सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठसमाचारस्थानीय भन्छन्, ‘भोेटेकोसीले घरबारबिहीन बनायो’ ‘क्षतिपूर्ति दिन आधार देखिँदैन’ आयोजना

स्थानीय भन्छन्, ‘भोेटेकोसीले घरबारबिहीन बनायो’ ‘क्षतिपूर्ति दिन आधार देखिँदैन’ आयोजना


सिन्धुपाल्चोक । भोटेकोसी पावर कम्पनीले सञ्चालन गरेको ४५ मेगावाटको भोटेकोसी(माथिल्लो)जलविद्युत आयोजनाको बाँध भत्केर पुर्‍याएको क्षतिले आफूहरु घरबारबिहीन भएको गुनासो स्थानीयले गरेका छन् । भत्केको भोटेकोसीले उत्पादन शुरु गरेपनि आफूहरुलाई क्षतिपूर्ति दिनुको बदला धम्की खेप्नु परेको भनाई उनीहरुको छ ।

२०७३ साल असारमा चीनबाट आएको बाढीले भोटेकोसी आयोजनाको बाँध फुटेपछि क्षति पुर्याएका तटीय क्षेत्रका वासिन्दाले आफूहरु धेरै मर्कामा परेपनि सुनुवाई नभएको गुनासो गर्दै आएका छन् । स्थानीयले आयोजना कारण आफूहरु घरबारबिहीन भएको दावी गर्दै आएका छन् भने आयोजना भने त्यसलाई स्विकार गरेर क्षतिपुर्ती दिन तयार नभएपछि विवाद उत्पन्न भएको हो । बाँधभन्दा धेरै तलसम्म क्षतिपूर्ति दिँदै जान नसकिने जीकिर आयोजनाको छ ।

बाँध फुटेर स्थानीय कारसाङ लामा श्रेष्ठ, शोभा खड्का र बासु खड्काको घरलाई क्षति पुगेको थियो । घर भत्केपछि उनीहरु आफ्नो बासस्थान छाडेर अन्यत्र बस्न बाध्य छन् । सिन्धुपाल्चोकका राजनितिक दलका नेता तथा कार्याकर्ताले आयोजनाबाट विभिन्न बहानमा लाखौलाखको लाभ लिने गरे पनि सर्वसाधारणको पीडा कसैले नसुनेको भनाई उनीहरुको छ । वास्तविक पीडितलाई क्षतिपूर्ति दिलाउन कोही पनि नलागेको उनीहरु बताउँछन् । वास्तविकलाई छुटाएर नक्कली पीडितलाई क्षतिपूर्ति दिएको आरोपसमेत उनीहरुले लगाएका छन् ।

बस्नै नहुने गरी क्षति भएपछि घर बनाउने व्यवस्था गरिदिन माग गर्दै भोटेकोसी– ४ की कारसाङ लामा श्रेष्ठ पटक–पटक आयोजनाको साइट कार्यालय झिर्पुमा धाइन् । तर उनको समस्या सुनुवाई भएको छैन । चार पटकसम्म आयोजनाको कार्यालय धाएपछि श्रेष्ठलाई त्यहाँका एक कर्मचारीले क्षतिपूर्तिका लागि काठमाडौं स्थित आयोजनाको कार्यालयमा जान सुझाए । उनले २०७६ माघ ८ गते भोटेकोसी प्रालिको सोल्टी मोडको मुख्य कार्यालयमा सम्पर्क गरिन् । उनी त्यहाँ पटक–पटक जाँदापनि कम्पनीका सुरक्षा गार्डहरुले उनलाई भित्र जानै दिएनन् ।

भोटेकोसीका एक शिक्षकको सहायतामा उनी बल्लतल्ल कार्यालय भित्र गइन् । ‘त्यहाँका कर्मचारीले उनलाई आयोजनाको ड्यामले कुनै क्षति नपुर्याएको र चाहिने–नचाहिने काम लिएर नआउन धम्क्याए,’उनले गुनासो गरिन् । उनीसँग कम्पनीका कसैले पनि कुराकानी गर्न चाहेनन् । जबरजस्ती एउटा निवेदन पेस गरेका अनुभव कार्साङ सुनाउँछिन् । अदालत जानु हामी केही गर्न सक्दैनौं भन्दै कर्मचारीले धम्की दिएको दावी उनको छ । उनको ११ आनाको जग्गामा अहिले ४ आना बाँकी छ । घरको एकापट्टिको जग नै बाढीले बगाएपछि क्षतिपुर्तिका लागि माग गर्दै ठाउँ–ठाउँ धाउँदै गरेकी छिन् । भूकम्पपछि गुजारा गर्न काठमाडौं आएकी उनी २०७३ मा घर जान खोज्दा अर्को विपति आएको थियो । स्थानीय जनप्रतिनिधिले पनि आफूलाई साथ र सहयोग नगरेको उनी बताउँछिन् ।

