शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीति३६ वर्षअघिको पिस्कर काण्ड : अझै डराउँछन् थामी समुदाय

३६ वर्षअघिको पिस्कर काण्ड : अझै डराउँछन् थामी समुदाय


दिपक खत्री, पिस्कर, २९ पुस ।
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करका बीरबहादुर थामी ‘उद्धव’लाई पुस मसान्त २०४० को घटना अझै ताजा लाग्छ । दुई जनाको हत्या भएको त्यतिबेलाको जात्राका प्रत्यक्षदर्शी उद्धवलाई घटना सम्झँदा अझै त्रास हुन्छ ।
३६ वर्षअघिको घटनाले स्थानीय अझै पनि भयभीत छन् । अहिले पनि पुस मसान्त आएपछि पुरानो कथा दोहोरिन सक्ने सम्भावनाले स्थानीयलाई सताउने गरेको छ । ‘नाटक खेल्ने, गीत गाउने, सभा गर्ने कार्यक्रमहरु भइरहेको थियो,’ उद्धव अहिले सम्झन्छन्, ‘साँझ पर्न लागेको थियो, जूनको छाँया पर्न लाग्दा झडप सुरु भयो ।’
त्यतिबेला विजुली बत्ती थिएन । कार्यक्रममा उज्यालोका लागि मैन्टोलको प्रयोग गरिएको थियो । ‘तीन वटा मैन्टोल थियो, दुई वटा सुरुमै फुटाइयो, अनि ढुंगामुढा, गोलीको वर्षा हुन थाल्यो ।’ उनले भने ।
माघ १ मा स्थानीयरूपमा बृहत् मेला लाग्ने हुनाले तत्कालीन नेकपा (माले)ले यो ठाउँमा सरकार विरोधी चेतना फैलाउने कार्यक्रम राखेको थियो । यही कार्यक्रम विथोल्न सरकारी पक्षबाट दमन भएको थियो । दमनका क्रममा स्थानीय इले थामी र वीरकहादुर थामीले ज्यान गुमाएका थिए । आफ्नै दाजुभाईले ज्यान गुमाएपछि अहिले पनि थामी समुदायमा पुस मसान्त आएसँगै पुरानो यादले झस्काउने गरेको छ ।
‘मलाई फेरि त्यस्तै दिन आउला भन्ने डर छ,’ स्थानीय बृद्धा धनमाया थामीले भनिन्, ‘हामी त्यतिबेला घर बाहिर निस्कन पनि सकेका थिएनौं ।’ प्रहरीहरु जंगमा पनि मान्छे ढुकेर बस्ने गर्दा निकै समस्या भोगेको उनले सुनाइन् । ‘प्रहरीहरु घाँसकै कपडा लगाएर लुकेर बस्थे,’ उनी सम्झिन्छिन्, ‘त्यतिबेला पाता फर्काएर पुलिसले धेरैलाई लग्यो ।’ त्यो सम्झँदा अहिले पनि ज्यानै सिरिंग हुने उनले अनुभव सुनाइन् ।
घटनालगत्तै गाउँमा बालबच्चा र केही आइमाई मात्रै रहे । हिँड्न सक्नेहरु सबै विस्थापित भए । ‘म पनि भागेर तौंथली हुँदै टेकानपुर पुगेर लुकें,’ उनले भने, ‘यहाँका युवाहरु सबै धुलिखेल पुगेका थिए ।’ गाउँमा प्रहरी खोज्दै आउँथ्यो । बालबच्चा मात्रै देखेपछि फर्कने गरेको उनले बताए ।
सोमबार पन्चायती ब्यवस्था फाल्ने आन्दोलनका रुपमा पिस्करका स्थानिय वासिन्दा इले थामि र विर वहादुर थामिले पिस्करको भूमिमा आहुति दिएको स्मरणमा आयोजित स्मृति सभामा थामी समुदाय धेरैले ३६ वर्षअघिको घटना पुनस्मरण गरे ।
वि.स २०४० साल पौष मसान्तका दिन राति भएको घटना पिस्कर काण्डले चर्चित रहेको छ । त्यो समय तत्कालीन मालेका धेरै नेताले जेल नेलको कठोर यातना समेत भोगेका थिए । राज्य विरुद्धको आरोप लागेर कतिले वास स्थाननै छोड्नु परेको कारण गाउँ रित्तो थियो । पिस्करमा त्यो समय रगत बग्नुका साथै मान्छेले झुटा मुद्धाको आरोपमा जेलको सामना गर्दै सत्य र अधिकारका लागि लडेका थिए ।
