सोमबार, फागुन १४, २०८०
गृहपृष्ठराजनीतिउपाध्यक्ष बनेर पार्टी जिम्मेवारीमा फर्किए अग्नि सापकोटा

उपाध्यक्ष बनेर पार्टी जिम्मेवारीमा फर्किए अग्नि सापकोटा


चौतारा–निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा पार्टी जिम्मेवारीमा फर्केका छन् ।

माओवादी केन्द्रले उनलाई शीर्षस्थ चाैथाे वरियातासहित पार्टी जिम्मेवारीमा फर्काएको हो । पार्टीले सापकोटालाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

माओवादीको शीर्ष पहिलो स्थानमा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड छन् । दोस्रोमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तेस्रोमा उपाध्यक्ष कृष्णबहादुर महरा रहँदा सापकोटालाई चौथो बरियतासहित उपाध्यक्ष बनाइएको हो ।

सापकोटापछि पाँचौ वरियतामा नेतृ पम्फा भुसालको बढुवा भएको छ । उनलाई पनि उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यसअघि उनी उपमहासचिव थिइन् ।


चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका सापकोटा सिन्धुपाल्चोकबाट संसदीय चुनावमा लगातार ह्याट्रिक जित निकालेर आफ्नो चुनावी क्षेत्र नयाँ पुस्तालाई सुम्पने पहिलो राजनीतिज्ञ हुन् ।


प्रतिनिधि सभाले नयाँ सभामुख पाएसँगै केही दिनअघि सापकोटालाई स्थायी समिति सदस्य बनाएर माओवादीले पार्टीमा फर्काएको थियो । पार्टीको माघ २१ गते सम्पन्न स्थायी समिति बैठकले सापकोटालाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

अघिल्लो कार्यकालमा सापकोटा झण्डै तीन वर्ष प्रतिनिधि सभाको सभामुख बनेका थिए । त्यतिबेलाका सभामुख कृष्णबहादुर महराको राजिनामापछि तत्कालीन नेकपाको तर्फबाट कांग्रेससहितको समर्थनमा सापकोटा सभामुखमा निर्विरोध चयन भएका थिए ।

सभामुख साझा राजनीतिक चरित्रको हुनु पर्ने मान्यताको कारण सापकोटाले पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएका थिए । सभामुख बन्नुअघि उनी माओवादी स्थायी समिति सदस्य थिए ।

सभामुख बन्नुअघि संघीय सरकारमा सूचना र वन तथा वातावरणमन्त्री बनेका सापकोटा सिन्धुपाल्चोकका हुन् । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित भएपछि उनी सभामुख बन्न सफल भएका थिए ।

यसअघि सापकोटाले सिन्धुपाल्चोक साविक क्षेत्र नं. २ बाट २०६४ र २०७० को संविधान सभा सदस्य निर्वाचन जितेका थिए । चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेका सापकोटा सिन्धुपाल्चोकबाट संसदीय चुनावमा लगातार ह्याट्रिक जित निकालेर आफ्नो चुनावी क्षेत्र नयाँ पुस्तालाई सुम्पने पहिलो राजनीतिज्ञ हुन् ।

उनी अघि राप्रपा नेता पशुपति सम्शेरले सिन्धुपाल्चोकबाटै संसदीय चुनावमा ह्याट्रिक जित निकाले पनि २०६४, २०७० र २०७४ मा लगातार अरु तीन निर्वाचन हारे ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा सापकोटा पुनः क्षेत्र नं. १ बाटै उम्मेदवार सिफारिस भएका थिए । तर उनले नयाँ पुस्तालाई ठाउँ दिने उदारता देखाउँदै चुनावी मैदान खाली गरिदिएका थिए ।

निवर्तमान सभामुख सापकोटाले छोडेको यो क्षेत्रबाट माओवादीकै माधव सापकोटा सुबोध प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!