बुधबार, असोज १९, २०७९
गृहपृष्ठराजनीतिगठबन्धन भए सिन्धु क्षेत्र नम्बर १ मा अग्नि या मोहन कसले पाउँला टिकट ?

गठबन्धन भए सिन्धु क्षेत्र नम्बर १ मा अग्नि या मोहन कसले पाउँला टिकट ?


चौतारा । सरकारले मंसिर ४ गते संघीय र प्रदेश निर्वाचनको मिति तय गरिसकेको छ । पाँच दलीय गठबन्धनबीच मंसिर ४ को निर्वाचनमा पनि सहकार्य गरेर जाने भन्ने सहमति भइसकेको छ । काठमाडौँमा नेताहरू सिट बाँडफाँडमा लागिसकेका छन् । सोमबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले एक सय सिट आफूहरूलाई राखेर बाँकी सिटमा बाँडफाँड गर्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सिट बाँडफाँडको पाँच दलीय कार्यदलको संयोजकमा कांग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौला तोकिएका छन् । चुनावको अन्तिममा सिट बाँडफाँड गर्दा कार्यकर्ता मनाउन असहज हुने भएकाले निर्वाचन आउने एक महिना अगावै भागबण्डा गरिसक्ने पाँच दलीय गठबन्धनको सोच रहेको छ ।

चुनावी सरगर्मी बढिरहँदा गठबन्धन भयो भने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा कसले टिकट पाउँछ भन्ने चर्चा सुरु भएको छ । गठबन्धन दलको सहमति अनुसार यसअघि निर्वाचित भएकाहरूका ठाउँमा सोही दलको पार्टीका व्यक्तिले टिकट पाउने सहमति भएको छ । स्थानीय निर्वाचनमा पनि दलहरूबीच यही सहमति अनुसार टिकट बाँडफाँड भएको थियो । त्यसो हो भने केन्द्रीय राजनीतिमा पकड राख्ने कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत र माओवादी केन्द्रका नेता तथा अहिलेका सभामुख अग्नि सापकोटाबीच ठूलै रस्साकस्सी पर्ने देखिन्छ ।

स्थानीय निर्वाचनमा जस्तो जिल्ला र प्रदेशबाट टिकट दिने व्यवस्था नहुँदा केन्द्रबाट नै टिकट बाँडफाँड हुने देखिन्छ । जितेको आधारलाई मान्ने हो भन्ने यस पटक पुनः अग्निले नै टिकट पाउने सम्भावना प्रबल छ । त्यसमाथि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विषेश पात्रका रुपमा अग्निलाई चिनिन्छ । त्यसैले पनि दाहालले अग्निलाई टिकट दिलाउन सकेजति पहल गर्नेछन् । उसैपनि आफ्नो पकड क्षेत्र नम्बर १ मा रहेको माओवादीको पनि दाबी रहेको छ । माओवादी केन्द्रीय सदस्य माधव सापकोटाले त गठबन्धन नभएपनि एक्लै जितेर कांग्रेसलाई देखाइदिने भाषण गर्दै आएका छन् । मतदाताकै संख्या हेर्ने हो भने पनि माओवादी केन्द्रको पनि क्षेत्र नम्बर २ मा भन्दा १ मै बलियो पकड देखिन्छ ।

यता, कांग्रेस नेता मोहन बस्नेत गठबन्धन गरेर जान नहुने धारणा राख्छन् । उनी पार्टी सभापति शेरबहादुर निकट मानिएपनि गठबन्धनका सवालमा भने उनी शेरबहादुर निकट छैनन् । उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा गठबन्धन नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् । गत असार २७ देखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले आफ्ना धारणा राख्दै गठबन्धन भएमा विद्रोह गर्ने चेतावनी दिएका थिए । बस्नेतकै कारण स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा चुनावी तालमेल हुन सकेन । फलस्वरुप केही स्थानमा कांग्रेसले आफ्नो पकड गुमायो भने केहीमा जित हासिल पनि गर्यो । तर यो संघीय र प्रदेश निर्वाचनमा केन्द्रबाटै सिट बाँडफाँड गर्ने हुँदा स्थानीय तह निर्वाचनजस्तो सहज छैन् ।

स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने सिन्धुपाल्चोकका दुवै क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । १०३ वडा र १२ स्थानीय तहमा कांग्रेसले धेरैमा जित निकालेको छ । १२ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा कांग्रेसले प्रमुख उपप्रमुख जितेको छ भने, दुई वटामा उपप्रम्ख जितेको छ । त्यसमाथि पनि क्षेत्र नम्बर १ मा कांग्रेसको बलियो पकड मानिन्छ । ७ वटा स्थानीय तह रहेको क्षेत्र नम्बर १ मा तीन वटा पालिकामा कांग्रेसले प्रमुख उपप्रमुख जितेको छ भने दुई वटामा उपप्रमुख जितेको छ । वडागत रुपमा बहुवडा कांग्रेसकै पकडमा छ । यसरी हेर्दा कांग्रेसले एकल चुनाव लडेपनि क्षेत्र नम्बर १ मा जित निकाल्ने निश्चित छ । यस्तो अवस्थामा भागबण्डाकै लागि नेता बस्नेतले आफ्नो क्षेत्र सहजै छाड्न सक्ने देखिन्न ।

के गर्लान् त ?
कुनै पनि पार्टीमा बसेपछि उक्त पार्टीले गरेका निर्णय मान्नै पर्ने हुन्छ । अग्नि या बस्नेत दुवैले अन्तिममा पार्टी निर्णय मान्नै पर्दछ । कि पार्टी नै परित्याग गर्ने कि पार्टी निर्णय मान्नुको विकल्प उनीहरूसँग रहन्छ । यदि दुवै नेताहरू संसदमा जाने हो भने क्षेत्र नम्बर १ र २ भागबण्डा गरेर जान सक्छन् । तर त्यसो गर्दा पनि अग्निलाई भने गाह्रो देखिन्छ । क्षेत्र नम्बर १ जति २ मा माओवादी पकड त्यति बलियो छैन् । कांग्रेस आफै बलियो भएको ठाउँमा निसर्त माओवादीलाई सहयोग गर्ला भन्ने सोच्न सकिन्न । त्यसो हुँदा बस्नेता जालान् त ? त्यो सम्भावना पनि छ । पछिल्लो समय कांग्रेसको क्षेत्र नम्बर २ मा पनि राम्रो पकड छ । पकड भएरपनि राम्रो नेता नहुँदा कांग्रेसीहरू तितरवितर देखिन्छन् । यदि बस्नेतले २ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने भए भने उनलाई कांग्रेसी नेताहरू मिलाउने चुनौती भने रहन्छ । धेरै नेताहरू भएकाले क्षेत्र नम्बर दुईमा विभिन्न गुटको प्रभाव छ । यदि त्यसलाई मिलाउने हो भने र माओवादीेले विनाशर्त सहयोग गरे उनको जित निश्चित छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!