Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाचारलिदी पहिरोमा औषधि छर्केर शवको खोजी

लिदी पहिरोमा औषधि छर्केर शवको खोजी


चौतारा । सिन्धुपाल्चोकको जुगल– २ लिदीमा पहिरो गएको ९ दिन बितेको छ ।आज बिहानसम्म ९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेपनि पर्याप्त साधन स्रोतको अभावमा खोजी कार्यमा ढिलाई भएको छ । खोजी ढिलाइ हुँदा पहिरोस्थलमा दुर्गन्ध आउन थालेको छ । यसबाट अन्य रोग फैलने सम्भावना त्यतिकै बढेर गएको छ ।

पहिरोमा पुरिएका ३९ मध्ये ३० को शव भेटिएको हो । पहिरोमै बेपत्ता भएका हुन् भन्ने यकिन भएपनि पिक, साबेल, घन र खन्तीको भरमा शवको हराएको स्थलको ढुंगामाटो पन्छाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । घटनास्थलमा शसस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली संयुक्त रुपमा खोजी गरिरहेको छ । तर पर्याप्त स्रोत र साधन नहुँदा वेपत्ताको खोजीमा कठिनाई भएको शसस्त्र प्रहरी निरिक्षक शीतल श्रेष्ठ बताउँछन् । लिदी पहिरो गएको गत शुक्रबार नै सुरक्षाकर्मीको टोली लिदी पुगेको थियो । कात्तिकेबाट ५ घण्टा हिडेपछि सुरक्षाकर्मीको टोली लिदी पुगेको हो । सोही दिनबाट बेपत्ताहरुको खोजीमा रहेको टोलीले साधन स्रोतको अभावमा छिटो काम गर्न सकेको छैन ।

सुरक्षाकर्मीले पिक, साबेल र स्थानीयको कुटो, कोदालो बाट मात्रै बेपत्ताको खोजी गरिरहेको श्रेष्ठ बताउँछन् । ६० जना भन्दा बढी सुरक्षाकर्मी बेपत्ताको खोजीमा छन् । बिहान ६ देखि बेलुकी ६ बजेसम्म हामी पहिरो पन्छाउन लाग्छौं उनले भने, ‘तैपनि सबैको शव भेट्टाउन सकिएको छैन् ।’ पहिरो गएको धेरै दिन भएकाले पुरिएका मानिससँगैं पुरिएका गाईबस्तु कुहिएर गन्हाउन थालेको छ ।
सुरक्षाकर्मीले दुर्गन्ध फैलन नदिन क्लोरिन छर्केर बेपत्ताको खोजी गरिरहेको छ ।

राहत लिएर घटनास्थल पुगेका काँग्रेसका जिल्ला नेता सागर श्रेष्ठ पहिरोमा पुरिएकाको शव गन्हाउन थालेको बताउँछन् । यसबाट अन्य रोग फैलने जोखिम बढेको उनले बताए । सबै जना राहतमा मात्रै केन्द्रित भएको देखियो उनले भने, ‘सीमित स्रोत र साधनबाट सुरक्षाकर्मीलाई शवको खोजीमा निकै कठिनाइ भएको देखिन्छ ।’ डुङ्डुङ्ती गन्हाएका शवले स्थानीय र सुरक्षाकर्मीलाई समेत विभिन्न रोगको संक्रमणको सम्भावना हुने उनले बताए । गाउँपालिकालगायत सरोकारवाला निकायले शव उत्खनन्का लागि डोजर लान खोजेपनि भौगोलिक अवस्थामाका कारण असम्भव भएको छ । इन्स्पेक्टर श्रेष्ठका अनुसार स्थानीय हाइड्रोको डोजर ल्याउने भनेपनि बीचमा बाटो भाँसिएकाले सम्भव नभएको हो ।

स्थानीयले पनि शव भेटिए शवको सदगद गर्न सजिलो हुन्थ्यो भनेका छन्, श्रेष्ठले भने, ‘त्यसैले हामी निरन्तर लागिरहेका छौं ।’ दिनकै १–२ वटा शव भेटिने गरेको छ । अझै स्थानीयको आग्रह अनुसार सुरक्षाकर्मीले एक दुई दिन वेपत्ताको खोजी गर्ने उनले बताए । पहिरो गएको छेउमा सानो खोल्सा रहेकाले शव तलतिर पुर्याएको हुनसक्ने श्रेष्ठको अनुमान छ । लिदीको पहिरो बलेफि खोलासम्मै पुगेको छ । खोजीमा शसस्त्रका निरीक्षक श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस