सीडीसीएफका कर्मचारीले कोरोना फैलाएको भन्ने टीप्पणीप्रति गैसस महासंघको गम्भीर ध्यानाकर्षण

चौतारा । गैसस महासंघ सिन्धुपाल्चोकले एक सामाजिक संस्थाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संचारमाध्यम र सामाजिक सञ्चालमा आएका नकारात्मक टिप्पणीप्रति गहिरो ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज एक प्रेस विज्ञप्ति निकाल्दै नकारात्मक र भ्रम फैलाउने टिका टिप्पणीले आम समुदायमा सकारात्मक सन्देश भन्दा पनि त्रास फैलाउने भन्दै यस्तो गम्भीर विषयमा सबै पक्षबाट सकारात्मक सन्देश संम्प्रेषण हुनुपर्ने जनाएको छ ।
कोरोनाबाट संक्रमितलाई उच्च मनोबल बनाउने र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य तीव्र रुपमा गर्न पनि महासंघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । कोरोनाबाट संक्रमित अभियन्ताहरुलाई कोरोनासँग लड्न सकारात्मक शक्ति प्राप्त होस् विज्ञप्तिमा उल्लेख छ । सिन्धुपाल्चोकमा रहेको सीडीसीएफ नामक गैरसरकारी संस्थाका कर्मचारी कोरोनाबाट संक्रमित भएपछि सामाजिक संजाल र संचारमाध्यममा विभिन्न टिकाटिप्पणी हुन थालेपछि महासंघको यो विज्ञप्ति आएको हो ।
उक्त संस्थाले देश लकडाउनमा रहेका बेला र संक्रमणको जोखिम रहेकै अवस्थामा कुनै सार्वजनिक कार्यक्रम गर्न गराउन अनुमति नदिएका समयमा पनि तालिममा सहभागि हुन कर्मचारी पठाएको थियो । कोरोनाको विषम परिस्थितिमा चितवन तालिममा सहभागी हुन गएका सीडीसीएफका चार कर्मचारीमा संक्रमण देखिएको थियो ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप कर्मचारीमा संक्रमण देखिएपछि उक्त संस्थाका कर्मचारीले संक्रमण फैलाएको भन्दै संचारमाध्यम र सामाजिक संजालमा व्यापक विरोध भएको छ । कोरोनाबाट सिन्धुपाल्चोकमा मात्रै ९५ जना संक्रमित छन् भने तीनजनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस