Techie IT
Thursday, January 21,2021 / बिहीबार, माघ ८, २०७७
×
गृहपृष्ठसमाचारएकै बोटमा दुई घरी केरा 

एकै बोटमा दुई घरी केरा 


बाँडेगाउँ । उखानै छ एकै हातका औला बराबर हुदैनन्, एकै बोटमा दुई घरी केरा हुदैन, तर इन्द्रावती गाउँपालिका वडा ६ तीनघरेमा एकै केराको बोटमा दुई घरी केरा फलेपछि सबै दंग छन् ।
‘कसरी एकै बोटमा दुई घरी केरा फल्यो ?’ भनेर सोध्न आउनेहरुलाई सम्झाएर थाकिसकेका इन्द्रावती गाउपालिका वडा ६ तीनघरेका ७१ वर्षिय शंकरनाथ न्यौपाने आफै चकित छन् । एकै बोटमा दुई घरी केरा फलेको खबर पाएपछि सेल्फी ,भिडियो खिच्ने र टिकटक बनाउन घरमा आउनेको लर्को दिनहँु बढ्दो छ । ‘यस्तो कहिल्यै देखे, सुनेको थिइन्, जब आफ्नै बारीमा एकै बोटमा दुई घरी फल्यो आफै दंग परे, यो एकैपटक भाइरल पनि भयो ।’ न्यौपानले भने ।
गएको साउन अन्तिममा चार रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातको केराको बोटमध्ये एउटामा दुई वटा केराको बुंगो उम्रिए । सामान्य सम्झेर उनले खासै ध्यान दिएनन्, जब एकै बोटबाट दुई घरी केरा नै फल्यो उनले अचम्म परेर छिमेकीलाई देखाए । ‘सबैले यो त अचम्म भयो, लक्षिन लाग्छ भनेर प्रशंसा गरेपछि खुबै उत्साहित भएर स्याहारे, पछि केरा फल्यो तैपनि काटिन ।’ उनले भने । इन्द्रावतीको पहाडी गाउँ साबिक बाडेगाउस्थित न्यौपानले घर वरीपरी चार रोपनी क्षेत्रफलमा झप्री, चिनिया ,भुईकेरा, माख्लोभोग, मुंग्रेजस्ता गरी पाँच जातको केरा लगाए । चिनिझै गुलियो हुने चिनिया जातको केराको बोटमा मात्रै पहिलो पटक यस्तो प्रकारको अवस्थाका केरा फलेको उनले उदाहरण दिए ।
यसअघि चौतारा साँगाचोकगढी नगरपालिका कुविण्डे र बाह्रबिसेको पलातीमा पनि यस्तो प्रकारको देखिने केरा फलेको थियो । कुविण्डेमा केरा रहरलाग्दो देखेर टिपेर खाए भने, पलातीका स्थानीयले अनौठो फल्यो भन्दै अशुभ हुने त्रासमा आत्तिएर काटेर फालिदिएको स्थानीय सुनाउँछन् ।
विशेष गरी चिनिया जातको केराको बोट आफैमा बहुमुल्य हुन्छ भन्ने हल्लासँगै दुईसय घर परिवारको बसोबास रहेको तीनघरे बासीमा केरा चोरी हुने त्रास बढेको छ । यस्तो प्रकारको फलेको केराको बोटभित्र बहुमुल्य मणि, एकमुखे रुद्र, निलम, राजपक्षीजस्ता अनेक चमत्कारी रत्न हुने र रातमा रहस्यमयी चरा आउनेजस्ता अनेक मिथक प्रचलित छ ।
इन्द्रावती गाउपालिका कृषि शाखाका प्राविधिक नवराज कटुवालकाअनुसार पहिलो पटक यसरी केरा फलेको भएकाले यसबारे प्राकृति र अनुसन्धानात्मक पक्ष हेरिनुपर्ने बताए । विश्वभर प्राया सबै स्थानमा पाइने फल केराबारे यसअघि यस्तो कुरा नआएकाले बिलकुलै नयाँ अपवाद घटना भएको उनको भनाइ छ । ‘यसबारे आवश्यक सबुत लिएर विशेषज्ञसँग छलफल गर्दैछौ, त्यसपछि मात्रै के हो कसरी भन्नेबारे भन्न सक्छौ ।’ उनले भने ।
यस्तो प्रकारको केरा फलेको खबर सुनेपछि स्थगलत निरीक्षणमा पुगेका इन्द्रावती गाउपालिकाका अध्यक्ष वंशलाल तामाङले यसको वैज्ञानिक पक्षबारे अनुसन्धान गर्ने जानकारी दिए । ‘यस्तो कुरा कहिल्यै सुनिन आएको छैन्, यो नवलपुरको एउटा अनौठो कुराको संगमस्थल बन्न सक्छ, यसको संरक्षण र आवश्यक सबैमा लागिपर्नेछौ,’उनले भने ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस