बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिबागमती सभामुखमा तीन जनाकाे प्रतिस्पर्धामा

बागमती सभामुखमा तीन जनाकाे प्रतिस्पर्धामा


चाैतारा-बागमती प्रदेशकाे सभामुखका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हाे ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् ।

पाठकलाई नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् । बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् ।

सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । तर पनि उसले अधिकारीलाई उम्मेद्वार बनाएको छ । उनको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक छन् ।

लोकतान्त्रिक पद्दती र विधि प्रक्रियाबाट नेपाली कांग्रेस कहिल्यै पछाडि नभाग्ने भएकाले आफूहरुको उम्मेदवारी पद्दती र विधिलाई जोगाउन भएको अधिकारीका प्रस्तावक काफ्लेले बताए ।

‘हार जित त नतिजा आएपछि थाहा हुन्छ, मतद्वारा आफ्नो नेता छान्न पाउनु र त्यसमा भाग लिनु लोकतान्त्रिक पद्दती हो,’ काफ्लेले भने, ‘ त्यो पद्दतीको रक्षाका लागि हामीले सभामुखमा उम्मेदवार उठाका हौँ ।’

तीन जना मात्र सांसद नेमकिपाले सायजुलाई उम्मेदवार बनाएको हो ।  नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइँ सायजुको प्रस्तावक र गीता काफ्ले समर्थक बसेकी छिन् ।

सायजुले प्रजातान्त्रिक अभ्यासका लागि आफूहरुले उम्मेदवारी दिएको बताइन् ।

‘केही दिनअघि संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिएको सिलसिला हेर्दा प्रजातन्त्र संकटमा परेको हो कि जस्तो अनुभव गरेका छौं,’ उनले भनिन् ‘त्यसलै यहाँ प्रजातान्त्रिक अभ्यास गर्न उम्मेदवारी दियौं ।’

प्रदेश सभालाई मर्यादित र व्यवस्थित बनाउने र जनताको समस्याको छलफल गर्ने थलोका रुपमा विकास गर्ने आफूहरुको उद्देश्य रहेको उनले बताइन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!