आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकको बाढीपहिरो निरीक्षणमा प्रदेश संसदीय समिति

सिन्धुपाल्चोकको बाढीपहिरो निरीक्षणमा प्रदेश संसदीय समिति


सिन्धुपाल्चोक । बाढीपहिरोबाट भएको क्षति अनुगमन गर्न वाग्मतीका प्रदेश सभा अन्तर्गतको उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आलेसहित पाँच सदस्यीय संसदीय टोली आजदेखि सिन्धुपाल्चोक आएको छ । उनीहरुले बाह्रबिसेको खागदलबाट जिल्लाको बाढीपहिरोग्रस्त क्षेत्रको अनुगमन शुरु गरेका छन् । सभापति आलेका अनुसार बाह्रबिसेको खागदल, काभ्रे, जम्बु, नागपुजे, भीरखर्क, सेलाङको बाँसखर्कको अनुगमन गरेर प्रतिवेदन तयार पार्ने योजना रहेको छ ।

पहिलोे दिन टोलीले भोटेकोशी करिडोर आसपासका क्षेत्रमा अनुगमन गरेको छ । सभापति आलेका अनुसार आज बेलुका टोली सदरमुकाम चौतारा पुगेको छ । भोलि (आइतबार) बाँसखर्कमा बस्दै आएका लिदीका पहिरोपीडितसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । संसदीय टोलीले जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख राजन अधिकारीलगायत सरोकारवालाहरुसँग छलफल गर्नेछ ।

प्रदेशको विपद् व्यवस्थापनको विषयमा सोही समिति अन्तर्गत रहेको छ । समितिले सरकारलाई नीतिगत सुधार र कार्यक्रमहरु कार्यान्वयनको विषयमा निर्देशन दिन सक्नेछ । संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्नु प्रदेश सरकारको नैतिक दायित्व हुनेछ । टोलीमा समितिका सदस्यहरु निमा लामा, बिराज भट्ट श्रेष्ठ, बद्रीप्रसाद मैनाली र राजेन्द्र गुरुङ छन् । साथै जिल्ला भू तथा जलाधार व्यवस्थापन कार्यालय चौताराका प्रमुख दिवाकर मास्के, प्रदेश स्थित उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरु, संसदीय समितिका कर्मचारीसहितको टोलीले पहिरो निरीक्षणमा खटिएको छ ।

सभापति आलेका अनुसार निरीक्षणमा देखिएका विषयमा संसदीय समितिमा छलफल गरेर निस्केको निष्कर्षलाई प्रतिवेदन बनाएर सुझावको रुपमा सरकारलाई दिइनेछ । ‘फिल्डमा गएर हेरेपछि धेरै विषयमा सरकारलाई नीतिगत निर्देशन दिन सकिन्छ,’ आलेले सिन्धु खबरसँग भनिन्, ‘हामी पीडितको समस्याका विषयमा पनि व्यापक छलफल गछौं ।’ ‘प्रतिवेदनमाथि छलफल गरेर प्रदेश सरकारलाई निर्देशन दिने आलेले बताइन् । जिल्लामा बाढीपहिरोले गत असारयता मुलुकभरीमै सवैभन्दा धेरै मानवीय क्षति भएको छ । प्रहरीको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा ७७ जानको ज्यान गएको छ भने ३८ जना वेपत्ता छन् ।

भोटेकोशी, ब्रम्हायणी, मेलम्ची र इन्द्रवाती करिडोरको आसपासमा बाढपहिरोले बढी क्षति गरेको छ । सरकारले सिन्धुपाल्चोकलाई बाढीपहिरोको संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सयौं बस्तीहरु जोखिममा छन् भने ६ सय भन्दा बढी घरधरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!