शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिइन्द्रावतीमा सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने

इन्द्रावतीमा सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने


नवलपुर । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकामा सभापतिका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । यो साता हुने १४ औं अधिवेशनका लागि तीन जनाले दाबेदारी प्रस्तुत गरेसँगै समीकरण रोचकसमेत बनेको छ ।
इन्द्रावती गाउँपालिकाको सभापति पदका लागि नवराज भट्टराई, केशव श्रोष्ठ र बुद्धिप्रसाद भट्टराई आकांक्षी देखिएका छन् । तीनै जना कांग्रेस राजनीतिमा लामो समयदेखि क्रियाशील छन् ।
तीनै जनाको उम्मेद्वारी भएर निर्वाचन प्रक्रियामा गए सभापति पद कस्को पोल्टामा पर्छ भन्ने अझै एकिन गर्न सक्ने अवस्था छैन ।
उम्मेवारी दाबी गरेका भट्टराई हालका क्षेत्रीय सभापति हुन् । विद्यार्थी राजनीतिदेखि सक्रिय उनी २०५० सालमा भक्तपुरस्थित बालकोट क्याम्पसका इकाई सभापति भए । २०५८ सालदेखि नेपाल तरुण दलमा सक्रिय भएर राजनीति गरेका उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ का उपसभापतिसमेत बनेका हुन् ।
भट्टराई राजनीतिका अलावा व्यवसायी, समाजसेवी र खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य रहेका उनी जिल्लामा हुने विभिन्न खेलकुद गतिविधिमा संलग्न छन् । ‘लामो समयदेखि राजनीति गरेकाले इन्द्रावतीको सभापतिका लागि योग्य देखेर दाबेदारी प्रस्ुतत गरेको हुँ,’ उनले सिन्धुखबरसँग भने ।
उता अर्का आकांक्षी केशव श्रोष्ठ पनि इन्द्रावतीका लागि बलिया उम्मेद्वार हुन् । २० बर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका उनी हालका जिल्ला कार्यसमिति सदस्य हुन् । ‘राजनीतिमा धेरै त्याग गरिसकें, अब भने कांग्रेसलाई निकै नै बलियो बनाउन सक्ने आफैमा विश्वास भएकाले उम्मेद्वार हुन लागेको हुँ ।’ उनले भने ।
भट्टराई र केशवसँगै बुद्धिप्रसाद भट्टराई पनि सभापतिको दौडमा छन् । लामो समय कांग्रेसका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाइरहेका बुद्धिप्रसादले यो पटक पालिका सभापति आफू हुनुपर्नेमा दाबी राखेका छन् ।
गएको असोज ५ गते सिन्धुपाल्चोकका वडाहरुमा अधिवेशन भएको थियो । प्राविधिक कारणवश केही वडामा अधिवेशन अझै हुन सकेको छैन । ती वडामा अधिवेशन सकिन बाँकी रहेकाले पूर्व तालिकाअनुसार नगर र गाउँपालिकाको अधिवेशन असोज ९ मा नहुने भएको हो ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!