भोटेकोशीमा शैक्षिक समृद्धिका लागि बालबालिकालाई अध्यक्षको तलबभत्ता

तातोपानी, १० असोज ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आफ्नो तलबभत्ताको रकमले गाउँपालिका भित्रका विद्यालयलाई शैक्षिक र खेलकुद सामाग्री बाँडेका छन् । सरकारी सवारी सुविधा नलिएका पौडेलले हालसम्मको पारिश्रमिकले २९ विद्यालयलाई आवश्यक शैक्षिक, खेलकुद सामग्री उपलब्ध गराएका हुन् ।
‘शैक्षिक सुधारको लागि जनप्रतिनिधि’ अभियान लिएर उनले विद्यालयभरका सबै बालबालिकालाई शैक्षिक सामग्री र खेलकुद सामग्री प्रदान गरे । भोटेकोशीको दुर्गम क्षेत्रमा रहेका बालबालिकाको अवस्था अध्ययन गर्दा शैक्षिक सामाग्रीको अभाव भएको पाएपछि आफुले यस्तो शैक्षिक अभियान चलाएको पौडेलले बताए ।
‘गाउँका बालबालिकाले सामाग्री नपाएकाले अध्ययनमा कठिनाई भएको पायौ, त्यही अध्ययनपछि यो अभियान लिएर अगाडी बढेका हौ,’ उनले भने । लिस्तीकोट हुँदै तातोपानी, फुल्पिङकट्टी र मार्मिङ जस्ता विकट हिमाली गाउँका ५ वटा वडाक्षेत्र भोटेकोशीमा रहेका छन् । वडा कार्यालय पुग्न एक दिन लाग्ने भौगोलिक समस्या रहेकाले बालबालिकाको समस्या सहज जनप्रतिनिधिमाझ पुग्न नसकेकोले शैक्षिक सामाग्री उपहार लिएर पुगेको उनले सुनाए ।
शिक्षकको माध्यबाट विद्यालयबारे सबै सूचना पाइरहेपनि बालबालिकाको यथावत समस्या थाहा पाउन यो अभियानलाई व्यापक बनाएर लगिरहेको जनप्रतिनिधिले बताएका छन् । भोटेकोशीका प्रत्येक विद्यालयमा बालबालिकाले गुनासो गर्ने एउटा कार्यक्रम तय गरिएको छ । बालबालिकाले समस्याबारे सहज खुल्न सकुन भनेर अभियान थालिएको विद्यालयका प्रधानध्यापकहरुको भनाई छ । ‘शैक्षिक सामाग्री वितरणसँगै अध्यक्षले असक्षम बालबालिकाको अभिभावकत्व लिने प्रतिबद्धता गरेपछि बालबालिका हर्ष छाएको छ,’भोटेकोशी ३ स्थित दुगुनागढीस्थित गुप्तेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक हरिश्चन्द्र पौडेलले भने ।
स्थानीय सरकार आएलगत्तै अध्यक्ष, वडाध्यक्ष,सदस्यले भोटेकोशीका विद्यालयलाई शैक्षिक प्रोत्साहन सहयोग गर्दै आएको उनको भनाई छ । ‘अध्यक्षबाट सुरु भएको सहयोगले अन्य स्थानीय तहका जनप्रतिनिधिलाई प्रेरणा मिलेको छ,वडाध्यक्ष यस्तो सहयोगमा तत्पर देखिएका छन् ।’ उनले भने ।
दृष्टिविहिन संगीतकर्मी छोराछोरीको अध्यापन
जिल्लामा ‘टुंगुना गायक’को रुपमा नाम कमाइसकेका दृष्ट्रीविहिन संगितकर्मी विरबहादुर कामीका छोराछोरीको निशुल्क अध्यापनको जिम्मा प्रमुख पौडेलले लिएका छन् । आवास पुनर्निर्माणमा आर्थिक अभाव झेलिरहेका टुंगुना बाद्यक कामीलाई ५ हजार सहयोग गर्दै उनले उनको दुई छोरी र एक छोरीको अध्ययनको पुरा जिम्मा उठाउने प्रतिबद्धता गरे । ‘संगितकर्मी विकको छोराछोरी निशुल्क अध्यापन सुरु भइसकेको छ , जस्तोसुकै सहयोगको लागि स्थानीय तह र विद्यालय परिवार तयार छ,’ लिस्तीकोट काङलाङस्थित सेतीदेवी आधारभुत विद्यालयका प्रधानध्यापक परशुराम गौतमले भने ।
गाउँमै पुगेर शैक्षिक अनुगमन
नमुना शैक्षिक संस्थाको अवधारणा लिएको भोटेकोशी सरकारले विभिन्न शैक्षिक अभियान र नीति बनाएर अगाडी बढेको छ । प्रमुखसहित वडाअध्यक्ष, सदस्य बसेर शैक्षिक अवस्थाको सुधारको लागि सातादिनमा दर्जनौ पटक छलफल,अनुगमन हुदै आएको उपाध्यक्ष दाबुटी शेर्पाले बताइन् । ‘सबैतिरको अध्ययन विवरण आएपछि त्यसबारे के हो भन्ने बुझ्दै अगाडी बढ्छौ, त्यहाको आवश्यकता, समस्यालाई आकलन गर्नको लागि अभियान अगाडी बढ्छ,’उनले भने । हिमाली भेगमा पुग्न सकसपूर्ण भएपनि वडाध्यक्षमार्फत पुनर्निर्माण ,शैक्षिक गतिविधिजस्ता दर्जनौ संवेदनशील विषयलाई ध्यान दिइएको उनको भनाई छ ।
क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस