सोमबार, फागुन १४, २०८०
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका २४२ बस्ती जोखिममा, केही गाउँ तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोकका २४२ बस्ती जोखिममा, केही गाउँ तत्काल स्थानान्तरण गरिने


चौतारा ।

सिन्धुपाल्चोक भरका दुई सय ४२ बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको छ । पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले गरेको अध्ययनअनुसार जोखिममा रहेका बस्तीहरु आज बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा सार्वजनिक गरिएको हो ।
तथ्यांकअनुसार बलेफी गाउँपालिकामा १४, बाह्रविसे नगरपालिकामा २३, भोटेकोशी गाउँपालिकामा ४९ र चौतारा साँगाचोकगढी नगरपालिकामा ४ वटा बस्ती जोखिममा छन् ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङका अनुसार हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङपालमा ३२, सुनकोशीमा १ र त्रिपुरामा ४ बस्ती जोखिममा छन् ।
यी मध्ये प्राविधिकहरुले ७१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोन र ७६ बस्तीलाई ग्रिन जानेमा राखेको उनले जानकारी दिए ।
अति जोखिममा रहेका जुगल र बाह्रविसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जुगल गाउँपालिकाको लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिन लागिएको छ । त्यस्तै बाह्रविसे गाउँपालिकाका ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गरिन लागिएको हो ।
बैठकमा जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङ, मेलम्चीका प्रम्ख डम्बर अर्याल, प्रदेश सभा सदस्य निमा लामा, पूर्व कानुन मन्त्री शेरबहादुर तामाङलगायतले आवश्यक जग्गा, जिविकोपार्जनको व्यवस्थासहितको बस्ती स्थानान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!