गाउँमा पुलिसका बुट र लाठी बर्सिएका थिए । बिनाकारण पाएको यो पीडाले थप मानिसमा आक्रोश पनि बढ्यो । र, यसले तत्कालीन शासन व्यवस्था विरुद्ध थप आवाज बुलन्द गर्न ऊर्जा मिल्यो । यसलाई पञ्चायती शासकको दमनको उदाहरणका रूपमा उनीहरुले लिने गरेका छन् । माघेसंक्रान्तिको यो घटना हुनुभन्दा करिब ५ दिनअघि मालेका नेता अमृत बोहरा र माधव पौडेल पिस्कर पुगेका थिए । कार्यक्रमको आवश्यक व्यवस्था मिलाएर उनीहरू काठमाडौं फर्केका थिए । तर, प्रहरीले पार्टीका उच्च नेतृत्व नै सो कार्यक्रममा सहभागी हुने सूचनाका आधारमा आक्रमण गरेको थियो ।
थुप्रै स्थानीय बासिन्दालाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबेलाका स्थानीय नेता हाल प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललगायत मेघनाथ पौडेल, सरेश नेपाल, छत्रबहादुर बोहरा, मानबहादुर थामीलाई सरकारले जेल हालेको थियो । पिस्कर अहिले त्रिपुरासुन्दरी गाउपालिका केन्द्र रहेको गाउँ हो । २०४० सालको माघेसंक्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम थियो । र, त्यसलाई पञ्चायती शासकहरूले दमन गरे । प्रहरीको गोलीद्वारा दुई निर्दोष थामीको निर्मम हत्या भएको थियो ।
घटनालगत्तै हत्या र दमनको देशव्यापी विरोध तथा प्रतिवादको योजना अघि सारिएको थियो। मानव अधिकारको व्यापक हनन भएको निचोडसहित सञ्चार तथा मानवअधिकारवादी संस्थाहरू परिचालित भएका थिए । यस हत्याकाण्डको देशव्यापीरूपमा विरोध भएको थियो । यसलाई अन्तर्रा्िष्ट्रयकरण गर्ने काम पनि भयो । जसले दरबारलाई समेत समस्यामा पारेको थियो । त्यसबेला राजाका निकट मानिने व्यक्तिले पनि घटनाको विरोध गरेका थिए । संघर्षको परिणामस्वरूप पिस्कर क्षेत्रमा गरिएका नाकाबन्दी हटाउन र केही मात्रामा भए पनि दमन खुकुलो पार्न सरकार बाध्य भयो । त्यस घटनाको छ वर्षमै देशमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । मन्दिरमा लागेको मेलामा प्रहरीले दमन गरेर मान्छे मारेको घटना यसअघि नेपालमा भएको थिएन । त्यसकारण पनि यसले तत्कालीन व्यवस्थाप्रति जनधारणा नकारात्मक बन्दै गएको थियो । प्रजातन्त्रका लागि लडेका यहाँका स्थानीयले अहिले गणतन्त्र देख्न पाएको र विकासको लागि गाउँपालिकाले काम गरिरहेको गाउंपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । २०४० सालको पिस्कर काण्डमा शाहादत प्राप्त गर्नुभएका पिस्करका ईले थामी र बिरे थामीको स्मृतिमा गाँउपालिकाले शहिद पार्क निर्माण सुरु गरेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ४ थामी समुदायको बाक्लो बस्ती रहेको च्याङ्थामा शहिदपार्क निर्माण भईरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । दुई शहिदकोे शालिक संगै पार्क, बंगैचा तथा बाटिका लगायतका संरचना निर्माण गरिने छन् । निरङ्रकुसताको विरुद्ध क्रान्तीको दियो बाल्ने र निरङ्रकुसताका विरुद्ध उठ्ने ऐतिहासिक स्थल पिस्कर रहेको स्मरणमा ४ नम्बर पिस्करमा कार्यक्रम गरिएको वडा अध्यक्ष भोटोला थामिको भनाई छ । नेपाल कम्युनिष्ट पार्टि नेकपा त्रिपुरासुन्दरी गाउपालिकाको आयोजनामा गाउंपालिका ४ नम्बर वडा पिस्करमा शहिद स्मृति सभा गरिएको हो ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!