आईतबार, फागुन ४, २०८१
गृहपृष्ठसमाचारपत्रकार बलराम बाँनिया रहेनन्

पत्रकार बलराम बाँनिया रहेनन्


काठमाडौं । तीन दिन अघिदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा भेटिएको छ । कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बानियाँको शव मकवानपुरको भिमफेदी गाउँपालिका सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले जानकारी दिए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो ।

उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए । खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो ।

खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् । बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!