मंगलबार, माघ १७, २०७९
गृहपृष्ठफोटो फिचरचुनाव गराउन गाउँ हिँडे कर्मचारी (फोटो फिचर)

चुनाव गराउन गाउँ हिँडे कर्मचारी (फोटो फिचर)


चौतारा–मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन गराउन मतदान कर्मचारी गाउँ हिँडेका छन् ।

७२ प्रकारका चुनावी सामाग्री बुझेर उनीहरु सदरमुकाम चौताराबाट खटिएको मतदातन केन्द्रतर्फ हिँडेका हुन् । बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी चुनावी सामाग्रीसहित पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले बताए ।

अधिकांश मतदान केन्द्रका कर्मचारी सामाग्री बुझेर गाउँ लागेको उनले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले सोमबारदेखि सम्वन्धित कर्मचारीलाई सामाग्री दिएर गाउँ पठाउन थालेको थियो । नजिक भएका कारण चौतारा नगरपालिकाभित्रका मतदान केन्द्रका कर्मचारीले भने शुक्रबार मात्र सामाग्री बुझेर गाउँ पुगी आवश्यक तयारी गर्ने छन् ।

जिल्लामा एक अस्थायीसहित ३ सय २१ मतदान केन्द्र छन् । अस्थायीसहित १ सय ४५ ठाउँमा मतदान हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान गराउन २ हजार ५ सय ६२ कर्मचारी खटाइएको छ । निर्वाचनको दिन सबै केन्द्रमा १ हजार २ सय ८० स्वयम्सेवक परिचालित हुने छन् ।

जुगल गाउँपालिकाको तेम्बाथानबाहेक अरु सबै केन्द्रमा आठ जनाको दरले कर्मचारी खटाइएको छ । मतदाता कम रहेको तेम्बाथानमा भने ७ कर्मचारी खटिएका छन् । त्यसमा एक÷एक मतदान र सहायक मतदान अधिकृत तथा अरु सहायक र सहयोगी कर्मचारी हुने छन् । सम्वन्धित केन्द्रका मतदान अधिकृतले मतपत्र, मतपेटिका लगायत चुनावी सामाग्री बुझेका छन् ।

बिहीबार मध्यराति १२ बजेबाट मौनअवधि सुरु हुने छ । त्यसअघि गाउँ पुग्ने मतदान कर्मचारीले सर्बदलीय बैठक राख्ने, चारकिल्ला तोक्ने, हातहतियार निषेधित क्षेत्र तोक्ने, केन्द्रको ३ सय मिटर आसपास रहेका प्रचार सामाग्री हटाउने काम गर्ने छन् ।

शुक्रबार र शनिबार मतदान केन्द्र निर्माण गर्ने, मतदातालाई भोट हाल्ने सिकाउने लगायत काम कर्मचारीले गर्ने छन् । आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

 

 

 


क्याटेगोरी : फोटो फिचर, राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!