मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिहेलम्बु बोल्देको पहिरो पीडितका नामको टेण्टमा नेकपाको रजाइँ

हेलम्बु बोल्देको पहिरो पीडितका नामको टेण्टमा नेकपाको रजाइँ


चौतारा ।

हेलम्बु गाउँपालिका ५ बोल्देको पहिरो पीडितका लागि छुट्याइएको टेण्ट नेकपा कार्यकर्ताले आफूखुशी बाँडेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको कमाण्ड पोष्टले हेलम्बु गाउँपालिकाकालागि छुट्याएको १५ थान टेण्ट जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बुझेर नेकपाका गाउँपालिका अध्यक्ष अर्जुन भण्डारी र नेता हस्त पण्डितलगायतले बाँडेका हुन् ।

नेकपा नेता हस्त पण्डितले आफ्नो फेसबुकमा स्टाटस लेख्दै विपद व्यवस्थापन समितिले दिएको टेण्ट वितरण गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘पहिरोको जोखिममा रहेका हेलम्बु वडा नं ५, बोल्देमा अस्ति अनुगमन गरियो, हिजो जिल्ला बिपद ब्यबस्थापन समितिले बस्ती सार्ने निर्णय गर्यो, आज प्रभावितहरुको अस्थायी बशोबासको लागि १५ वटा टेन्ट दियो र बितरण गरियो । यश निम्ति जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र जिल्ला बिपद ब्यबस्थापन समितिलाइ धन्यबाद ।’

गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विपद व्यवस्थापन समितिले गाउँपालिकाकालागि छुट्याएको टेण्ट जिसस प्रमुखले नेकपा कार्यकर्तालाई जिम्मा लगाएको भन्दै आपति जनाएका छन् । ‘मैले त आज पो थाहा पाए विपद व्यवस्थापन समितिले दिएको टेण्ट जिसस प्रमुखले नेकपा नेतालाई जिम्मा लगाएर वितरण गर्नुभएछ अध्यक्ष शेर्पाले भने, गाउँपालिकाको नाममा आएको टेण्ट कसरी पार्टी कार्यकर्तामार्फत बाड्नुभयो अचम्म लागेको छ । हामी विधिको शासन, सिस्टमको कुरा गर्छौ यस्तो गलत परिपाटीले कसरी समाज सुध्रन्छ ।’

यता प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जिसस प्रमुखले गाउँपालिका अध्यक्षसँग समन्वय नगरेर टेण्ट नेकपाका नेताहरुमार्फत बाँडेको सुनेको बताए । हिजोको कमाण्ड पोष्टको बैठकले हेलम्बु गाउँपालिकाको बोल्देका लागि १५ थान टेण्ट छुट्याएको र उक्त टेण्ट जिसस प्रमुख तामाङले आज लिएर जान्छु भनेपछि आफूले पठाएको ढकालले बताए । गाउँपालिकासँग समन्वय नगरी आफूखुशी बाड्नुभएको कुरा मैले पनि बल्ल थाहा पाउँदैछु, उनले भने, यसबारे बुझ्नेछु ।

जिसस प्रमुख तामाङले हेलम्बु गाउँपालिकाले बोल्देका लागि विपद व्यवस्थापन समितिलाई कुनै सहयोग नमागेको र संघीय सांसद शेरबहादुर र आफ्नो पहलमा समितिबाट निर्णय गरेकाले सोही अनुसार लिएर आफूखुशी बाँडेको बताए । तर गाउँपालिकाले भदौं ५ गते नै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि बस्ती स्थानान्तरणमा सहयोग गरिदिन आग्रह गरेको थियो । ‘हामीले पहिल्यै सहयोग गर्न पत्र लेखेका थियौं हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले भने, सायद सोही अनुसार विपद व्यवस्थापन समितिले टेण्ट पठाएको हुनुपर्छ ।’

प्रमुख तामाङले आफू अचानक आज काठमाडौं जान परेपछि जिससका कर्मचारी रवि भण्डारीमार्फत सो टेण्ट बोल्दे पुर्याएको बताए । यस्तो समयमा राजनिति गर्ने होइन पीडितले सामग्री पाउनुपर्यो उनले भने । नेकपा गाउँपालिका अध्यक्ष भण्डारीले पनि गाउँपालिकाले वास्ता नगरेकाले आफूहरुले टेण्ट बाँडेको बताएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!