आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीति‘हिन्दुराज्य र राजसंस्था कायम गर्न आन्दोलनको विकल्प छैन’–राणा

‘हिन्दुराज्य र राजसंस्था कायम गर्न आन्दोलनको विकल्प छैन’–राणा


मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले नेपालमा हिन्दुराज्य र राजसंस्था कायम गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । शुक्रबार पार्टीको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ को प्रदेश क र ख तथा क्षेत्रीय अधिवेशनमा सहभागी भएका राणाले हिन्दुराज्य र राजसंस्था निर्माणका लागि तुरुन्तै सडक आन्दोलनमा होमिने बताएका हुन् ।

‘हाम्रो पार्टीको महाधिवेशन पहिलो प्राथमिकतामा छ,’ सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले भने, ‘त्यसपछि हामी सडक आन्दोलनमा होमिनुपर्छ ।’ उनले हिन्दुराज्य र राजसंस्था नभएसम्म भ्रष्टाचार नरोकिने तर्क दिदैं आन्दोलनका लागि सबै कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिए ।

‘भ्रष्टाचार केन्द्रमा मात्रै सिमित रहेन,’ अध्यक्ष राणाले भने –‘प्रदेश सरकार हुँदै स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको छ ।’ यसको विरुद्धमा राप्रपा सडक आन्दोलनमा जाने राणाले बताए ।

९४ प्रतिशतभन्दा धेरै सनातन धर्म मान्ने मान्छे भएको मुलुक धर्मनिरपेक्ष हुन नसक्ने भन्दै नेपालीलाई हिन्दुराज्य घोषणा गरिनुपर्ने उनले बताए । दलबाट चुनिएको प्रतिनिधि राष्ट्रप्रमुख हुन नसक्ने भएकोले पुरानै राजसंस्था फर्काउन समेत आन्दोलनको जरुरी रहेको राणाले बताए ।

आजको अधिवेशनले पार्टीको तीन तहको कार्यसमिति चयन गर्नेछ भने असोज २० गतेसम्म जिल्ला अधिवेशन समेत सम्पन्न गर्ने पार्टीको कार्यक्रम रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!