मंगलबार, माघ १७, २०७९
गृहपृष्ठराजनीतिको बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?

को बन्ला बागमती प्रदेशको मुख्यमन्त्री ?


चाैतारा-प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आइसक्नै लाग्दा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ ।

संघीय राजधानी काठमाडौँसमेत समेटिएकाले बागमती प्रदेशको सम्भावित नयाँ सरकार गठनबारे चासो बढ्नु स्वभाविकै हो । दलहरुले पनि संघीय सरकारपछि बागमती प्रदेश सरकार निर्माणलाई बढी चासो र महत्व दिने गरेका छन् ।

चुनावी नतिजाअनुसार संघमा जस्तै बागमतीमा पनि एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन । दलहरुले गठबन्धन नै बनाएर सरकार बनाउनु पर्ने अवस्था छ । जुन–जुन दल मिलेर संघीय सरकार बन्छ, तिनै दलले बागमती सरकार बनाउने देखिन्छ । यसको ‘क्लियर पिक्चर’ आइसकेको भने छैन ।

मिलेर चुनाव लडेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनले नै संघ र प्रदेशको सरकार बनाउने सम्भावना बलियो देखिएको छ । एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा छ । बागमती प्रदेशमा निर्वाचित प्रभावशाली नेताहरु मुख्यमन्त्री बन्ने दौडमा निस्किसकेका छन् । आकांक्षीहरुले जोसँग गठबन्धन भए पनि बागमती प्रदेश आफ्नो पार्टीको भागमा पार्न र मुख्यमन्त्रीमा आफूलाई अघि सार्न नेतृत्वलाई दबाव दिन थालेका छन् ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ निर्वाचित हुँदै छन् । यहाँ कांग्रेस पहिलो शक्ति बन्ने देखिएका छ । क्रमशः एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बन्ने निश्चित छ । बहुमतको सरकार बनाउन यहाँ ५६ सिट आवश्यक पर्छ । सत्ता गठबन्धनले ५६ भन्दाबढी सिटसहित स्पष्ट बहुमत ल्याउने देखिन्छ ।

कांग्रेसबाट बागमतीको मुख्यमन्त्री बन्न प्रभावशाली दुई नेताबीच मुख्य प्रतिस्पर्धा छ । उनीहरु हुन्, कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामा । बानियाँ मकवानपुर २ (ख) र लामा नुवाकोट २ (ख) बाट निर्वाचित भएका हुन् । दुबै नेता पार्टी संस्थापन पक्षका हुन् ।

यीमध्ये बानियाँको मुख्यमन्त्री हुने प्रवल सम्भावना छ । उनी बागमती प्रदेश सभामा कांग्रेसका निवर्तमान संसदीय दलका नेता पनि हुन् । २०७४ को प्रदेश सभा निर्वाचनमा मुख्यमन्त्री बन्न उनी प्रतिनिधिसभा छोडेर प्रदेश सभामा उम्मेदवार बनेर निर्वाचित भएका थिए । तत्कालीन नेकपाले बहुमत ल्याएर सरकार गठन गरेपछि उनी मुख्यमन्त्री बन्न रोकिएका थिए । राजेन्द्र पाण्डे बागमतीको तेस्रो मुख्यमन्त्री बन्दा पनि बानियाँले बलियो दाबेदारी प्रस्तुत गरेका थिए । बाँकी रहेको आधा कार्यकाल मुख्यमन्त्री पाउने शर्तमा उनी पछाडि हटेका थिए । पाण्डेले पूरै कार्यकाल चलाएपछि उनी तेस्रो पटक पनि मुख्यमन्त्री बन्नबाट रोकिए ।

यो पटक ‘कन्फर्म’ मुख्यमन्त्री बनाउने गरी बानियाँलाई पुनः प्रदेशमै रोकिएको हो । नत्र उनी यो पटक प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहन्थे । उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्येका नेतामा पर्छन् । तर पछिल्लो पटक उनको सम्वन्ध देउवासँग चिसिएको बानियाँ निकट नेताहरु नै बताउँछन् ।

स्थानीय चुनावमा सभापति देउवालाई समेत नटेरेर उनले प्रदेशभरि एकटौली उम्मेदवार चयन गरेको बानियाँमाथि आरोप छ । त्यही बेलादेखि बानियाँ–देउवा सम्वन्ध चिसिएको हो । ‘पैसा र बल’मा राजनीतिक गरेको अर्को आरोप पनि उनीमाथि छ । जुन देउवासहित संस्थापन खेमाका शीर्ष नेतृत्वलाई पटक्कै मन परेको छैन । बानियाँ मुख्यमन्त्री हुने कि नहुने भनेर अब महालक्ष्मी उपाध्याय (¬डिना)को पराजय पनि सँगै जोडिएर आएको छ ।

उपाध्यायको पराजयले उनको आगामी यात्रामा ‘आगोमा घ्यू थप्ने’ काम गरेको छ । मकवानपुर १ बाट उम्मेदवार बनेकी उपाध्याय राप्रपाका दीपकबहादुर सिंहसँग झण्डै २४ सय मतान्तरले पराजित भइन् । सार्वजनिक असन्तुष्टि नपोखे पनि उनले निकट नेताहरुसँग बानियाँको असहयोगका कारण आफू पराजित भएको बताउने गरेकी छिन् ।

