शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिजनप्रतिनिधि २९ भदौसम्म नेपालको पार्टीमा जान पाइने, को जाला सिन्धुपाल्चोकबाट ?

जनप्रतिनिधि २९ भदौसम्म नेपालको पार्टीमा जान पाइने, को जाला सिन्धुपाल्चोकबाट ?


चौतारा । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्।
निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई दर्ता गरेको गरेको छ । नेपाल अध्यक्ष रहेको पार्टी दर्ताका लागि सनाखत गर्न राष्ट्रिय सभाका सदस्य सिंहबहादुर विश्वकर्मासमेत आयोग पुगेका थिए । लिसंखुपाखर गाउँपालिका ७ का विश्वकर्मा तत्कालीन नेकपाबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

दल दर्ता भएसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेशले नयाँ दल गठन भएको २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेको छ ।
नेकपा एमाले फुट्ने क्रम चलिरहँदा नेपालको पक्षमा नखुलेका सिन्धुपाल्चोकका जनप्रतिनिधिले अब दल दर्ता भइसकेपछि के गर्लान् भन्ने राजनीतिक चासोका विषयमा हेरिएको छ ।
’नयाँ दल गठन भएको २१ दिनभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारी समक्ष स्वयं उपस्थित भई सनाखत गर्नुपर्नेछ’, राजनीतिक दलसम्बन्धी ऐनको नियमावलीमा भनिएको छ, ’सनाखत गरिएको विवरण सम्बन्धित निर्वाचन कार्यालयले ७ दिनभित्र आयोगमा पठाउनुपर्नेछ।’
राजनीतिक दलसम्बन्धी ऐनअनुसार २१ दिनभित्र माधव नेपालको पार्टीमा जाने प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधिलाई दल त्याग अनुसार कारबाही हुने छैन। त्यसपछि पार्टी छाड्नेको हकमा पार्टीले कारबाही गर्न पाउनेछ ।
एमालेमै रहने कि नेपाल नेतृत्वको नयाँ पार्टीमा जाने भन्ने विकल्प खुला भएपछि विभिन्न प्रदेशमा प्रदेश सभा सदस्यहरू को–कता जान्छन् भन्ने चासो बढेको छ। माधवकुमार नेपाल पक्षका सांसदहरूलाई एमालेमै राख्न प्रयास भइरहेका छन् ।

सिन्धुपाल्चोकमा यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग एकै ठाउँमा हुँदा सिन्धुपाल्चोकमा नेकपा एमालेबाट विजयी बनेका जनप्रतिनिधिहरु नेपाल–दाहाल पक्षमा ९० प्रतिशतको हाराहारीमा थिए । त्यतिबेला ओली पक्षधर जनप्रतिनिधिहरु नगण्य देखिए ।
खुलेरै आएका जनप्रतिनिधिहरुमा त्यतिबेला ओली पक्षमा प्रदेश साँसद सरेश नेपाल, जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटा, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तानसहित तीन वडाअध्यक्ष मात्रै ओली पक्षधर थिए ।
अनि, प्रदेश साँसद अरुण नेपाल माधव पक्षमा थिए । उनीलगायत जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्चीका मेयर डम्बर अर्याल, बाह्रविसेका मेयर निमफुञ्जो शेर्पा, बलेफीका अध्यक्ष केदार क्षत्री, लिसंखुपाखरका अध्यक्ष कमल नेपाल, त्रिपुराका भूपेन्द्र श्रेष्ठ, पाँचपोखरीका टासी लामा पनि नेपाल खेमामै रहेको देखिएको थियो । एमालेले जितेको सात वटा स्थानीय तह मध्ये ६ वटाका प्रमुख माधव पक्षमा त्यतिबेला देखिएका थिए । भने दुई वटा छाडेर ६ उपप्रमुख पनि नेपालकै खेमामा देखिएका थिए ।
तर, अहिले त्यसको ठिक विपरित देखिएको छ । माधव नेपालले आधिकारिक रुपमा दल दर्ता गरिसक्दासमेत जनप्रतिनिधिहरु मौन देखिएक हुन् । हुन त अझै आजको मितिले २० दिन आफू कुन दलमा जाने भन्ने खुल्ने समयअवधि बाँकी नै छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेशले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था जनप्रतिनिधिलाई दिएको छ । प्रदेशका साँसद, स्थानीय तहका जनप्रतिनिधिले अध्यादेश अनुसार निर्माण भएका पार्टी रोज्न पाउनेछन् । र, २१ दिन भित्र नयाँ पार्टीमा गएका जनप्रतिनिधिको जागिर जाने छैन ।
अध्यादेशको दफा ३३ को उपदफा २ मा दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सदस्य वा स्थानीय तहका जनप्रतिनिधि नयाँ दल गठन भएको २१ दिन भित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन भन्न्े उल्लेख गरिएको छ ।
पहिले माधव पक्षमा लागेका एक जनप्रतिनिधिले भने, ‘अहिले हामी केही साथीहरु मौन बसेकै हो,’ उने स्पष्ट भने, ‘राजनीति हो, एक रातमै फेरि फेरिन सक्छ ।’ उनले अध्यादेशले दिएको २१ दिनमा केही माहोल फरक हुने संकेत दिए ।
‘आफ्नो नजिकको नेता भनेका नजिककै हुन्छन्,’ उनले टेलिफोनमा भने, ‘यो साँचो हो, राजनीति पदकै लागि गरिन्छ, जसले विश्वास गरेर पद दिन्छ उसैको नजिक हुनु सामान्य हो ।’ उनले जनप्रनिनिधि छाड्न नपर्ने भएपछि अधिकांश सिन्धुपाल्चोकका नेता, जनप्रतिनिधिले मुख खोलेर आफ्नो धार पकड्ने सुनाए ।
सिन्धुपाल्चोकमा नफुट्दाको एमाले हुँदा ब्रान्डिङ नेताहरु माधव पक्षमै थिए । त्यतिबेलाको एमाले भित्र आन्तरिक प्रतिनिधि चुनिँदासमेत केपी पक्षले जिम्मेवारी पाउँदैनथे् । बरु आन्तरिक चुनाव हुन्थ्यो, सबै माधव पक्षले आफ्नो पक्षमा माहोल पार्ने गर्दथे ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!