शुक्रबार, वैशाख ७, २०८१
गृहपृष्ठअर्थनेपाल–चीन पूर्वाधार निर्माणलाई प्राथमिकता दिइन्छ : प्रधानमन्त्री दाहाल

नेपाल–चीन पूर्वाधार निर्माणलाई प्राथमिकता दिइन्छ : प्रधानमन्त्री दाहाल


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए ।

प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी दिए । ‘चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ ।’

मित्रराष्ट्र चीनसँग आयात र निर्यात गर्ने नेपाली व्यापारीहरुको प्रयासमा वि.सं. २०५५ सालमा तातोपानी व्यापार सहयोग संघको नामबाट एउटा सानो कोठामा स्थापना भएको संस्था हाल नेपाल हिमालय सीमापार वाणिज्य संघको रुपमा परिणत भई चीनसँग व्यापार गर्ने साथीहरुको छाता संगठनको रुपमा विकसित र विस्तारित भएको आफू जानकार रहेको प्रधानमन्त्रीले बताए ।
गत असोजमा सम्पन्न चीन भ्रमणका क्रममा आफूले सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका साथै नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको दाहालले बताए ।

भ्रमणका क्रममा चीन सरकारसँग नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण, सन् १९८१ को नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर, हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता लगायतका दर्जनौं विषयमा सम्झौता भएका छन्, जसले सीमापार व्यापार प्रवर्धनका क्षेत्रमा समेत गुणात्मक अर्थ राखेको दाहालको भनाइ छ ।

हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले चीन विश्वको ठूलो बजार रहेको र नेपालले पनि आफ्नो उत्पादन चीनमा निकासी गर्ने वातावरण बनाउनुपर्ने बताए । चीन–नेपालको पूर्वाधारमा निकै समस्या रहेका कारण पनि सरकारले पूर्वाधार निर्माणमा सहज गरी व्यापारकोे वातावरण बनाउनुपर्ने श्रेष्ठको भनाइ छ ।


क्याटेगोरी : अर्थ, राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!