Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठराजनीतिसाख जोगाउन जित्नै पर्ने बाध्यतामा नेकपा र काँग्रेस

साख जोगाउन जित्नै पर्ने बाध्यतामा नेकपा र काँग्रेस


सिपापोखरे, ११ मंसिर ।
उप निर्वाचनको मिति नजिकिंदै गर्दा इन्द्रावती गाउँपालिका–८ मा चुनावी सरगर्मी बढ्न थालेको छ ।
रिक्त वडा अध्यक्ष पदको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले आफ्नो अभियानलाई तीब्र पारेका हुन् । एक स्थानमा मात्र निर्वाचन हुने भएकाले सिंगो जिल्लाको ध्यान त्यतै खिचिएको छ । सत्ता पक्ष र प्रतिपक्ष दुबै दलका शिर्ष नेता निर्वाचन प्रचारमा जुटेका छन् ।
चुनावी मैदानमा चार राजनीतिक दल उभिएपनि मूख्य दौडमा भने नेकपा र काँग्रेसका उम्मेदवार देखिएका छन् । नेकपाका केदारनाथ आचार्य र नेपाली काँग्रेसका राले तामाङ (अशोक) बीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुको अनुमान छ । यस अघि जितेकाले साख जोगाउन जित्नै पर्ने बाध्यतामा काँग्रेस छ । पार्टी एकिकरण अघि दोस्रो र तेस्रो स्थानमा रहेका तत्कालीन माओवादी र एमाले एक ठाउँमा भएकाले आफ्नो सहज जित हुने नेकपाको दाबी छ ।
दुई चरणको घरदैलो अभियान पूरा गरेका नेकपाका उम्मेदवार आचार्य सोमबारबाट अनौपचारिक भेटघाटमा व्यस्त छन् । गत निर्वाचनमा विजयी उम्मेदवारभन्दा नौ मतले पछि परेका आचार्य पार्टी एकिकरणले आफू थप मजबुत भएको बताउँछन् । गत निर्वाचनमा तत्कालीन एमाले र माओवादीको मत मात्र नभएर आफ्नो सक्रियता पनि चुनाव जित्ने आधार रहेको उनको भनाइ छ । ‘विगतमा भेट नभएका र आफ्नो कुरा राख्न नपाएका मतदातासँग भेटघाट गर्न थालेको छु’, आचार्यले भने, ‘मतदाताहरु सँगको भेटघाट र उहाँहरुको अभिव्यक्तिले थप उत्साहित भएको छु ।’
काँग्रेस उम्मेदवार अशोक पनि उत्साहित छन् । घरदैलो र मतदाता भेटघाटमै व्यस्त तामाङ आफ्नो पक्षमा माहौल बन्दै गएको बताउँछन् । तामाङ बाहुल्य वडामा आफ्नो उम्मेदवारीले समुदाय उत्साहित भएको उनको अनुभव छ । विगतमा पनि काँग्रेसलनै जितेकाले पनि आफ्नो जित सहज भएको उनको अनुमान छ । ‘सरकारप्रति घट्दै गएको जनबिश्वासले पनि हाम्रो पक्षमा माहौल बनेको छ’, तामाङले भने, ‘मतदाताले विकास र परिवर्तन चाहेका छन् र त्यो नेकपाबाट सम्भव छैन भन्ने बुझिसकेका छन् त्यसैले हामीलाई जित्न सहज छ ।’ समाजवादीका उम्मेदवार प्रकाश श्रेष्ठले काँग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपाका रणबहादुर तामाङ र राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।
दुबै उम्मेदवारले सोचे जस्तो जित निकाल्न सहज भने छैन । ‘वडाको निर्वाचन भएकाले पार्टी मात्रै नभएर व्यक्ति पनि हेर्ने गरिन्छ’, एक विश्लेषकले भने, ‘चुनाव अघिको मौन अवधीमा हुने भित्री गतिविधिले जितको तय हुन्छ ।’
नेकपा अध्यक्ष झम्क नेपाल र काँग्रेस सभापति विकास लामाको गाउँपालिका भएकाले दुबै पार्टीलाई नेतृत्वको साख जोगाउन जित्नै पर्ने बाध्यता देखिन्छ । दुबै पार्टी प्रमुख आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।
एक हजार चार सय पाँच मतदाता रहेको उक्त वडामा अघिल्लो निर्वाचनमा काँग्रेसका धनबहादुर श्रेष्ठले तीन सय ६४ मत ल्याएर निर्वाचित भएका थिए । निर्वाचित अध्यक्ष श्रेष्ठको निधन भएकाले उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस