मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठफोटो फिचरगाउँमै भोट खसाल्दै तेम्बाथान र तेगावासी (फोटोफिचर)

गाउँमै भोट खसाल्दै तेम्बाथान र तेगावासी (फोटोफिचर)


जुगल l जुगल हिमालको काखमा रहेको सिन्धुको अन्तिम बस्ती तेम्बाथान र तेगावासीले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन् ।

सदरमुकाम चौताराबाट एक दिन टाढाको उत्तर, पश्चिमी यी बस्तीका मतदाताले पहिलो पटक गाउँमै भोट खसाल्न लागेका हुन् । गाउँमै मतदान केन्द्र दिएर ऐतिहासिक अवसर दिएको हो, निर्वाचन आयोगले । आयोगको यो नियर्णयसँगै गाउँका धेरैले जीवनमै पहिलो पटक मतदानसमेत गर्न पाउँदै छन् ।

सिन्धुको ‘कर्णाली’ भनेर चिनिने जुगल गाउँपालिका–३ स्थित तेम्बाथान र तेगावासी यसअघिका निर्वाचनमा सातुसामल बोकेर भोट खसाल्न आधादिन पैदल हिँडेर वडाकै गुम्बामा आउन बाध्य थिए । राम्रो गोरेटो बाटोको पहुँच भित्र नपर्ने यी दुर्गम गाउँवासी मतदान केन्द्र टाढा भएकाले टोलको प्रतिनिधित्व हुनेगरी मात्र भोट खसाल्न आइपुग्थे ।

‘बल्ल आयोगले दुर्गमको पीडा सुन्यो,’ वडाध्यक्ष लक्ष्मण लामा दोङ भन्छन्, ‘मतदान केन्द्र पार्न कम्ता पापड पेल्न परेन !’ गाउँमै भोट खसाल्न पाउने खबरले तेम्बाथान र तेगावासीमा खुशीयाली छाएको उनले सुनाए । उनका अनुसार नयाँ र पुरानासमेत धेरै मतदाता गाउँमै पहिलो पटक भोट खसाल्ने दिनको व्यग्र प्रतिक्षामा छन् ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले आयोगले २ सय २७ मतदातासहित तेम्बाथानको तेम्बाथान आधारभूत विद्यालयलाई मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए । उनका अनुसार साविक गुम्बा गाविसको गुम्बामा कायम दुई केन्द्रमध्ये एक स्थान परिवर्तन गर्दै तेम्बाथान पु¥याइएको हो । ‘गुम्बाको मतदान केन्द्र अपायक भएको गुनासोपछि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा आयोगले तेम्बाथान केन्द्र निर्धारण गरेको हो,’ रिजालले भने ।

यो केन्द्रमा तेम्बाथान र तेगा गाउँका मतदाताले मतदान गर्ने छन् । वडाध्यक्ष दोङका अनुसार तेम्बाथानमा १ सय ७० र तेगामा १४ घरपरिवारको बसोवास छ । केन्द्र टाढा भएकाले गाउँमा अझै भोट हाल्ने बानीको विकास भएको छैन । उमेर पुगेर पनि मतदाता नामावलीमा छुट्नेको संख्या धेरै छ । ‘केन्द्र टाढा हुँदा मतदानमा रुची नहुँदा यो अवस्था आएको हो,’ दोङले भने । गाउँमै भोट हाल्ने व्यवस्थाले मंसिरको चुनावपछि मतदाता ह्वात्तै बढ्ने उनले औँल्याए ।

शेर्पा समुदायको मात्र बसोबास रहेको यी गाउँका मतदाता यसअघिको चुनावमा प्रतिनिधिमूलक ढंगले मात्र भोट खसाल्न गुम्बा गाउँथे । आर्थिक, सामाजिक, शैक्षिक र कमजोर विकास पूर्वाधार लगायत कारण जुगल गाउँपालिका सिन्धुको कर्णाली नामले चिनिन्छ । अन्तिमका गाउँ तेम्बाथान र तेगाको अवस्था झनै पिछडिएको छ । गुम्बासम्म मोटरबाट पुगे पनि त्यहाँबाट अघि बढ्दा हिँडडुल गर्ने गतिलो बाटो छैन । भिर खोपेर र पहारा काटेर बनाइएको बाटोमा स्थानीय राम नाम जप्दै यात्रा गर्दै आइरहेका छन् ।

तेगाबाट ६ र तेम्बाथानबाट पाँच घण्टा पैदल हिँडेर स्थानीय मतदानमा भाग लिन गुम्बा आउँथे । गाउँमै उम्मेदवार दिएकाले गत स्थानीय चुनावमा यी गाउँबाट अहिलेसम्मकै बढी ८० जति मत खसेको वडाध्यक्ष दोङले अनुमान लगाए । उनी थप्छन्, ‘मतदान केन्द्र टाढा हुनुका साथै चिनेको उम्मेदवार नहुने भएकाले अरु चुनावको त्यति मतलव हुँदैन । यस्ता चुनावमा अझ निकै कम मात्र भोट खस्छ ।’

चुनावी प्रचारको व्यस्त समयमा कम भोट खस्ने दुरदराजको यी गाउँमा भोट माग्न बिरलै मात्र नेता गाउँ आएको स्थानीयलाई याद छ । ‘स्थानीय चुनावमै नेता भोट माग्न आइपुग्दैनन् । अन्य चुनाव र अरु बेला नेता कहाँबाट आइपुग्नु !’ तेम्बाथानका नोर्बु शेर्पा सुनाउँछन् । अघिल्लो स्थानीय चुनावमा उनी एमालेबाट वडा सदस्य विजयी भएका थिए । पार्टीले उम्मेदवार बनाएपछि आफैँ खटिएर पालिका अध्यक्षका उम्मेदवार र पार्टीलाई भोट मागेको उनको भनाइ छ । ‘पालिका उम्मेदवारै भोट माग्न आएका होइनन् । अरु पार्टीको हकमा पनि भएको यही हो,’ शेर्पाले स्मरण गरे ।

गाउँमै मतदान केन्द्र हुँदा धेरै मतदान हुन सक्ने र २ सय भोटको महत्व बढेर जाँदा मंसिरको चुनावमा उम्मेदवार तेम्बाथान र तेगा पुग्ने सम्भावना बढेको वडाध्यक्ष दोङ र निवर्तमान सदस्य शेर्पा औँल्याउँछन् । ‘नत्र पार्टीका नेता र उम्मेदवारले उर्दीसहित पठाउने खबरका आधारमा दलैपिच्छेका १०–१२ जनाको समूह मिलेर भोट खसाल्न जाने प्रचलन थियो,’ उनीहरु एकै स्वरमा सुनाउँछन् ।

यसअघिको चुनावमा यहाँका केही मतदाता बास बस्नेगरी अघिल्लै दिन गुम्बा पुग्थे । भोट खसालेर उनीहरु साँझ मात्र गाउँ पुग्थे । चुनावकै दिन भोटको लागि गुम्बा आउनेहरु त्यही दिन गाउँ फर्कँन भ्याउँदैनथे । उनीहरु त्यो दिन गुम्बामै बास बस्नु पथ्र्यो । ‘धेरै चुनावमा यस्तै कष्ट सहेर भोट हाल्यौँ । यो चुनावदेखि भने भोटकै लागि अन्यत्र धाउन नपर्ने भयो,’ शेर्पा खुशीसँगै दंग छन् ।

मतदाता भएर पनि गाउँमा अहिलेसम्म भोट नखास्ल्ने धेरै छन् । यसमा महिला बढी छन् । भोट खसाल्न उमेरका पुरुष निस्कने चलन थियो । उमेरका बाबुछोरामध्ये एक पटक एकले र अर्को चुनावमा अर्कोले पालो भाग लगाएर मतदान गर्दै आएका थिए । ‘मतदान केन्द्र गाउँ आएकाले अब भोट माग्न पक्कै नेता आउँछन् । भोट दिन्छौँ, बदलामा विकास देउ भनेर नेतालाई पाउने अवसर पनि आएका छौँ’ मतदान केन्द्रले दुर्गमवासीमा नयाँ आशासमेत थपेको छ ।

गाउँमा आएको मतदान केन्द्रले एउटा दुःख घटाए पनि स्थानीयका अरु धेरै पीडा छन् । जुगल हिमालेको हिउँ पग्लेर बहने ब्रह्मायणी (बलेफी) नदी किनारका हिमाली यी गाउँ बर्खामा नाकाबन्दीमा पर्छन् । बाढी र पहिरोले बाटाघाटा बन्द हुन्छन् । बर्षभरि हिँडेको कतिपय बाटै हराउँछन् । बर्खा थामिएपछि नयाँ गोरेटो ट्रयाक खोल्दै गाउँले आवत–जावत खुलाउँछन् । गाउँपालिकाको केन्द्र ढाँडे आइपुग्नै झण्डै एक दिन लाग्छ । संघीयताले जुनसकुै काममा सदरमुकाम चौतारै पुग्नुपर्ने समय भने अर्को एक दिन घटाइ दिएको छ । नागरिकता, राहदानी लगायत कामका लागि भने दुई–तीन दिनको समय छुट्याएर सदरमुकाम पुग्नुपर्ने बाध्यता भने अझै छ । गुम्बासम्म पुगेको मोटरबाटोमा हिउँदमा गाडी चल्ने भएकाले त्यतिबेला पालिका केन्द्र र सदरमुकाम पुग्ने समय केही घट्न पुगेको छ ।

दीपु र साङलुङवासी उही नियतिमा

जुगल गाउँपालिका–२, दीपु र साङलुङ गाउँका मतदाताले भने मंसिरको चुनावमा पनि पुरानै नियति भोग्दै छन् । उनीहरु एक भोट खसाल्न एकदिन पैदल हिँडेर बिगमतमा झैँ यसपल्ट पनि गोल्चेको सञ्चगाउँ पुग्नुपर्ने बाध्यता छन् । मतदान केन्द्र निर्धारण गर्दा यो पटक पनि यहाँका मतदाताको सुविधालाई ध्यान दिइएको छैन ।

बह्मायणी नदी वारि तेम्बाथान र तेगा गाउँ छन् भने पारि दीपु र साङलुङ । तेम्बाथानबाट थप एक घण्टाकौ पैदल हिँडेर ब्रह्मायणी नदी तरेपछि यी गाउँ पुगिन्छ । भोट खसाल्न बह्मायणी नदी तरेर तेम्बाथान, गुम्बा हुँदै कात्तिके बजार झेर पुनः ब्रह्मायणी छिचोल्दै नाकै ठोकिने उकालो हिँडेपछि उनीहरुको मतदान केन्द्र सञ्चगाउँ पुगिन्छ । पालिका अध्यक्ष रेशम स्याङ्बोका अनुसार दीपुमा २० र साङलुङमा १० जति घरपरिवारको वसोबास छ । केन्द्र टाढा भएकाले तेम्बाथान र तेगाका मतदाता जस्तै दीपु र साङलुङका मतदाता पनि प्रतिनिधिमूलक ढंगले भोट खसाल्न निस्कन्छन् ।

‘प्रजातान्त्रिक पद्धतीमा मतद्धारा आफ्ना प्रतिनिधि छान्न पाउनु नागरिकको अधिकार हो,’ अध्यक्ष स्याङ्बो भन्छन्, ‘यो पटक तेम्बाथान र तेगावासीले त्यो अधिकार उपभोग गर्ने पाउने भए । दीपु र साङलुङको समस्या समाधान गर्न अझै पहल गर्छौँ ।’


क्याटेगोरी : फोटो फिचर, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!