Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिभोटसिपा दुर्घटना : गाउँपालिकाले तत्काल २५ हजार प्रदान गर्ने

भोटसिपा दुर्घटना : गाउँपालिकाले तत्काल २५ हजार प्रदान गर्ने


भोटसिपा, २४ असोज ।
शुक्रबार (आज) इन्द्रावती गाउँपालिका १० भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु भएको परिवारलाई गाउँपालिकाले तत्काल प्रति मृतक परिवार २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । मृतक परिवारलाई तत्काल किरिया खर्च वापत गाउँपालिकाले जनही २५ हजार उपलब्ध गराउने भएको हो ।
इन्द्रावती गाउँपालिका गाउँ कार्यपालिकाद्धारा जारी विज्ञप्ति अनुसार मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मृतक परिवारलाई तत्काल २५ हजार रुपैयाँ सहयोग गरिने भएको हो । विज्ञप्तिमा दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै राहत र उद्धारमा खटिनुहुने स्थानीय प्रशासन, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनसमुदायलाई कृतज्ञता व्यक्त गरिएको छ ।
गाउँपालिका अध्यक्ष बंशलाल तामाङले मृतकका परिवारमा समवेदना प्रकट गर्दै गाउँपालिकाको तर्फबाट तत्काल किरिया खर्चका लागि रकम सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए । उनले पछि आवश्यक सहयोग गरिने जनाउँदै यो सहयोग तत्कालका लागि भएको बताए । उनले घाइतेको उपचार, राहत र क्षतिपुर्तीका लागिसमेत आफू तत्पर रहेको जनाएका छन् ।
विहान भएको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित १२ यात्रुको मृत्यु भएको हो ।
दुर्घटनामा पचास बढी घाइते छन् । घाइतेको धुलिखेल अस्पताल र बिर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार पाँच जनाको घटनास्थलमा, एकको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र पाँच जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । एक गर्भवतीको मृत्यु भएको हुँदा पेटमा रहेका बच्चासमेत १२ को मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै र्गा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनकाअनुसार उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङ, इन्द्रावती १० का मिना मगर, सुवास अधिकारी र सुमित पुर्कोटीको मृत्यु भएको हो ।
घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले हेलिकोप्टरबाट घाइतेको उद्धार गरि उपचारका लागि धुलिखेल र राजधानी लगेका हुन् । दुलालले सेनाको हेलिकोप्टरबाट घाइतेलाई उपचारका लागि अस्पताल लगेका थिए भने वंशलालले व्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस