Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाचारबालबच्चाको भविष्यको चिन्तामा लिदीका विस्थापित

बालबच्चाको भविष्यको चिन्तामा लिदीका विस्थापित


बाँसखर्क  । लिदी पहिरोबाट विस्थापित भई बाँसखर्क आइपुगेका जुगल गाउँपालिका २ लिदीका पहिरोपीडितहरु आफ्नो भन्दा बालबच्चाको भविष्यको चिन्तामा छन् । स्थायी रुपले बस्ने ठेगानका साथै उचित शिक्षाको प्रवन्ध नहुँदा बालबच्चाको भविष्य जाोखिममा रहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र २ वडाध्यक्ष प्रताप लामाले दुई महिनाको लागि बाँसखर्कमा बस्न आग्रह गरेपछि दोश्रो पटक यहाँ आएका साङबहादुर दोङलाई आफ्नोभन्दा भावी सन्ततीको चिन्ता छ । ‘आफ्नो त डाँडामाथिको घाम भइसकियो, आफ्नो सन्ततीले यस्तो दुःख शोक भोग्न नपरोस भनेको अब के हुदोरैछ हेर्नुपर्ला ।’

उनले बस्ने स्थान सर्दासर्दै जिन्दगी नै सकिन लागेको सुनाए । सर्दासर्दै बालबच्चाले पठनपाठन गर्न नपाएकोमा उनलाई चिन्ता छ । सुरक्षित रुपमा बस्न नपाएकाले बालबालिकाले शिक्षा नपाएकाले उनीहरुको भविष्य सुनिश्चित नभएको उनको तर्क छ । सभामुख अग्नी सापकोटासहित जनप्रतिनिधिले विभिन्न सामाग्रीसहित दिगो सुरक्षित बासको व्यवस्था गर्ने प्रतिबद्धता दिएपछि विस्थापित केही आशावादी बनेका छन् । ‘सभामुखले भनेपछि त केही होला नि, त्यही आशमा छौ,’ दोङले आफ्नो अड्कल काट्दै भने ।

भूकम्पले लिदीको एकसय ७२ घर ध्वस्त बनाउँदा दशले ध्वस्त घरभित्रै च्यापिएर ज्यान गुमाए । भूकम्पको पराकम्पन दोहोरिएपछि माख्लो डाँडा भास्सिएर पहिरो झर्न थालेपछि गाउँलेको होसहवास उड्यो । केही थामिएलाजस्तो भएपछि भूकम्पको अनुदान ३ लाखमाथि ऋण लिएर पहिरो छल्दै लिदीबासीले छेउछाउमा घर बनाए । तर, आफ्नो घरपनि आनन्द न्यानो घरमा सुखसँग बस्न कहिल्यै पाएनन् । पहिरोले माथिबाट सोहोर्दै ल्याएपछि डरमा घरबाट पर लप्सेडाँडाको गोठमा बस्न थाले ।

बिहान मात्रै घर फर्किने गरेका लिदीबासीले भूकम्पको पीडा नर्बिसदै पहिरोमा लिदीबासीले परिवारसहित सर्वस्व गुमाए । पहिरोले एकैपटक छोप्दा १७ परिवारका ३९ बेपत्तामध्ये ३३ ले ज्यान गुमाए । पहिरोमुनी धेरै तल पुरिएका ६ बेपत्ताको शव अझै फेला पर्न सकेको छैन । विस्थापित परिवारले दुई महिनापछि सरकारले लिदीमा भएजत्तिकै बराबरको सुरक्षित स्थानमा जग्गा दिनुपर्ने माग राखेको विस्थापित रेशम दोङ बताउँछन् । ‘लिदीको जमिन सबै सरकारको जिम्मा, हामीलाई त्यही बराबर जग्गा दिइयोस्, हामी त्यही बस्छौ ।’ उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस