आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिचितवन र हेटौंडालाई जोडेर देशकै राजधानी बनाउन मुख्यमन्त्री शाक्यको प्रस्ताव

चितवन र हेटौंडालाई जोडेर देशकै राजधानी बनाउन मुख्यमन्त्री शाक्यको प्रस्ताव


चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदीय अंक गणितका कारण आफू अल्पमतमा परेको भएपनि दिनगन्ती गनेर चुपचाप नबस्ने बताएकी छन् ।

मंगलवार जिल्ला समन्वय समिति चितवनले गरेको पाँचौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेको स्विकार्दै जनताको पक्षमा काम गर्ने समय दिनगन्ती गरेर नविताउने प्रष्ट पारेकी हुन् ।

‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, तर हामी दिनगन्ती गरेर बस्दैनौँ र बसेका छैनौँ’, उनले भनिन्, ‘प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका छौँ । प्रदेश सरकार अहिले पनि समाजवादको लक्ष्य प्राप्तीका लागि गर्नुपर्ने तयारीमा लागि रहेको शाक्यको जिकिर छ ।

सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उनले बताइन् । उनले भनिन्, ‘जे जति समय पाउँछौँ, अलिकति पनि खेर फाल्दैनौँ ।

जति समय छ, त्यति बेलासम्म काम गर्छाैँ । नेकपा एमालेबाट नेकपा एकिकृत समाजवादी नामको पार्टी गठन भएपछि एमाले नेतृ शाक्य नेतृत्वको सरकार प्रदेश सभामा अल्पमतमा परिसकेको छ ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले चितवन र हेटौंडालाई देशकै राजधानी बनाउनु पर्ने उल्लेख गर्दै, हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र हेटौंडालाई नै देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन् ।

उनले काठमाडौंँलाई प्रदेशको राजधानी बनाएर सबैलाई पाएक पर्ने चितवन र हेटौंडालाई देशको राजधानी बनाउनुपर्ने धारणा राखेकी छन् । ‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्लाको बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाउँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानीको रुपमा किन विकास नगर्ने ?’–मुख्यमन्त्री शाक्यको प्रश्न छ ।

यो विषयलाई अब छलफलको रुपमा चलाउन जरुरी रहेको भन्दै मुख्यमन्त्री शाक्यले चितवन र हेटौंडामा विदेशमा हुने उपचारको सुविधाको विकास गर्न सबै लाग्नुपर्ने समेत बताएकी छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिनेहरुलाई जिससले सम्मान गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!