बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका पहिरो पीडितलाई विपद् व्यवस्थापन समितिबाट राहत वितरण

सिन्धुपाल्चोकका पहिरो पीडितलाई विपद् व्यवस्थापन समितिबाट राहत वितरण


चौतारा– लगातारको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी विस्थापित तथा मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत सामग्री वितरण गरिएको छ । बाढी र पहिरोबाट बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका मृतकका आफन्तलाई जनही रु एक लाख र क्षति भएका घरपरिवारलाई १० हजारसहित त्रिपाल, कम्बल, भाँडाकुँडा, लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
असार २४ गतेदेखि साउन १ गतेसम्म बाढी र पहिरोमा परेर ती दुई गाउँपालिकाका मात्र छ जनाको मृत्यु भइसकेको थियो भने २२ बेपत्ता भएका थिए । बेपत्ताको खोजीकार्य जारी रहे पनि अझैसम्म शव भेटिएको छैन । त्यस्तै मेलम्ची खानेपानीको सुरुङमा पानी हाल्ने क्रममा ढोका फुटेर एक जनाको मृत्यु र दुई घाइते भएका थिए ।
भोटेकोशी नदीले कटान गरेको बाह्रबिसेस्थित खुर्सानीबारीको करिब २०० मिटर सडकको ट्र्याक खुलाइएको छ । ट्र्याक खुलेपछि खागदलसम्म साना गाडी पुग्न सक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उक्त बाटोलाई भोटेकोशी नदीले पूरै कटान गरेको थियो । अहिले नदीले धार परिवर्तन गरेको र पानीको सतहसमेत घटेको हुँदा तलबाटै ट्र्याक खुलाइएको हो । नदीमा पुनः बाढी नआएमा खागदलसम्मको आवागमनमा सहज भएपछि सिरिसेसम्मको क्षतिग्रस्त सडकलाई पनि खुलाउन शुरु गरिने बताइएको छ ।
यही साउन १ गते फुल्पिङकट्टी–४ मा पहिरोमा परी एकै परिवारका पाँचमध्ये तीन जनाको शव फेला परे पनि बेपत्ता दुई अझै भेटिएका छैनन् । खोजीकार्य जारी रहे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको छ । त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरेको र मानवशक्तिबाट सम्भव नभएपछि दुई दिनदेखि स्काभेटर प्रयोग गरिएको थियो । पुरानो स्काभेटर भएको र लेदो माटो झरिनैरहेको हुँदा त्यसलाई फर्काई पुनः अर्को स्काभेटर ल्याई काम शुरु गरिने वडा नं ४ का वडाध्यक्ष साङदोर्जे शेर्पाले बताए ।
स्थानीय ठाडो खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएपछि आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । पहिरोले दुई घर र एक विद्यालय पुरेको र अन्य २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित ११७ मध्ये ४५ परिवार स्थानीय डाँडागाउँ स्वास्थ्यचौकीमा राखिएको र अन्य परिवार आफन्तमा गएको वडाध्यक्ष शेर्पाले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!