सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतिनयाँ मतदाताले मत हाल्न नपाएपछि सिन्धुकोटमा विवाद, प्रहरीले गर्‍यो हवाइ फायर

नयाँ मतदाताले मत हाल्न नपाएपछि सिन्धुकोटमा विवाद, प्रहरीले गर्‍यो हवाइ फायर


मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५ सिन्धुकोटमा मतदाताले मत हाल्न नपाएपछि भएको विवाद नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ ।

काठमाडौँबाट आज मत हाल्न आएका नयाँ मतदाताले मतदाता परिचयपत्र वितरण नगरेको र नागरिकताको फोटोकपीबाट मत दिन आग्रह गरेपछि भएको विवाद रोक्न प्रहरीले हवाइ फायर गरेको हो ।

सिन्धुकोटका स्थानीय सन्तोष सिग्देलले प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको जानकारी दिए । प्रहरीले भने एक राउण्ड मात्रै हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीले हवाइ फायर गरेपछि त्यहाँको अवस्था तनावपूर्ण भएको छ ।

३० जना जति नयाँ मतदाताको मतदाता परिचयपत्र विरतण गर्न नमानेपछि उनीहरु मत दिनबाट वञ्चित हुने भएपछि विवाद भएको थियो । उनीहरुले परिचय पत्र वितरण गरेर मत दिन आग्रह गरेपनि मतदान अधिकृत राजेन्द्र श्रेष्ठले मानेका छैनन् । उनीहरुले सर्वदलीय बैठक बसेर मत दिन दिने कि नदिने निर्णय गर्न दबाब दिएपनि मतदान अधिकृत श्रेष्ठले बैठक गर्न मानेका छैनन् ।

निर्वाचन आयोगले वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गर्ने बताएको थियो ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!