मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिसभापतिलाई पक्राउ आदेश, कांग्रेसले दियो आन्दोलनको चेतावनी

सभापतिलाई पक्राउ आदेश, कांग्रेसले दियो आन्दोलनको चेतावनी


चौतारा । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय समितिले पार्टीका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई झूठा मूद्दा लगाएको भन्दै आपत्ति जनाएको छ । बाह्रबिसे नगरापालिकाका मेयरका प्रत्यासी समेत रहेका बस्नेतलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले बुधबार अभद्र व्यवहार सम्बनन्धी मुद्दा दर्ता गरेको छ ।

प्रहरीले प्रमुख जिल्ला अधिकारी उमेश ढाकालबाट बस्नेतलाई पक्राउ गर्ने आदशेसमेत गराएको छ । बाह्रबिसे नगरपालिकाका कर्मचारीसमेत रहेका लालबहादुर तामाङ, जुरेस्थित सुनकोशी इन्फा प्रालि (क्रसर उद्योग) का सञ्चालक कृष्ण क्षेत्री र सोही क्रसर सम्बद्ध गाडीका केही मजदुरहरुले गरेको उजुरीका आधारमा बस्नेतलाई पक्राउ पुर्जी जारी गरिएको हो । कांग्रेस क्षेत्रीय सचिव देवेन्द्र खड्काले आज जारी गरेको विज्ञप्तिमा राजनीतिक पूर्वाग्रह राखेर सामान्य विषयलाई उचालेर झूठा मुद्दा लगाएको उल्लेख छ ।

खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ सत्ताको आडमा प्रहरीको दुरुपयोग गर्दै बदलाको भावनाबाट प्रेरित भएर लगाएको मुद्दा फिर्ता नलिए आन्दोलनमा उत्रन बाध्य हुने छौं ।’ कांग्रेसले कोरोना भाइरविरुद्ध खटिरहेका र विकास अभिायनमा क्रियाशील सभापति बस्नेतलाई प्रतिशोधको आधारमा मुद्दा लगाएर प्रहरी प्रशासनले द्धन्द्ध निम्त्याएको ठहर गरेको छ । झूठा मुद्दाविरुद्ध आन्दोलनमा उत्रन गाउं समिति र भातृसंस्थाहरुलाई तयारी अवस्थामा रहन पनि विज्ञप्तिमा उल्लेख गरेको छ । हाल प्रहरीले बस्नेतको खोजी गरिरहेको जनाएको छ । घटनाका सरोकारवालाहरुबीच छलफल गराएर मेलमिलाप गराउन खोजेपनि दवै पक्ष अआफ्नो अडानमा बसेपछि मुद्दा दर्ता गरेको स्रोतको भनाई छ ।

सभापति बस्नेतमाथिको आरोप
उजुरीकर्ताले सभापति बस्नेतले मादक पदार्थ सेवन गरेर गत १ गते दिउंसो साढे एक बजे बाह्रबिसे नगरपालिकाका कर्मचारी लाल बहादुरमाथि दुव्र्यबहार गरेको र लगत्तै २.२० मा जुरे क्रसरमा तोडफोड गरेको दावीसहितको उजुरी प्रहरीमा दर्ता गराएका छन् । उजुरीलाई आधार मान्दै प्रहरीले दिएको जानकारी अनुसार बस्नेतले तामांङलाई दुव्र्यवहार गरेर जुरेस्थित क्रसरमा रोकेर राखेको टिपरको सिसामा जथाभाबी ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट फुटेको सिसाको प्रहरीले मुचुल्का उठाएको छ ।

मजदुरहरुले बस्नेतले आफूलाई दुव्र्यवहार गरेको र काम गरेर खानसमेत नसक्ने परिस्थिति बनाएको उजुरीमा उल्लेख गरेका छन् । उनीहरुले शान्ति सुरक्षा माग गरेका छन् । सञ्चालक क्षेत्रीले भने आफ्नो क्रसर उद्योगमा प्रबेश गरी तोडफेड गरेको, कर्मचारीलाई धम्क्याएको र तोडफोडबाट क्षति भएको उल्लेख गरेर उजुरी दर्ता गराएका हुन् ।

अव के हुन्छ ?

कानुनतः प्रहरीले जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) मार्फत प्रजिअबाट प्रक्राउ पुर्जी जारी गराएपछि अभियुक्त पक्राउ परेमा बढीमा २५ र नपरेमा ३५ दिनमा मुद्धाको पुर्पक्ष गरिसक्नुपर्छ । प्रहरीले अभियुक्त पक्रन नसके पनि अनुसन्धान सकेर वकिलमार्फत मुद्दा प्रजिअलाई पेश गर्नुपर्छ । अभियुक्त पक्राउ परेको अवस्थामा भएमा अनुसन्धानका क्रममा ७ दिन भन्दा बढी थुनामा नराख्नु भन्ने सर्वोच्च अदालतको नजिर रहेको छ । तर अध्यासमा भने २५ दिन भित्र मुद्धा बुझाउने गरिन्छ । प्रहरीले पक्राउ गर्न नसकेको अवस्थामा प्रजिअले अभियुक्तलाई हाजिर हुन पत्राचार गर्नेछन् ।

हाजिर भएपछि अभियुक्तमाथि कस्तो कारबाही गर्ने त्यसको अधिकार प्रजिअलाई रहेको छ । धरौटीमा छाड्ने, क्षतिपुर्ती दिलाउने वा सफाई दिने सवै अधिकार प्रजिअलाई रहनेछ । कानुनमा कैद वा जरिवाना भनिएपनि सामान्यतयाः कैद तोक्ने अभ्यास छैन । तर सूचना पाएर पनि अभियुक्त हाजिर नभएमा प्रजिअले कैद पनि तोक्न सक्ने छन् । यस्तो घटनाको मुद्दालाई यस अघि सार्वजनिक मुद्दा भनिन्थ्यो । मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ लागू भएपछि सार्वजनिकलाई नै अभद्र व्यबहार सम्वन्धि मुद्दा भन्ने गरिएको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!