बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारबेपत्ता आफन्त खोज्दै चार दिनदेखि नदी किनारमा

बेपत्ता आफन्त खोज्दै चार दिनदेखि नदी किनारमा


सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाका प्रकाश तामाङ बुधबार राती भोटेकोशी उर्लिएयता अझैसम्म बाह्रविसे नगरपालिका ५ जम्बुको घटनास्थलमै छन् । माथिको खहरे खोलाले भोटेकोशीमा ससुराली घरसँगै उनको परिवार र आफन्त गरि ५ जनालाई विलय गरायो ।

माइतीमा पाहुना लाग्न आएकी प्रकाशकी श्रीमती र छोरासहित ससुरालीको पुरै परिवारलाई भोटेकोशी बाढीले सुलुत्तै निल्यो । ‘कि ज्युँदो कि शव भेट्न पाए चित्त बुझ्थ्यो,’ उनी भन्छन्, ‘मनको सन्तोषकै लागि खोजी गरिएको हो ।’ ससुराली र उनको घर करिब आधा घण्टाको पैदल दुरीमा पर्छ । उनको घरमा पनि बाढी आएको थियो । तर, बाढी आउँदा आउँदै भागेर आफ्नो ज्यान बचाएका प्रकाश अझै बेपत्ता रहेका आफन्त र परिवार भेटिने आशमा चार दिनदेखि कुरिरहेका छन् । बाढी आएलगत्तै उनी ससुराली घर भएको स्थानमा आइपुगेका थिए ।

‘घरीघरी त्यही दृष्य आँखामा घुमिरहन्छ, छट्पटी हुन्छ ।’ उनले भने । उनीजस्तै बाह्रविसे नगरपालिका ५ जम्बुका यमु लामा पनि आफ्नो आफन्त भेटिन्छ कि भन्ने आशले आँखा खोलातिरै डुलाइरहन्छन् । यमुका फुपूसहित उनका सन्तान भोटेकोशीसँगै बगे । ‘भेटिन्छ कि भन्ने आशले बिहान बेलुकी नै खोलातिर हेरिरहेछु ।’ उनले भने ।

बुधबार आएको बाढीले भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा गरि २० जनालाई बेपत्ता बनायो । बाढी आएकै दिन २ जनाको शव भेटिएको थियो । एक बालकको शव शुक्रबार सुनकोशी नदी किनारमा फेला परेको थियो । बुधबार आफ्नो घर छाडेर गोरु किन्न हिँडेका यही गाउँका जितमान तामाङको परिवारै बाढीको भेलमा परे । जितमान घर छाडेर माथिल्लो बस्तीमा बसेकै रात बाढी आयो अनि उनको सबै परिवारलाई बगायो । परिवारमा आफू एक्लै बाँचेकाले उनलाई नरमाइलो लागेको छ । र, पनि शव पर्खाईंमा खोलाका किनारमा टहलिरहने उनका आँखा अझै थाकेका छैनन् ।

परिवारका सदस्यको शव भेटिन्छ कि भन्ने झिनो आशमा छन् जितमान । ‘के गरौं कसो गरौं भएको छ,’ उनले दुखेसो पोखे, ‘कस्तो दिन गोरु खोज्न गएछु, परिवारमा एक्लै छु अब,’ उनी भन्छन्, ‘शब नभेटेसम्म कसरी पत्याउनु ?’ बाढीले ६ जनाको संख्यामा रहेको परिवारमा उनलाई एक्लाएको छ । उनीहरु अहिले आफन्तको आश्रयमा छन् । विहान घाम उदाउनुअघि भोटेकोशी करिडोरमा पुगेर आफन्त तथा परिवारको शव भेटिने आशामा खोज तथा उद्धारमा सक्रिय भएकाहरुमाथि उनीहरुको आँखा पुग्छ ।

बुधबार राती आएको अविरल बर्षाका कारण बाढीमा बेपत्ता भएका २० जनाको शब अझै भेटिएको छैन । बेपत्ताका परिवार, आफन्त, स्थानीयवासी, जनप्रतिनिधिलगायत शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बेपत्ताहरुको खोजी गर्न ठूलो जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा सामाखुशीबाट २७ सदस्यीय बिज्ञ टोली भोटेकोशी र सुनकोशी नदि किनारमै बेपत्ता खोजीका लागि सक्रिय छन् । डिएसपी काफ्लेका अनुसार काठमाण्डौंबाट आएको यो टोली विपदको समयमा खोज तथा उद्धारका लागि विशेष तालिमप्राप्त टोली हो । ‘बेपत्ताको खोजीका लागि स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीयहरुको समेत सहयोग छ,’ उनले भने, ‘स्काभेटर, डोजरसमेत खोलामा प्रयोग गरिएको छ ।’

बढ्दो वर्षासँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको वहाव उच्च हुने क्रम रोकिएको छैन । बाढी आएको पानी धमिलो भएका कारण खोजीकार्य सोचेअनुरुप प्रभावकारी हुन सकेको छैन । अधिकांश घरहरु बाढीको लेदोले पुरिएको कारण शव पानीको सतहमा आउन सकेको छैन । सात वर्षदेखि हरेक वर्ष लगातार विपत्ति खेपेको सिन्धुपाल्चोकले गएको बुधबार पनि खहरे बाढीको सामना गर्नुपर्यो ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!