभेट लिमिटेडका संञ्चालक समुहमध्यका एकले टिपरले हानेर मार्न लागेको सुचना दिएपछि आफु सर्तक बनेको उनले बताएका छन् ।

उनकाअनुसार महिनादिन अघि काठमाण्डौस्थित एक होटेलमा क्रसरका संञ्चालकका समुहले आफुलाई टिपरले हानेर मार्नेबारे योजना बनाएका थिए । ‘यसलाई नमारिकन कुनै हालतमा हाम्रो क्रसर चल्दैन् , सहज हुदैन् , टिप्परले हानेर मार्नुको विकल्प छैन्,’भन्दै आफुलाई लाजमर्दो अपशब्द बोलेको उनले दाबी गरे । बाह्रबिसे नगरको जुरेको क्रसरमा चलाइएको मेसिनको चर्को आवाजले गर्दा पारी रहेको त्रिपुरासुन्दरी गापा ३ स्थित दुई विद्यालय, स्वास्थ्य चौकीमा ध्वनी प्रदुषण भएको भन्दै केही समयअघि स्थानीय र अध्यक्ष रिसाल आन्दोलित थिए ।

क्रसरले गत वर्ष जथाभावी दोहन गरेका कारण सुनकोसीको बहाब बदलिँदा त्रिपुरासुन्दरी ३ मा रहेको दाबी फापरचौर, काभ्रे र धुस्कुन टोलको ३० घर जोखिममा परेको भन्दै स्थानीयले बाह्रबिसे नगर , त्रिपुरासुन्दरी गापा, जिल्ला प्रशासन, प्रहरीमा निवेदन दिएका छन् । ‘जनताको पक्षमा बोल्दा क्रसरलाई अवरोध भयो भन्दै मार्ने योजना बनाए, योजना बनाउनेमध्येका एकले मलाई सुचना दिए, त्यसपछि म सचेत भएर सुरक्षाकर्मीलाई मौखिक जानकारी गराएको छु,’उनले भने । क्रसरका संञ्चालकसमेत रहेका एक जनप्रतिनिधिलाई भेटेर ‘यस्तो हत्यारा योजना किन बनाएको ? ’भनेर प्रश्न गर्दा योजना होइन् तर , क्रसरलाई विरोध नर्गन भनेर उल्टै चेतवानी दिएको उनले उल्लेख गरे ।

गत वर्ष गाउँलेले विरोध गर्दागर्दै क्रसर संञ्चालकका समूहले सुनकोसी नदीमा अवैध दोहन नरोकेपछि आफुले विरोध जनाएको वडाध्यक्ष रिसालले प्रष्ट्याए । यस वर्ष क्रसरलाई त्रिपुरा क्षेत्रको सुनकोसी नदीको ठेक्का नपाएको, क्रसरले नदीबीच मापदण्डविपरित हिमपाइप राखेर एक्जाभेटर,टिपर वारपार लगेर ल्याएर बगर उत्खनन् गर्न थालेको विरोध गर्दा क्रसर पक्ष रुष्ट बनेको उनको भनाइ छ । बाह्रबिसे नगरपालिकाको कार्यालयमा बोलाएर क्रसर संञ्चालक पक्षले वार्षिक कमिशन खाने या शेयर रोज्नलाई प्रस्ताव राखेको तर यसलाई अस्विकार गरेर हिडेको दिनदेखि आफुप्रति क्रसरका संञ्चालक पक्ष आक्रमक बन्दैआएको उनको कथन छ ।

त्रिपुरासुन्दरी गापा ३ का अध्यक्ष शुकदेव रिसालले क्रसरका संञ्चालक पक्षले आफुलाई मार्ने योजना बनाएको भन्दै मौखिक सुचना दिएको जिल्लाको प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए । ‘उहाँले यस्तो खबर दिएलगत्तै इलाका प्रहरी बाह्रबिसे र सम्पूर्ण क्षेत्रको सुरक्षालाई ध्यान दिन टोली खटाइसकेका छौ, अध्यक्षको सुरक्षाका लागि तत्पर छौ, उहाँलाई लिखित निवेदनको लागि आग्रह गरेका छौ,’अधिकारीले भने । यसबारे बाह्रबिसे नगरपालिका वडा ९ स्थित जुरेमा संञ्चालित सिन्धु इन्फ्रा प्राइभेट लिमिटेडका संञ्चालकमध्येका एक विदुर पराजुलीले भने अनभिज्ञता देखाए । ‘यसबारे मलाई केही जानकारी छैन्, भर्खरै तपाईबाट थाहा पाए,’उनले भने । वडाध्यक्ष रिसाललाई मार्ने योजना भएको कुरा सुनिएपछि आतंकित बनेका त्रिपुराक्षेत्र टेकानपुर, धुस्कुन, दाबी, काभ्रेका स्थानीय कानुनी प्रक्रियामा जाने तरखरमा छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!