उनी जस्तै सोभा बस्नेतको घर पनि बगाएको छ । उनको बस्ने ठाउँ छैन । भएको घर र जग्गासमेत ड्यामले बगाएपछि शोभाको सबै जायजेथा सकिएको छ । भोटेकोसीमै काम गर्ने भएकाले शोभाले आफ्ना समस्याहरु राख्न नसकेको स्थानीय बताउँछन् । शोभाजी त्यही काम गर्नुहुन्छ एक स्थानीयले भने, ‘आफ्ना समस्याहरु राख्दा तिम्रो भइरहेको जागिर नै जान्छ भनेर केहीले भनेपछि उहाँ सबै गुमाएर पनि चुपचाप हुनुहुन्छ ।’ सिन्धुखबरसँगको टेलिफोन कुराकानीमा शोभाले भनिन्,‘मेरो घर र जग्गा नै गएको छ । भोटेकोसी आयोजनाले भनौ या खोलाले ।’उनी त्यही नै काम गरेर जिविकोपार्जन गरिरहेकीले थपकुरा गर्न चाहिनन् । आयोजनाले दिएको कोठामा अप्ठ्यारो गरी आफू बसिरहेको उनले बताइन् । स्थानीय वासु खड्काको पनि घर क्षतिग्रस्त भएको छ । उनी गाउँमा नै बस्दै आएका छन् ।

नेताहरु र टाठाबाठाले आफ्नो स्वार्थ अनुकुल आयोजनालाई प्रयोग गर्दा वास्तविक पीडितहरुले क्षतिपूर्ति नपाएको स्थानीय शिक्षक भक्त लामाले बताए । ‘ नेता र टाठाबाठाले आयोजनालाई विभिन्न बहानामा बार्गेनिङ गर्ने थलो बनाएका छन् लामाले भने, ‘वास्तविक पीडितहरुले न क्षतिपूर्ति पाए न राहतका लागि पहल गरिदिएँ ।’ भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल पीडित भनिएकाहरु समस्या लिएर गाउँपालिकामा नआएको बताउँछन् । गाउँपालिका अगाडि नै उहाँहरुको घर भएपनि उक्त विषय लिएर सम्पर्क नगरेको उनी बताउँछन् ।

२०७३ मा बाढीले घर क्षति गरेको हो तर भोटेकोसी ड्यामले नै क्षति पुर्याएको भने भन्न नसकिने उनले बताए । ‘ड्याम थुनिएर बाह्रबिसेसम्म धेरै क्षति भएको अवस्थामा निजी आयोजनालाई सबै दोष लगाउन मिल्दैन । यो एउटा प्राकृतिक विपत्ति हो,’उनले भने । उनले पीडित गुनासो लिएर नआए पनि तारजाली हालेर घरको सुरक्षा गर्न आयोजनालाई आग्रह गरेको बताए । उनी भन्छन्,‘सल्लाह गरेमा सबै समस्या समाधान हुन्छ । खै उहाँहरु घर अगाडिको पालिकामा किन आउनु भएन थाहा छैन् ।’

भोटेकोसीका प्रबन्धक बबिन प्रधान ड्यामका कारण पीडित भनिएकाहरुको घर भत्केको कुरा सत्य नभएको जिकिर गर्छन् । ड्याम थुनिएका कारण बाढीले धेरै क्षति नगरेको एक अध्ययनले देखाएको उनको दावी छ । ड्याम भन्दा तल कतिकति क्षति भएको छ एउटा निजी कम्पनीले कति पो सहयोग गर्न सक्ला र उनले प्रश्न गरे ।

बाढीले बाँध भत्काएपछि आयोजनाले केही महिनाअघिदेखि मात्रै उत्पादन शुरु गरेको छ । बाँधमा बाढी रोकिँदा माथिल्लो भेगमा क्षति पुगेपनि तल्लो भेगको कुन स्थान सम्मलाई भोटेकोसीको क्षति मान्ने प्रश्न खडा भएको छ । त्यही आधारमा प्रबन्धक प्रधानले भोटेकोसीको कारण सवै क्षति भएको स्विकार गर्न नस्कने तर्क गरेका हुन् । स्थानीय भने बेलाबाबेलामा टाठाबाठाहरुको स्वार्थ आयोजनाले पुरा गरेकाले सर्वसधारणको पक्षमा कोही नबोलेको गुनासो गर्छन् । ‘आयोजनाले १० प्रतिशत पानी खोलामा छाड्नु पर्ने शर्त पनि पूरा गरेको छैन् । जसका कारण खोलामा फोहोरमैला र प्रदुषण बढेको छ,’ स्थानीय आरोप लगाउँछन् ।

आयोजनाले निर्माण गरेको सुरुङको गुणस्तरसम्म कायम गर्न नसकेको कारण सो ठाउँमा बेला बेलामा ठूला पहिरो जाने गरेको शिक्षकलामाले बताए । जलविद्युत ऐन बमोजिमवातावरणीय प्रभावलाई न्यूनिकरण गर्न र प्रभावित क्षेत्रकाजनताकाजल्दाबल्दा समस्याप्रतिपनिआयोजनामौन रहेको स्थानीयवासीको आरोप छ । केही विद्यालयमा छिटपुट रुपमा आयोजनाले सहयोग गरेपनि स्वास्थ्य, खानेपानी, ग्रामीण सडक, ग्रामीण विद्युतीय करण, नदी कटान रोक्न वृक्षारोपण जस्ता काममा खासै चासो नदिएको उनीहरुको भनाई छ ।

२०७३ असार २१ गते चीनको खासा र कुतीको बीचमा छेपसाङमा पहिरो गएर भोटकोसीको बाँध फुट्दा स्थानीयको घर बगाएको थियो । बाँध भन्दा माथि दश किलोका पीडितलाई आयोजनाले क्षतिपुर्ति दिएको छ । तर बाँध तलका पीडितहरुलाई बेवास्ता गरेको उनीहरुको भनाई छ ।

 


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!