सत्ता गठबन्धनले प्रदेशमा मिलायाे भागवण्डा, कुन पार्टीलाई के पद ?

मुख्यमन्त्री भागवण्डा : चार प्रदेशमा एकल नेतृत्व, बाँकीमा आलोपालो
काठमाडाैँ- सत्ता गठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखकाे भागबण्डा मिलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले प्रदेशमा कुन पार्टीले कुन पद पाउने भन्ने भागबण्डा गरेकाे हाे ।
भागबण्डाकाे सहमतिअनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ। उसले बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा पाँच वर्ष सरकार चलाउने भएको हो।
नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ। प्रदेश १ मा आाइतबारै एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्।
कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने सहमित भएकाे छ। सहमितअनुसार मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिइने छ । बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन्।
सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा मिलाएका छन्। मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ।
बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ। बागमतीमा मुख्यमन्त्री दाबी गर्दै आएकाे राप्रपाले सभामुखमा चित्त बुझाउने भएको छ ।
प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन्। मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने गरी सत्ता गठबन्धनले भागबण्डा मिलाएकाे छ ।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस