कांग्रेस बागमती प्रदेश नेतामा बहादुर लामा विजयी

चाैतारा-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन्।
लामाले २१ मत ल्याएर संसदीय दल नेता भएका हुन्। लामा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। गत मंसिरमा भएको चुनावमा उनी नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएका थिए।
हेटाैँडामा बुधबार भएको चुनावमा अर्का उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई पराजित गर्दै लामा निर्वाचित भएका हुन् । बानियाँ पहिले देउवानिकट थिए। तर उनी अहिले संस्थापनइतर समूहको समर्थनमा दल नेताका लागि उम्मेदवार भएका थिए।
बानियाँले १६ मत ल्याएका छन्। गत मंसिरमा भएको चुनावमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।
पराजित बानियाँ निवर्तमान संसदीय दलका नेता हुन् । संसदीय दलका नेता नै प्रदेश मुख्यमन्त्रीकाे उम्मेदवार हुन पाउँछन् । कांग्रेस नेतृत्वकाे गठबन्धन भत्किएपछि बागमतीमा कांग्रेस प्रमुख प्रितपक्षीकाे भूमिकामा रहने भएकाे छ । गठबन्धन नभत्किएकाे भए कांग्रेसले मुख्यमन्त्री पाउने निश्चित थियाे ।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस