बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिफेरि पनि मेरो आवश्यकता छ – शेरबहादुर तामाङ

फेरि पनि मेरो आवश्यकता छ – शेरबहादुर तामाङ


शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार बनेका छन् । उनी लगालग यो चुनावसमेत जितेर ह्याट्रिक गर्ने दाउमा छन् । तर उनको दाउमा चुनौती दिन आइपुगेका छन्, कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत । क्षे नंं २ मा चुुनाव लड्न आइपुगेका बस्नेत उनको ह्याट्रिक जित रोकेर आफू तेस्रो पटक संसद छिर्ने रणनीतिमा छन् ।

आगामी निर्वाचनको सन्दर्भमा एमाले उम्मेदवार तामाङको चुनावी माहोल, चुनावी एजेन्डा र उनको निर्वाचन क्षेत्र केन्द्रीत भएर पत्रकार युवराज पुरीले गरेको अन्तर्वार्ताको सार यहाँ प्रस्तुत गरिएको छ :

फेरि चुनावी मैदानमा हुनुहुन्छ, मतदाताको बीचमा के एजेन्डा लिएर अघि बढ्नु भएको छ ?

कतिपय कुराहरु हाम्रो पार्टीको घोषणापत्रले पनि स्पष्ट पारिसकेको छ । राष्ट्रिय राजनीतिको विषयमा पार्टीको घोषणापत्रअनुरुप नै हुने भएकाले मैले त्यही कुरालाई नै जोड दिएको छु । बाँकी स्थानीय विषयहरुलाई समेटेर मैले आफ्नो योजना बनाएको छु । विशेषगरी बिगतमा गर्दै आएका कामलाई पूर्णता दिने र स्थानीय स्तरमा पूर्वाधार तथा आमनागरिकको जीवनस्तर उठाउने विषयलाई नै लिएर म मतदातासामु आएको छु ।

जिल्लाको सन्दर्भमा यहाँले कस्ता मुद्धालाईबढी प्राथमिकता दिनु भएको छ ?

सिन्धुपाल्चोकको सन्दर्भमा विशेषगरी आर्थिक विकास, भौतिक विकास र पूर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा पर्छ । दोस्रो एजेन्डाको रुपमा नेपाली जनतालाई निशुल्क उर्जा वितरण मेरो प्राथमिकतामा पर्छ । पार्टीले ५० प्रतिशतसम्म बिजुली निशुल्क वितरण गर्ने केन्द्रीय घोषणा पत्रमा राखेको छ तर म शतप्रतिशत बिजुली जनतालाई निशुल्क वितरण गर्नुपर्छ भन्ने मान्यता राख्छु । तस्रो एजेन्डाको रुपमा मैले जनताको स्वास्थ्यलाई जोडेको छु । बिमालाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ र जनतालाई निशुल्क उपचार गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

स्वास्थ्य बिमा त यस अघि पनि सुरु भइसकेको छ हैन र ?

हामीले स्वास्थ्यमा सुधार, निशुल्क जनताको उपचार भन्ने नारा अघि सारेका छौं । अहिलेको स्वास्थ्य बिमामा निश्चित सीमा छन् । हामीले सबै रोगमा जनताले निशुल्क उपचार पाउनेगरी स्वास्थ्य बिमाको नयाँ परिभाषा गरेर जनताको स्वास्थ्य बिमालाई व्यवस्थित गर्ने योजना ल्याएका छौं । त्यसैगरी किसानलाई पेन्सनको अवधारणा हामीले अघि सारेका छौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषभित्र किसानको योगदानलाई समावेश गराएर किसानलाई पनि पेन्सन दिने नीति हाम्रो प्राथमिकतामा छ ।

यहाँले विगतदेखि उठाउनु भएको गाँजाखेतीको विषय यस पटकको एजेन्डाको रुपमा छ कि छैन ?

मैले आफ्नो पाँचौं एजेन्डाको रुपमा गाँजालाई वैधानिकीकरण गरौं र कृषिमा क्रान्ति गरौं भन्ने योजना अघि सारेको छु । यसले रोजगारीमा वृद्धि पनि हुनेछ । गाँजाको वैधानिकीकरणपछि किसानले उत्पादन बढाउने छन् । श्रम बेच्न वैदेशिक रोजगारीमा जानुपर्ने छैन । आफ्नै ठाउँमा बसेर १०–२० लाख रुपैयाँ कमाउन गाह्रो छैन । यसैले मैले यसलाई आफ्नो एजेन्डाको रुपमा जोडदार रुपमा उठाउँदै आएको छु ।

अरु के एजेन्डा छन्, जसले तपाईंलाई ग्रामीण मतदाताले मत दिनुपर्ने छ ?

मैले लोकल रक्सी लगायत हाम्रा परम्परागत उत्पादनलाई ब्राण्डिङ गरेर विदेशमा निर्यात गर्ने योजना बनाएको छु । साथै कस्तुरी पालन, हिमालमा रोजगारी भन्ने नारा बनाएको छु । यसले हिमाली क्षेत्रमा नयाँ रोजगारीको सुरुवात हुनेछ । रक्तचन्दन खेतीलाई पनि मैले आफ्नो मुद्धाको रुपमा उठाएको छु । फ्रुट फरेष्ट अवधारणाअनुरुप जंगलमा फलफूल खेती पनि मेरो एजेन्डा छ ।

तपाईं दोहो¥याएर संघीय सांसद बन्ने दौडमा हुनुहुन्छ, तपाईं नै सांसद हुनुपर्ने किन ?

संघीय सांसद किन भन्दा, त्यो नीति बनाउने ठाउँ हो । मैले उठाएका एजेन्डाहरुलाई कानुनको रुप दिएर कानुनी वैधानिकता दिनका लागि पनि मेरो उम्मेदवारी हो ।

तपाईंले यसअघि दुई पटक जितेर यस पटक ह्याट्रिक गर्ने सोचमा हुनुहुन्छ, जनताले यसअघि जितेर के गरेकाले फेरि भोट दिने भने के भन्नुहुन्छ ?

पहिलो पटक जित्दा संविधान बनाउने कुरामै मेरो जोड रह्यो । किनभने म संविधानसभाको सदस्य संविधान बनाउनै मेरो मूख्य भूमिका रह्यो । त्यसमा मैले संविधान लेखन समितिमा रहेरै काम गरेको हो । त्यतिबैलै पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुपाल्चोकमा ल्याउन हामी सफल भयौं । त्यतिबेला नै यस क्षेत्रका बाटोघाटो बनाउने काम भयो । सिन्धुपाल्चोकमा शतप्रतिशत खानेपानी योजना बनाउने भनेर ठुल्ठूला खानेपानी योजनाका काम सुरु ग¥यौं । काठेपोलमुक्त बनाउँछौं भन्ने योजना थियो, अब एक–दुई प्रतिशत बाँकी होला अरु सबै विद्युतीकरणको काम सकेका छौं ।

उत्पादनलाई अघि बढाउन सहकारीको अवधारण अघि बढाएको थिएँ , त्यसको पनि विकास भएको छ । दोस्रो पटक निर्वाचित भएपछि चार महिना १० दिन कानुनमन्त्रीको जिम्मेवारीमा छँदा ५२ वटा नयाँ कानुन बन्यो र सयौं कानुन संशोधनको जिम्मेवारी पुरा गरें । नीति बनाउने कुरामा मेरो महत्वपूर्ण भूमिका रह्यो । पछि म स्वास्थ्यमन्त्री पनि भएँ, त्यसबेला कोभिडको भ्याक्सिन ल्याउने बेलामा मेरो महत्वपूर्ण भूमिकम रह्यो । धेरै महत्वपूर्ण सम्झौतामा मैले हस्ताक्षर गरें । स्वास्थ्यमन्त्री म जम्मा १९ दिन भएँ, त्यो अवधिमा मैले जनताको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण काम गर्ने अवसर पाएँ । एकपालिका एकव्यवस्थित स्वास्थ्य संस्था निर्माणको क्रममा जिल्लाको विभिन्न पालिकामा स्वास्थ्य संस्था निर्माण भइरहेको छ ।

मेरा प्रतिस्पर्धीले १०–२० लाख हालेन भनेर खुद्रे कुरा गरेर हिंडेका छन् । संसद विकास कोष हुँदा त्यो पनि गरेको हो । कोष काटेपछि त्यो गर्न सकिएको छैन । नीति निर्माणको हिसाबमा एक जना सांसदले निर्वाह गर्नुपर्ने सबै काम गरेको छु । पूर्वाधार निर्माणको काम पनि धेरै भएको छ । सुनकोसी जलाधार योजनाको अवधारणा लिएर अएको छु, यसले सिन्धुपाल्चोक समृद्धिको ढोका खुल्नेछ भन्ने लागेको छ । त्यसैले यस क्षेत्रमा फेरि पनि मेरो आवश्यकता छ ।


क्याटेगोरी : राजनीति, विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!