राप्रपाको ठूलो प्रभावशाली समूह काँग्रेस प्रवेश गर्ने तयारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ठूलो संख्यामा राप्रपाका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि काँग्रेस र राप्रपाबीच पटक-पटक वार्ता समेत भएको छ ।
काँग्रेसले वार्ता टोली समेत बनाएर राप्रपासँग वार्ता गरिरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले बताए । सभापति लामाले भने, ‘पार्टी एकतालाई सार्थक रुप दिन पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौं । सो टोलीले विभिन्न चरणमा वार्ता गरेको छ ।’
वार्ता टोलीमा सभापति लामा, क्षेत्र नम्बर २ का सभापति आइतमान तामाङ, जिल्ला उप सभापति शिव सुनार, जिल्ला सह सचिव अनुप न्यौपाने र राजेन्द्रमान ताल्चाभँडेल छन् । वार्तामा राप्रपाको तर्फबाट पुर्व गृह राज्यमन्त्री तथा राप्रपा केन्द्रीय सदस्य विष्णु विक्रम थापा, राप्रपा संयुक्तका पुर्व जिल्ला अध्यक्ष इन्द्र बहादुर बाँनिया, राप्रपा शिक्षा परिषदका अध्यक्ष, राजकुमार भट्टराई लगायत रहेका छन् ।
राप्रपाको क्षेत्र नम्बर २ मा राम्रै पकड रहेको छ । जिल्लाभरबाट हजार देखि १५ सय नेता कार्याकर्ता काँग्रेसमा प्रवेश गर्ने तयारी भइरहेको सभापति लामाले जानकारी दिए । ‘जिल्लाभरमा हजार देखि १५ सय नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गर्ने उहाँहरुको दाबी छ वार्ता जारी छ’ सभापति लामाले भने । वार्तामा रहँदा काँग्रेसका नेता तथा कार्यकर्ताहरुसँग पनि अन्तरक्रिया गर्न राप्रपाले माग गरेको थियो । सोही अनुरुप यही चैत्र १ गते काठमाडौंमा काँग्रेसले बृहत अन्तक्रिया समेत गरेको थियो ।
अन्तरक्रियामा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, महाधिवेशन तथा महासमिति सदस्यहरु थिए । त्यस्तै राप्रपाका तर्फबाट पूर्व गृहराज्यमन्त्री थापा, राप्रपा संयुक्तका पुर्व जिल्ला अध्यक्ष इन्द्र बहादुर बाँनिया, राप्रपा शिक्षा परिषदका अध्यक्ष, राजकुमार भट्टराई, राप्रपा संयुक्तकी केन्द्रीय सदस्य निर्मला श्रेष्ठ, राप्रपा संयुक्तका जिल्ला सदस्य माधव पौडेल सहभागी थिए ।
अन्तक्रियामा बोल्दै पूर्व गृहराज्यमन्त्री थापाले लोकतान्त्रिक शक्ति एक हुनुपर्ने र अहिलेको एक मात्र लोकतान्त्रिक शक्ति काँग्रेस भएकाले काँग्रेसमा जानुपर्ने लागेको धारणा राखे । ‘राप्रपामा लागेर प्रजातान्त्रिक शक्ति बलियो हुँदैन् थापाले भने, सिस्टमलाई बलियो बनाउन काँग्रेसमा जानुको विकल्प छैन् ।’ राजधानीमा केन्द्रीय नेताहरुसँगको भेटमा आफू र आफ्ना कार्यकर्ताको सम्मानित व्यवस्था भएमा आफू काँग्रेसमा प्रवेश गर्न आतुर रहेको पूर्व गृह राज्यमन्त्रीे थापाले बताएका थिए ।
