Techie IT
Sunday, February 28,2021 / शनिबार, फागुन १५, २०७७
×
गृहपृष्ठसमाचारजोखिममा बोल्दे गाउँ : स्थानीयको माग ‘बाँच्न पाउँ’

जोखिममा बोल्दे गाउँ : स्थानीयको माग ‘बाँच्न पाउँ’


चौतारा ।
बस्ती मुनीको जमिन पहिरोको कटानमा परेर गाउँ जोखिममा रहेपछि जुगल गाउँपालिका ३ बोल्देका स्थानीयले सरकारसँग बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग राखेका छन् । बस्ती मुनी रहेको याम्बिलिङ खोलामा हाइड्रोपावरले सुरुङ खन्दा ब्लाष्टिङ गरेकै कारण पहिरो बग्न थालेपछि गाउँवासीले सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका हुन् ।
भिरालो जमिनमा एकै ठाउँ दुई सय ६० परिवारको झुरुप्प बस्ती छ । बस्ती मुनीको याम्बिलिङ खोलाले भिरालो जमिन कटान गर्दा बस्ती जोखिममा परेको हो । बोल्देवासीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै गाउँवासीको ज्यान खतरामा परेको भन्दै सुरक्षित स्थानमा सार्न माग राखेका हुन् ।
बोल्दे गाउँ गएको असार ३० मा ३९ जनालाई विलय गराउने गरि आएको लिदी पहिरोको सामुन्ने पर्छ । लिदी पहिरो आँखै अगाडी देखेका बोल्देवासी आफ्नो गाउँ पनि उस्तै पहिरो जान सक्ने भएकाले थप त्रासमा छन् ।
प्राकृतिक विपत तथा हाईड्रोपावरले खनेको सुरुङ तथा जथाभावी डोजरको प्रयोगले २ सय ६० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाई छ । २०७२ सालको भूकम्पका कारण भु–धरातल कमजोर भएकाले जोखिम बढाएको तथा विकासका नाममा हाईड्रोपावर कम्पनीहरुले जोखिमको मूल्याङ्कन नगरी निर्माण कार्य सञ्चालन गर्दा थप जोखिम वढाएको स्थानीय पसाल तामाङले जानकारी दिए । ‘बस्ती मुनि करिव तीन मिटर तल पोलोहुत भन्ने ठाउँमा पहिरो गएको छ,’ उनी भन्छन्, ‘वर्षेनी पहिरो जाने क्रम बढिरहेकोले समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण नगरे ठूलो पहिरो जाने र सिङ्गो बस्ती नै बगाउने सम्भावना देखिन्छ ।’
सम्बन्धित निकायले तत्काल जोखिमको मूल्याङ्कन गर्न भूगर्भविद र प्राविधिक खटाउन पहल गर्ने स्थानीयको माग छ । ‘पहिरो नियन्त्रण तथा रोकथाम गर्न यथासिघ्र आवश्यक प्रक्रिया अगाडि वढाउनु अत्यावश्यक छ,’ स्थानीय एक विद्यालयका शिक्षकसमेत रहेका विक्रम तामाङले भने, ‘संचालित हाईड्रोपावर कम्पनीहरुले स्थानीयको न्यायोचित मागको सम्बोधन गर्न र पोलोहुत भएर जाने मोटर ट्रयाक सधैका लागि बन्द गर्न गििरनुपर्छ ।’ उनले यस्ते गरेको अवस्थामा जोखिम कम हुने दाबी गरे ।
अहिले गाउँवासी दिउँसो घरमा रातको समयमा त्रिपालमा बस्ने गर्दछन् । त्रिपाल टाँगेर रातको समयमा बस्ती भन्दा करिब पाँच सय मिटर माथि बस्ने गरेका हुन् । त्रिपाल मुनी बस्ने गरेपछि शौचलय र खानेपानी अभावले उनीहरुलाई थप सताएको छ ।
राजनीतिको आडमा बिकासको नाममा आफ्नो सिमित स्वार्थ राखेर गाउँवासी जोखिममा रहेको स्थानीयको आरोप छ । बोल्देको गाउँ मुनी अहिले ब्रम्हायणी करिडोरमा ६ वटा हाइड्रोले काम गरेका गरिरहेका छन् । जनप्रतिनिधि र स्थानीय सरोकारवाला निकायलाई हाईड्रोले निम्त्याएको समस्याबारे पटक पटक गुनासो गर्दा मौन बस्ने गरेको विक्रम बताउँछन् । जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि मौन बस्नुमा उनीहरुको हाईड्रोसँग ब्यक्तिगत स्वार्थ जोडिएको उनले आरोप लगाए ।
बोल्दे गाउँलाई पहिरोले घेरेको छ । पानी परेपछि यहाँका स्थानीय सबै जाग्राम बस्ने गरेका छन् । स्थानीय आशमाई तामाङले पानी परेपछि लिदीको जस्तै पहिरो जाने डरले त्रिपाल बाहिर बस्ने गरेको बताइन् । ‘पानी परेपछि अझै पर डाँडामा गएर बस्ने गरेका छौं ।’ उनले भनिन् ।
बोल्दे गाउँ मुनी खेतीयोग्य जमिन छ । जमिन मुनी पहिरो खस्ने गरेको हो । गाउँवासीलाई सुरक्षित स्थानमा गएर बस्न प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुझाए । ‘तपाईहरुको गाउँमा गएर हामी जोखिम अध्ययन गर्छाैं,’ उनले भने, ‘अहिले तपाईहरु जोसखम रहेको बस्ती भन्दा टाढै रहनुहोला ।’ उनले मागको सम्बोधन गर्ने आश्वासन दिलाए ।
बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःर्निर्माणका लागि कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढी पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनःस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै गाउँवासी आशावादीसमेत बनेका छन् । सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा छलफल भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस