मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस नेता बस्नेतको प्रश्न, ‘अवैध बालुवा उत्खननमा संलग्न नेकपा नेता कार्याकर्तालाई किन पक्राउ गरिएन?’

काँग्रेस नेता बस्नेतको प्रश्न, ‘अवैध बालुवा उत्खननमा संलग्न नेकपा नेता कार्याकर्तालाई किन पक्राउ गरिएन?’


चौतारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले गिटी, बालुवा अवैध रुपमा निकाल्न संलग्न हुनेलाई तीन दिन भित्र कारवाही गर्न अल्टिमेटम दिएका छन् । बस्नेतले आज सामाजिक सञ्जालमा लेख्दै अवैध उत्खनन गर्नेलाई जिल्ला प्रशासन कार्यालय र प्रहरीले तीन दिनभित्र कारवाहीको दायरामा नल्याए स्थानीयहरुबाटै बालुवा जफत गर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘जिल्ला प्रशासन कार्यालय र प्रहरीले ३ दिन भित्र तुरुन्तै आबश्यक कार्बाही सुरु नगरे सिन्धुपाल्चोकका बाढी पहिरो पिडामा परेका र न्यायप्रेमी नागरिकहरुलाइ लिएर तस्करहरुले निकालेका बालुवा जफत गर्न र तस्करहरुलाइ पक्राउ गराउनका साथै अवैध रुपमा निकालेको बालुवा बाढी पहिरो पीडितहरुको आवास निर्माण गर्न बितरण गर्न लगाउन जनदबाब सिर्जना गरिने सबैमा जानकारी गराउन चाहान्छु ।’

उनले विभिन्न संचार माध्यबाट अवैध बालुवा उत्खनन र बिक्री वितरणमा नेकपाका नेताहरुको हात रहेका समाचारहरु सार्वजनिक हुँदा पनि प्रशासनले त्यसमा संलग्न नेकपाका नेता कार्यकर्तालाई कारवाही नगरेको प्रति आपति जनाएका छन् । असार, साउन र भदौ तीन महिनामा नदीजन्य वस्तुको उत्खननमा रोक लगाइएको र जिल्लामा नदीजन्य वस्तुको ओसार पसार दिनहुँ भइराख्दा पनि ती निकालिएको बालुवा जफत नगर्नुले स्थाीनय प्रशासनप्रति पनि शंका उब्जिएको उनले बताए ।

इन्द्रावती, बलेफि, भोटेकोसी र सुनकोसी किनारमा अवैध नदी दोहनले पहिरोको प्रकोप समेत बढाएको छ । सरकारले असार देखि भदौसम्म तीन महिना नदीजन्य वस्तुको उत्खनन रोकेपनि जिल्लामा रात दिन बालुवा ओसारपसार भइरहेको छ । प्रहरीले अवैध बालुवा बोकेका ट्रकहरु नियन्त्रणमा लिएपनि जिल्ला समन्वय समितिका पदाधिकारी, राजनितिक दलका नेता तथा स्थानीय प्रशासनको दबाबमा ती छाडिने गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!