Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकको विपद व्यवस्थापनका लागि छलफल

सिन्धुपाल्चोकको विपद व्यवस्थापनका लागि छलफल


चौतारा । सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र घोषित भएसँगैं वाग्मती प्रदेशले विपद व्यवस्थापनका लागि छलफल थालेको छ । सोमबार वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ललितपुरमा प्रदेश प्रमुख डोरमणि पौड्याल, सिन्धुपाल्चोकका संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय जनप्रतिनिधि, पार्टी प्रमुख र विज्ञहरुको सहभागितामा विपद व्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको हो ।

छलफल तथा अन्तरकृयामा सिन्धुपाल्चोकवासीले लगातार भोगी रहेका विपद्का घटना, यसमा भएको मानवीय तथा भौतिक क्षति, बस्ति सम्वन्धि जोखिम, जोखिम बस्ति स्थानान्तरणका लागि स्थानीय तह सहितबाट संकलन गरेको विवरणलगायतका विषयमा केन्द्रित रहेको थियो ।

संघीय सरकारले जिल्लालाई बिपद् क्षेत्रको रुपमा घोषणा गरेपछि अव कसरी अगाडि बढ्ने भन्ने बिषयमा घनिभूत छलफल भएको बागमती प्रदेशका मन्त्री अरुण नेपालले बताए । छलफलमा विपद् व्यवस्थापनमा सम्वन्धमा लामो समय अध्ययन अनुसन्धानमा रहेका बिज्ञहरुको राय सुझाव पनि लिइएको थियो ।

मन्त्री नेपालका अनुसार बिभिन्न निकायले यस बारेमा कामपनि सुरु गरिसकेका छन् । यसअघि नेकपा सिन्धुपाल्चोकले पार्टीको अगुवाईमा प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजीकरण कार्यदल समेत गठन गरेको थियो । सोही कार्यदलको आयोजनामा सुकुटेमा अन्तरक्रिया गरेको थियो ।

नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्युनिकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिम सम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन समेत निर्माण गरेको छ ।

 

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस