सुनकोशीका स्वाथ्यकर्मीलाई दिनरात ड्यूटी

पांग्रेटार, २५ चैत ।
सुनकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई दैनिक १२ सय भत्ता दिएर २४ सै घण्टा काममा खटाइएको छ । गापामा कोरोना संक्रमण (कोभिड १९) सँग मिल्दो–जुल्दो लक्षण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई यस्तो ड्यूटीको व्यवस्था मिलाइएको हो ।
गापा अध्यक्ष श्रवण जिसीका अनुसार यस्ता स्वाथ्यकर्मीलाई प्रोत्साहन स्वरुप दैनिक १२ सय रुपैंया“ अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । गापामा ७ वटै वडामा स्वास्थ्यचौकीमा काम गरिरहेका छन् । केही वडामा २ वटा स्वास्थ्यचौकी छ । गापाभर १० वटा स्वास्थ्य चौकी छन् भने ३५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । प्रत्येक स्वास्थ्य चौकीमा हेल्थ असिष्टेन्ट, अहेव र अन्य दुइजना सहायक कर्मचारी रहेको जिसीले जानकारी दिए ।
दरबन्दी अनुसार सबै स्वास्थ्यचौकीमा कर्मचारी पर्याप्त छैनन् । त्यसैगरी गापाले साविक गाविस र वडामा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई जनचेतनाका लागि खटाइएको छ । उनीहरुलाई माक्स, सेनिटाइजर, साबुनसहितका सामान लिएर गाउँ पठाइएको उनले बताए । उनीहरुलाई पनि दैनिक १२ सय भत्ताको व्यवस्था गरिएको छ ।
गापाभर ६० बेड क्वारेन्टाइन
गापाभर ६० बेडका क्वारेन्टाइन निर्माण गरिएको छ । प्रत्येक वडामा ४ बेडका क्वारेन्टाइन सहित थप दुइ बेडका क्वारेन्टाइन गापाले निर्माण गरेको छ । लामोसाँघुमा ग्रामीण सिर्जनशील परिवारको कार्यालयमा २४ र सदावहार अस्पताल खाडिचौरमा १० बेडको क्वारेन्टाइन छ । सीर्जनशीलको क्वारेन्टाइनमा लकडाउन उल्लघन गर्ने २४ जनालाई दुई दिन राखेर सबैलाई शनिबार डिस्चार्ज गरिएको छ । `कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि वैदेशिक रोजगारबाट आएकालाई राख्नका क्वारेन्टाइन निर्माण गरिएको हो । तर अहिले गाउँपालिका क्वारेन्टाइनमा भने त्यस्ता मान्छे बसेका छैनन्`
अध्यक्ष जिसीले भने । क्वारेन्टाइनमा कोरोना सक्रमणको शंका लागेका र तत्काल अस्पताल जान समस्या भएका व्यक्तिलाई पनि राख्ने गरिन्छ ।
स्वास्थ्य सामाग्रीको उपलब्धता
सवै स्वास्थ्यचौकीलाई गापाले कोरोनाबाहेकका बिरामीका लागि पनि पर्याप्त औषधि उपलब्ध गराएको छ । चौकीमा सामान्य ज्वरो, खोकी, डायरिया, रुघा, छाति दुख्नेलगायत औषधि उपलब्ध रहेको जानकारी ४ नम्बर वडा यमुनाडाँडाका अध्यक्ष देबेन्द्र खड्काले दिए । ‘सामान्य किसिमका औषधि झन्डै असार सम्मलाई पुग्ने छ’ उनले भने, ‘तर थर्मल गनको भने गापा भरि नै अभाव छ ।’ धेरै ठाउँमा खोजेपनि थर्मोगन पाइएन उनले भने । गापाका प्रत्येक स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामाग्री व्यवस्था छ । एउटा चौकीमा मास्क तीन सय थान, ग्लोब्स १२ सय ५० थान र एकसेट पीपीईको व्यवस्थापन गापाले गरेको खड्काले जानकारी दिए ।
विदेशबाट आएका निगरानीमा
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाभर तीन सय ५१ जना विदेशबाट फर्किएको तथ्यांक छ । त्यसमध्ये १६ जना सुनकोशी गापाका छन् । अहिलेसम्म जिल्लाभर विदेशबाट फर्किएका तीन सय ५१ जना मात्रै सम्पर्कमा आएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । विदेशबाट आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखेको जानकारी जिसीले दिए । ‘१९-२० दिनसम्म लगातार स्वास्थ्यकर्मीको निगरानीमा राख्दा पनि कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छैन । अहिले उहाँहरु सामान्य जीवनयापन गर्दै हुनुहुन्छ’ जिसीले भने । गापाले वैदेशिक रोजगारबाट आएकालाई घुमफिर नगरिदिन आग्रह गरेको छ ।
किटनाशक औषधि छर्कियो
गापाले पाङ्ग्रेटार लगायत मुख्य बजारमा किटनाशक औषधि छर्किएको छ र अन्य बजारमा किटनाशक औषधि छर्कने काम भइरहेको छ । मुख्य बजार, फोहोर फाल्ने ठाउँ, सार्वजनिक शौचालय जस्ता स्थानमा पनि औषधि छर्कने गापाले जनाएको छ ।
राहत वितरण
गापाले पालिकाको ६ नम्बर वडामा ४५ परिवारलाई राहत वितरण गरेको छ । ४५ घर परिवारलाई चामल, तेल, नून लगायत खाद्य सामाग्री र मास्क, ग्लोब्स लगायत स्वास्थय सामाग्री वितरण गरिएको जिसिले बताए । `गापा भरिका अशक्त, एकल महिला, बृद्धवृद्धा, मजदुर लगायतको तथ्याकं संकलनको काम पनि भइरहेको छ तिनीहरुलाई गाउँपालिकाले छिट्टै राहत वितरण गर्छ` जिसिले भने ।
बिमारी बढे
कोरोना त्रासका कारण स्वास्थ्य चौकीमा सामान्य रुघा खोकी लागेर आउने बिरामीको संख्या बढेको छ । रुघा खोकी र ज्वरो आएका बिमारीहरु बढेका वडा अध्यक्ष खड्काले बताए। केही झाडापखालाका बिमारी पनि बढेका छन् ।
क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस