बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिराष्ट्रपतिको निर्वाचनका लागि पौडेल र नेम्वाङको उम्मेदवारी

राष्ट्रपतिको निर्वाचनका लागि पौडेल र नेम्वाङको उम्मेदवारी


काठमाडौँ ।  यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)ले  पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

यस्तै ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । एमाले बैठक पार्टी कार्यालयमा जारी छ ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!