सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठराजनीतिकांग्रेसको अधिवेशन आउनै लाग्दा कार्यकर्ता रिझाउन धमाधम नियुक्ति

कांग्रेसको अधिवेशन आउनै लाग्दा कार्यकर्ता रिझाउन धमाधम नियुक्ति


चौतारा । कांग्रेस महाधिवेशन नजिकिदै गर्दा सिन्धुपाल्चोकका वडा, गाउँपालिका र प्रदेशमा धमाधम कार्यसमितिलाई पूर्णता दिइएको छ ।

वडा अधिवेशन आउन एक महिना पनि बाँकी नहुँदा सिन्धुपाल्चोकमा कार्यसमितिलाई पूर्णता दिने चटारो भएको हो ।

केन्द्रले ७७ जिल्लाभर साउन १२ गते वडासमितिको अधिवेशन तय गरेको छ । त्यस्तै १६ गते गाउँ नगर र २० गते प्रदेशको अधिवेशन तय भएको छ ।

अधिवेशन आउन एक महिना समय बाँकी हुँदा गरिएका नियुक्ति अधिवेशनमा मान्छे रिझाउन बाहेक अरु केही कामको हुने देखिन्न ।

जिल्लाका विभिन्न गाउँपालिकाले भर्खरै वडादेखि लिएर गाउँपालिकाको कार्यसमिति चयन गरेको छ ।

‘अधिवेशन आउन एक महिनापनि बाँकी छैन’ जिल्लाका एक नेताले भने, ‘नयाँ कार्यसमिति चयन गर्ने समयमा पुरानोलाई धमाधम पूर्णता दिन लाग्नु मान्छे रिझाउनु मात्रै हो ।’

कार्यसमितिमा पनि गुटका आधारमा छानी छानी मानिसहरु चयन गरिएको ती नेताले बताए । उनले थप भने, ‘अब चयन गरिएका मान्छेले के नै काम गर्न भ्याउँछन् र उही मान्छे रिझाउने पद पाउने मात्रै हो ।’

हुन त सिन्धुपाल्चोकको समायोजन विवादका कारण पनि समायोजन विवाद सुल्झिएपछि नियुक्ति दिइएको हुनसक्ने जानकारहरु बताउँछन् ।

जिल्लामा समायोजन विवाद लामो समय रहेको थियो । सभापति विकास लामा र केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतबीच सम्झौता भएपछि समायोजन विवाद टुंगिएको हो । विधानत समायोजन भएकाहरुलाई वेवास्ता गर्दै बस्नेतले लामासँग सम्झौता गरेर विवाद सुल्झाएको स्रोतले बताएको छ ।

केन्द्रले आफै निर्णय गर्छ हाम्रो पूर्व सञ्चारमन्त्री केन्द्रीय सदस्य हुनुहुन्छ एक नेताले नाम नबताउने शर्तमा भने अनि उहाँ नै विधान विपरित काम गर्नुहुन्छ ।

बस्नेतले क्षेत्र नम्बर १ मा आफूलाई निर्णय गर्न दिन भनेको र २ नम्बर क्षेत्रमा आफू हात नहाल्ने भनेपछि सोही कुरालाई सभापति लामाले मानेको स्रोतले बतायो । ‘लामाले अडान लिएको भए विधानत नै समायोजन हुने थियो’ एक जिल्ला सदस्यले भने, ‘उहाँले अडान छाडेर बस्नेतको प्रस्तावलाई स्विकार्नु भएको हो । यसमा पैसाको समेत चलखेल भएको बताइएको छ ।’

समायोजनमा अडान नलिएपछि लामासँग बस्नेतइतरका मानिसहरु रुष्ट भएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!