शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारयसरी धेरै अघि गुहार मागेका थिए लिदीवासीले (अडियो रिपोर्ट)

यसरी धेरै अघि गुहार मागेका थिए लिदीवासीले (अडियो रिपोर्ट)


चौतारा ।
केही समयअघि जुगल गाउँपालिका २ लिदीका बासिन्दा आफूहरु बस्दै आएको बस्ती पहिरोको जोखिममा परेको भन्दै सदरमुकाम आए । बसोबास गरिरहेको जमिनको अध्ययन गरिदिन निवेदनसहित जिल्ला प्रशासन कार्यालयमा उनीहरु आएका हुन् ।

असार २६ गतेको ठूलो वर्षाले पहिरो जाने, जमिन चिरा परेर फाटेको थियो । माथिबाट पहिरो र तलबाट जमिन भास्सिन थालेपछि नाम्फा र लिदिको १ सय ४९ घर पहिरो संगै बग्छ भन्ने आशंका स्थानीयले गरेका कारण स्थानान्तरका लागि गाउँवासी जिल्ला प्रशासन कार्यालय आएका हुन ।

पहिरो खस्न ठिक्क परेको बडेमानका ढुंगा, धाजाँ परेर चिरिएको जमिनले बस्ती जोखिममा परेपछि समस्या लिएर गाउँवासी स्थानीय तह, प्रशासन सबैतिर धाएका थिए । उनीहरुको माग आफ्नो गाउँ जोखिममा रहको बारे अध्ययन गरेर आवश्यक परे स्थानान्तरणका लागि पहल गरिदिने मात्रै थियो । तर, तत्काल कुनै सरोकारवाला निकायबाट समस्या समाधानका लागि पहल भएन ।

तत्काल सुनुवाई नभएपछि गुनासो पोख्न असार २७ गते ८ घण्टाको बाटो हिडेर चौतारामा रहेको रेडियो सिन्धुको कार्यालयमै स्थानीय आईपुगेका थिए । लिदीबासीको समस्यालाई विषय उठान गरेर रेडियोले त्यतिबेला कार्यक्रम गरेपछि जिल्ला विपद ब्यवस्थापन समिति संयोजक एव प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल संग रेडियोमा उनीहरुले समस्याको ब्यवस्थापन गर्न आग्रह समेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी ढकालले प्रहरी, वडा र पालिकासंग समन्वय गरेर तत्काललाई त्रिपाल कम्वल दिएर झारो टार्ने काम त्यतिखेर भयो । राहत नभई आफूहरुको सुरक्षा खोजेका स्थानीयलाई कम्बल दिने भनेपछि अब यस्तो समस्या लिएर नआउनुसमेत प्रमुख जिल्ला अधिकारीले भनेका थिए ।

पहिरो संगै गाउँ बग्ने डरमा रहेका स्थानीयले दिर्घकालीन ब्यवस्थापनको लागि सरकारसंग गुहार मागिरहेका थिए ।
जुगल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सांसद, नेता सबैतिर एक महिनाको बीचमा आफ्ना समस्या सुनाउन उनीहरुले चक्कर काटिरहे । स्थानीय दिनभरी घरमा र राति त्रिपालले बारेर बनाएको सुरक्षित ठाउँमा ज्यान जोेगाउन जाने गरेका थिए । भगवान भरोसामै बसिरहेका लिदिका स्थानीय ठुलो पानी पर्दा पहिरोमै ज्यान जान्छ कि भनि निदाउन समेत सकेका थिएनन् । जाने कतै ठाउँ छैन, पहिराले बस्ती नै उच्च जोखिममा परेपछि लिदीबासी सरकारले केही गर्ला भन्ने आसामा बस्दा बस्दा कत्तिले आफ्नो ज्यान गुमाए कतिले आफन्त ।

शुक्रबार विहान ६:४० को समयमा बस्तीभन्दा करिब ४ सय मिटर माथिबाट पहिरो आयो । ३८ बेपत्ता भए । सभामुख, साँसद, गाउँपालिका अध्यक्ष, सिडियोलगयत केही नेताहरु उद्धार गर्ने भन्दै घटनास्थल पुगे । पहिले बस्ती हेरिदिनुभन्दा वास्ता नगरेका नेताहरु अहिले घटनास्थल पुगेपछि स्थानीयले आक्रोस पोखेका थिए ।

स्थानीयको दावी भने पहिलादेखि नै बलेफी खोलामा निर्माणाधिन ३६ मेगावाटको अपर बलेफी हाईड्रोपावरले बस्ति मुनि सुरुङ खन्दा गाउँ पहिरोले बगाउन लागेको थियो । बस्तीमुनि सुरु«ङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर अघिल्लो वर्षको मंसिरमै निवेदन दिएका थिए । गाउँपालिकामा पनि दिएका थिए । तर अहिले यो तर्कबारे गाउँपालिका अध्यक्ष पन्छिएका छन् ।

स्थानीयवासीले@ आफ्नो गाउँलाई कुनै पनि दिन पहिरोले पुर्न सक्ने सम्भावित जानकारी सम्बद्ध निकायहरुमा पटक पटक जानकारी गराउँदा पनि सरोकारवालाले चासो नदिएकै कारण यति ठुलो दुर्घटना भएको देखिन्छ । जनताको सुरक्षा प्रति फेरि पनि स्थानीय प्रशासन, स्थानीय तह, विभिन्न दलका नेताहरुले सम्बेदनशीलता नअपनाए यस्ता घटना फेरि नदोहोरिएला भन्न सकिन्न ।

(हामीले यो सामग्री रेडियो सिन्धु १०५ मेगाहर्जको सहयोगमा तयार पारेका हौं)–सं.


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!