उपाध्याय पार्टी सभापति देउवाका विश्वासपात्रमध्येकी हुन् । ‘आकांक्षीमध्ये बानियाँ सबैभन्दा बलिया उम्मेदवार त हुन्, तर मुख्यमन्त्री हुने कि नहुने भन्ने सबै अब उपाध्यायका हातमा छ,’ एक नेताले भने, ‘देउबाले उपाध्यायकै कुरा खानु हुन्छ ।’

केन्द्रीय सदस्य लामाको पनि मुख्यमन्त्रीमा बलियो दाबी रहने देखिएको छ । मुख्यमन्त्री बनाउने आश्वासन दिएर उनलाई प्रदेश उम्मेदवार बनाइएको थियो । नुवाकोटबाट प्रतिनिधि सभा सदस्य जित्दै आएका उनी यसपटक पनि संघमै प्रतिस्पर्धा गर्न चाहन्थे । सभापति देउवाले नै उनलाई मुख्यमन्त्री बनाउने गरी प्रदेशमा राजी गराएका थिए । उनी देउवा निकटतस्थसमेत हुन् ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ १४ सिट जितेर दोस्रो बनेको सत्ता गठबन्धनको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गर्न सक्ने देखिएको छ । मुख्यमन्त्री माओवादीबाट बन्ने अवस्था आए त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । शालिकराम जमरकट्टेल (धादिङ १, ख) सरलसहयात्री पौडेल (सिन्धुपाल्चोक १, ख) र युवराज दुलाल (सिन्धुपाल्चोक २, क) ले मुख्यमन्त्रीमा आकांक्षा राखेका छन् ।

प्रदेश सदस्यमा पुनः निर्वाचित जमरकट्टेल बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । उनी यो पटक धादिङ १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । यो क्षेत्र एकीकृत समाजवादीका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेको भागमा परेपछि जमरकट्टेल पुनः प्रदेशतर्फ उम्मेदवार बने । मुख्यमन्त्री बन्ने शर्तमा उनी प्रदेशमा दोहोरिएका हुन् ।

मुख्यमन्त्रीका अर्का आकांक्षी पौडेले माओवादी बागमती प्रदेश समितिका अध्यक्ष हुन् । प्रदेश सभा सदस्य निर्वाचित भएपछि उनले सञ्चारमाध्यममार्फत पार्टी संसदीय दलको नेतामा आफ्नो दाबी गरिसकेका छन् । ‘कुन प्रदेश र को मुख्यमन्त्री भन्ने गठबन्धनले प्याकेजमा टुंग्याउला । प्रदेश अध्यक्षको नाताले दलको नेतामा मेरो स्वभाविक दाबी रहन्छ,’ उनले भने । चुनावी प्रचारका क्रममा गठबन्धन र उनकै दलका उम्मेदवारले पौडेललाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।

प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका दुलाल पार्टीले अवसर पाउँदा मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन् । सार्वजनिक अभिव्यक्ति नदिए पनि उनले लबिङ थालिसकेका छन् । उनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री हुन् । दुलाल मन्त्री रहँदा सुरु गरेका एक विद्यालय एक नर्स, सामुदायिक विद्यालयलाई बस, प्रदेश नमुना विद्यालय कार्यक्रम, प्रदेश स्तरीय महाविद्यालय लगायत कार्यक्रमले उनी लोकप्रिय छन् । उनले सुरु गरेका कामबाट पार्टी नेतृत्वसमेत खुसी छ ।

जमरकट्टेल र दुलाल पार्टी पोलिट्व्यूरो सदस्य हुन् । मुख्यमन्त्रीको दौडमा रहेका यी तीनै नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् । पौडेल र दुलाल त उनका विश्वासशीला थोरै युवा नेतामध्येमा पर्छन् । पार्टी शान्ति प्रक्रियामा आएपछि लामो समय पौडेल र दुलालले अध्यक्ष दाहालको सुरक्षा युनिटमा रहेका काम गरेका थिए । यस्तोमा पार्टीले अवसर पाउँदा तीन नेताबाट मुख्यमन्त्री छान्न दाहाललाई निकै सकस पर्ने देखिन्छ ।

सत्ता गठबन्धकै एकीकृत समाजवादीले बागमती प्रदेशमा प्रत्यक्षतर्फ पाँच सिट जितेको छ । उसले समानुपातिकबाट केही सिट पाउने छ । समाजवादीबाट प्रदेशसभा सदस्य निर्वाचितमध्ये कृष्णप्रसाद शर्मा खनाल (चितवन १, ख) र बसन्तप्रसाद मानन्धर (काठमाडौँ ७, ख) प्रभावशाली नेतामा पर्छन् । उनीहरुमध्ये एक पार्टी संसदीय दलको नेता चुनिने देखिएको छ । समाजवादीबाट मुख्यमन्त्री बन्ने अवसर आए खनाल र मानन्धरमध्ये एकको सम्भावना रहन्छ । उनीहरु दुबै समाजवादीका पोलिट्व्यूरो सदस्य हुन् ।

बागमतीको दोस्रो ठूलो दल एमालेले प्रदेश सभा सदस्य निर्वाचितमध्ये प्रभावशाली नेता जगनाथ खतिवडालाई संसदीय दलको नेता बनाउने देखिएको छ । उनी चितवन १, (क) बाट निर्वाचित भएका हुन् । यस्तोमा एमालेले सरकार बनाउने अवस्था आए उनी मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

साभार : नागिरकन्यूज डटकम


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!