बाढीपहिरो सिन्धुः ७ जनाको मृत्यु, २३ बेपत्ता, ६४ घर पूर्ण रुपमा क्षति

चौतारा । जिल्लामा बाढीपहिरोमा परि ७ जनाले ज्यान गुमाएका छन् भने २३ जना बेपत्ता छन् । मृत्यु हुनेमा जम्बुमा २, बुल्कोटमा १, फुल्पिङकट्टीमा ३ गरी ६ जनाको मृत्यु भएको छ । बुल्कोट र जम्बुमा गत असार २४ गते आएको बाढी र पहिरोमा परी मृत्यु भएको हो भने फुल्पिङकट्टीमा असार ३१ गते राति आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर बगाउँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याकं अनुसार हालसम्म जिल्लामा आएको बाढी पहिरोको घटनामा २३ जना बेपत्ता भएका छन् । बुल्कोट घटनामा तीन जना, जम्बुमा १७ जना, फुल्पिङकट्टीमा दुई जना र मेलम्ची खानेपानी आयोजनामा गेट फुटेर बगाउँदा एक जना बेपता भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ, तर पनि आजसम्म उनीहरुको अवस्था बारे थाहा हुन सकेको छैन् ।
बाढी पहिरोको घटनामा जिल्लामा ६५ घर र एक गोठ पूर्ण रुपमा क्षति भएको छ, भने १ सय ३९ घर आंशिक रुपमा क्षति भएको छ । बाह्रबिसे नगरपालिका जम्बुमा १३ ,खागदलमा २४ वटा घर, भोटेकोशी गाउँपालिका बुल्कोटमा चार घर, भोटेकोशी लार्चा,तारछुङ, तातोपानी,मिलन चोकमा १५ घर, फुल्पिङकट्टीमा एक घर, भाल्डुङमा तीन, बोक्चेन एक, ताक्पासा कुलाखर्क एक, फुल्पिगाउँ २ घर र जुगल गाउँपालिकामा एक गोठ र एक घर पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरि बाढीपहिरोमा १६ सवारी साधन पूर्ण रुपमा क्षति भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस