बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिशाक्य संकटमाः को बन्ला वाग्मति प्रदेशको मुख्यमन्त्री ?

शाक्य संकटमाः को बन्ला वाग्मति प्रदेशको मुख्यमन्त्री ?


हेटौंडा । नेकपा (एमाले) विभाजन भएपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ । जिम्मेवारी सम्हाले कै दिनबाट अल्पमतमा परेकी शाक्यले विश्वासको मत र सरकारको निरन्तरता बारे छलफल गर्न प्रदेश सभाको बैठक आज विहिवार बोलाइएको छ । शाक्यले भने एक साताअघि नै विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव दर्ता गरिसकेकी छन् ।

शाक्यले वाग्मति प्रदेश सभामा विश्वासको मत पाउने निश्चित् नभएपनि अहिलेसम्म नयाँ मुख्यमन्त्री कुन पार्टीको हुने भन्ने यकिन भएको छैन । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री बन्नुपर्ने अडान छाडेका छैनन् भने नेपाली कांग्रेसको संसदीय दलका नेता इन्द्र बानियाँ अहिलेसम्म संसद भित्रको समिकरणमा बलियो दाबेदार देखिएका छन् ।


यसअघि संघीय सरकारले पूर्णता पाएसँगै कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएको चर्चा चलेको थियो । सत्तारूढ गठबन्धन बीच बागमतीमा एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिने सहमति भएको अड्कल गरिएको थियो ।

त्यसै अनुरुप, एकीकृत समाजवादीका नेता पाण्डेले सरकार गठनका लागि तयारी थालेका थिए । तर अहिले दुबै नेताको दौडधुप वढेको छ । सांसद बानियाँ मुख्यमन्त्रीको दौडबाट बाहिरिएका होइनन्, बलियो बन्दै छन्, नेपाली कांग्रेसका नेताहरुको दावी छ ।

कांग्रेस संसदीय दलका नेता बानियाँले यसबारे पार्टीको आधिकारिक निर्णय नगरेको तर आफू मुख्यमन्त्रीको प्रवल दावेदार रहेको सिन्धुखवरलाई बताए ।

व्यक्तिगत रूपमा मैले भन्नुभन्दा पनि पार्टीको आधिकारिक धारणा÷निर्णय आउन बाँकी छ । पार्टीले केही नयाँ निर्णय गर्नेछ र म औपचारीक रुपमा दावेदारी पेश गर्छु, बानियाँले भने ।

नेपाली कांग्रेसले साथ नदिने निश्चित् भएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि नयां समिकरणका लागि खासै तयारी गरेको छैन । एकीकृत समाजवादीले केन्द्रको गठबन्धनलाई जिवित राखेरपाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको तर अहिले गठबन्धनबाट धोकाभएको एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेश सांसद मुनु सिग्देलले सिन्धुखवरलाई बताईन ।

मुख्यमन्त्री शाक्यले २४ असोजमा प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेकी थिइन् । ४ कात्तिकमा बस्ने गरी बैठक स्थगित भएपछि विश्वासको प्रस्तावमाथि छलफल हुन सकेको थिएन ।

तर यो बीचमा नयां मुख्य मन्त्री को बन्ने भन्ने निश्चित् नभएपछि मुख्यमन्त्री शाक्यले खासै दौडधुप नगरेको र विश्वासको मत पाउन अन्य दलसँग छलफल पनि नगरेको देखिन्छ ।

मुख्यमन्त्री शाक्यले विभिन्न पार्टीका नेताहरूले विगतमा दिएको वचन कै भरमा आफू थप ठोस पहलका लागि नजुटेको र अहिलेको सरकारको निरन्तरता निश्चित् देखिएको बताएकी छन् ।

शाक्य एमाले भित्रको संकट उत्कर्षमा पुगेको बेला, २ भदौमा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी हुन् । एमाले विभाजन भएर १३ सांसदले एकीकृत समाजवादी रोजेपछि अहिले शाक्य अल्पमतमा परेकी छन् ।

यस्तो छ प्रदेश सभाको अंक गणित


वाग्मति प्रदेश सभामा एक जना सांसदको निधन भएकाले ११० सदस्यीय प्रदेश सभामा अहिले १०९ जना सांसद छन् । बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । अहिले एमालेका ४३, कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र) का २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।

प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची छ । मुख्यमन्त्री शाक्यले २४ असोजमा बसेको प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । आज मुख्यमन्त्रीको प्रस्तावमाथि बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले सिन्धुखवरलाई जानकारी दिए । उनका अनुसार, प्रदेश सभाको बैठकमा आज हुने विश्वासको मतका लागि सत्तापक्ष र विपक्षका सांसदले मतदान गर्न छुट्टाछुट्टै कोठाको व्यवस्था गरिसकिएको छ ।

बैठक सार्न एमालेको पत्र


शाक्य नेतृत्वको सरकारको विकल्प तयार नभईसकेको अवस्थामा नेकपा एमालले आज बोलाइएको प्रदेश सभाको बैठक सार्न प्रदेश सभा सचिवालयलाई आग्रह गरेको छ । बुधबार अवेर पत्र पठाउँदै एमालले कार्तिक ११ गते सम्म बैठक सार्न आग्रह गरेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले सिन्धुखवरलाई जानकारी दिए । यो साता एमालेको महाधिवेशन तालिका अनुसार स्थानीय अधिवेशन हुने भएकाले प्रदेश सभा सदस्यहरू बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै एमालेका प्रमुख सचेतक दीपक निरौलाले प्रदेश सभा बैठक सार्न प्रस्ताव गरेका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!