आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिको होला चौतारामा कांग्रेसको नगर सभापति ?

को होला चौतारामा कांग्रेसको नगर सभापति ?


चौतारा । नेपाली कांग्रेसको वडा अधिवेशन सकिएपछि अब हुने गाउँ तथा नगर अधिवेशनको चर्चा छ । विभिन्न गाउँ तथा नगरपालिकाको नेतृत्वका लागि धेरै आकांक्षीहरु देखापरेका छन् ।
कांग्रेसको १४ औं नगर अधिवेशनका लागि चौतारा साँगाचोकगढी नगरपालिकामा पनि चार जना आकांक्षी छन् । जिल्ला सदरमुकामसमेत पर्ने यो नगरपालिकालाई अन्य स्थानीय तहको भन्दा विशेष रुपमा पनि हेरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा इन्द्रलोचन धिताल, प्रेमकुमार दंगाल, हरिचन्द्र कुवँर र भगवान खड्काले नगर सभापतिका लागि दावी गरेका छन् ।
स्थानीय तहमा वडाअध्यक्ष तथा साविक गाविस हुँदा अध्यक्ष उठेकाहरु यो नगरमा सभापतिका लागि दौडमा छन् । विद्यार्थी राजनीति गरेका अनि जिल्ला कार्य समिति सदस्यहरु पनि नगर सभापतिको दौडमा रहेकाले यो नगरमा कस्ले मार्ला बाजी भन्ने विषयलाई चासोका रुपमा हेरिएको छ ।
अहिले मैदानमा देखिएका सानोसिरुवारीका इन्द्रलोचन धिताल २०४८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०५४ मा तरुण दलको जिल्ला सदस्य बनेका उनी त्यतिबेलाको गाविस अध्यक्षका उम्मेद्वार हुन् ।
जिल्ला सदस्यसमेत भइसकेका धिताल २०६२÷६३ मा भएको आन्दोलनमा नेपाली कांग्रेसबाट अगुवाई गरेका थिए । १३ औं महाधिवेशनमा नगर सभापतिमा पराजय भोगेका इन्द्रलोचन फेरि सभापतिकै दौडमा उभिएका छन् ।
त्यस्तै इर्खुका प्रेमकुमार दंगाल पनि बलिया आकांक्षी हुन् । २०६४ सालबाट सक्रिय राजनीति सुरु गरेका दंगाल युवाहरुका लोकप्रिय पात्र हुन् । १२ औं अधिवेशनमा क्षेत्रीय सदस्य बनेका प्रेम १३ औं अधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित बनेका थिए ।
इन्द्रलोचन र प्रेमसँगै नगर सभापतिमा पीपलडाँडाका हरिचन्द्र कुवँरको पनि दावी रहेको छ । कुवँर गएको स्थानीय तहको निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ६ मा अध्यक्षका उम्मेद्वार हुन् ।
यो नगरमा सभापतिका लागि इर्खुकै भगवान खड्काले पनि आकांक्षा व्यक्त गरेका छन् । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका खड्का २०६३ सालमा नेपाल विद्यार्थीै संघका जिल्ला सदस्यमा निर्वाचित भएका थिए । पाटन क्याम्पसका इकाइ सहसचिव बनेका भगवान सोही क्याम्पसमा स्ववियूका सदस्य पदका प्रत्यासीसमेत हुन् । खड्काले साविक इर्खु गाविसको तरुण दलको जिम्मेवारीसमेत लिइसकेका छन् ।
आकांक्षा व्यक्त गरेका सबै जनाको उम्मेद्वारी भएर निर्वाचन प्रक्रियामा गए सभापति पद कस्को पोल्टामा पर्छ भन्ने अझै एकिन गर्न सक्ने अवस्था छैन ।
गएको असोज ५ गते सिन्धुपाल्चोकका वडाहरुमा अधिवेशन भएको थियो । प्राविधिक कारणवश केही वडामा अधिवेशन अझै हुन सकेको छैन । ती वडामा अधिवेशन सकिन बाँकी रहेकाले पूर्व तालिकाअनुसार नगर र गाउँपालिकाको अधिवेशन पनि सिन्धुपाल्चोकमा हुन सकेको छैन ।


क्याटेगोरी : राजनीति, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!