सभापति लामाले भने राप्रपाले वार्तामा कुनै सर्त नराखेको स्पष्ट पारे । ‘अहिले कसलाई कुन स्थान दिने भन्ने कुरा केही भएको छैन्, यसबारे छलफल भइरहेको छ लामाले भने काँग्रेसमा उहाँहरुको प्रवेशसँगै उचित स्थान दिइन्छ ।’ सभापति लामाले केन्द्रीय तहका व्यक्तिहरुको काँग्रेस प्रवेशले राम्रो सन्देश जाने बताए । पूर्व सभापति भुपेन्द्र बहादुर थापाले लोकतान्त्रिक शक्ति एक हुँदा जिल्लामा एक किसिमको ‘ह्विम’ आउने दाबी गरे ।
स्वर्गीय सुर्य बहादुर थापाका छोरा सुनील बहादुर थापाको नेतृत्वमा राप्रपाका देशभरका नेता तथा कार्यकर्ता एकसाथ काँग्रेस प्रवेश गर्ने अन्तिम तयारी हुँदैछ । राप्रपा एकीकरणमा फरक मत राख्दै संघीय गणतन्त्रलाई आत्मासाथ गर्ने धारको नेतृत्वको ठूलो तप्काले तीन राप्रपाको एकीकरणमा सहभागिता जनाएन । राप्रपाको मेची महाकाली यात्रा सकिनासाथ सुनिल थापा सहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गर्ने चर्चा छ । केन्द्रमा प्रवेशसँगै जिल्लामा भव्य कार्यक्रमकाबीच पूर्व गृह राज्यमन्त्री थापा सहितको टोलीलाई काँग्रेस प्रवेश गराउने सभापति लामाले बताए ।
प्रभाव
काँग्रेस पुर्व सभापति थापाले इन्द्रावती गाउँपालिका पूर्व गृह राज्यमन्त्री थापाको गाउँ पनि भएकाले त्यहाँ इमान्दारसाथ लाग्ने हो भने आगामी चुनावमा काँग्रेसले प्रभाव राख्न सक्ने दाबी गरे । राष्ट्रिय व्यक्तित्वहरुको काँग्रेस प्रवेशले समग्र जिल्लालाई फाइदा हुने सभापति लामाले बताए ।
एक नम्बर क्षेत्रमा खाशै पकड नभएपनि दुई नम्बर क्षेत्रमा भने राम्रै प्रभाव पर्ने नेताहरुको दाबी छ । क्षेत्र नम्बर एकमा पनि सुर्य बहादुर निकट नेता कार्यकर्ता धेरै रहेको र उनीहरुलाई ल्याउन थापाले कस्तो भूमिका खेल्छन् त्यसमा भर पर्ने बताइन्छ । एक नम्बर क्षेत्रमा सुर्य बहादुर थापालाई आस्था र विश्वास गरेर राप्रपा भएका थुप्रै नेता कार्यकर्ता छन् ।
पूर्व गृहराज्यमन्त्री थापाले २०५१ को मध्यावदी चुनावमा क्षेत्र नम्बर दूईबाट जितेका थिए । उनले एमालेका सुवास कर्माचार्यलाई हराएका थिए । मध्यावदी पछिको सरकारमा थापा गृह राज्यमन्त्री भए । २०५६ मा थापाले चुनाव हारे । उनले सुवास कर्माचार्यसँग चुनाव हारेका थिए । २०७० को संविधानसभा चुनावमा उनले सम्मानजनक मत ल्याएका थिए ।
७० को चुनावमा पशुपति शमशेरलाई यिनले असहयोग गरेको आरोप छ भने पशुपति शमशेरलेपनि थापाले असहयोग गरेको आरोप लगाएका थिए । जिल्लामा पशुपति शमशेर र थापाबीच कहिले राम्रो सम्बन्ध हुन नसकेको जानकारहरु बताउँछन् । थापाको इन्द्रावती, साँगाचोक, चौतारा, सानोसिरुवारी, ठूलो सिरुवारी लगायत क्षेत्रमा अझै पनि पकड छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस